जसपा संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत, लालबाबुको सपना सपनामै सिमित

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।

दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।

बारा १ (२) बाट निर्वाचित यादव निवर्तमान सभामुखसमेत हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । तर, पार्टी एकतापछि महन्थ ठाकुर अलग्गिए पनि यादव जसपामै बसेका थिए ।

दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सातदलीय गठबन्धनको आलोपालो सहमतिमा पहिलो चरणमा जसपालाई मधेसको नेतृत्व दिने सहमति भइसकेको छ ।

मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार