विराटनगर ।
प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालय घटाउने पहिलो निर्णय गरेको हो । अहिले प्रदेश मा १३ वटा मन्त्रालय रहेका छन् ।
मन्त्रालय संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय, मन्त्रालय र मन्त्री धेरै भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या घटाएर मितव्ययी प्रदेश सरकार बनाउने बताए ।
यस्तै, बैठकले प्रशासनिक सेवा सुधारका प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने समेत निर्णय भएको मन्त्री भक्ति सिटौलाले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्राथमकिता सुुशासन र अनुशासन हो । यसका लागि मन्त्रालय घटाएर मितव्ययी प्रदेश सरकार गठनका लागि पहल थालेको हुँ । पहिलो पटक शेरधन राई नेतृत्वको सरका बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो ।
यसअघि सामजिक विकास मन्त्रालयलाई सामाजिक र स्वास्थय मन्त्रालय बानाइएको थियो । यस्तै, उद्योग वन तथा वातावरण मन्त्रालयलाई उद्योग श्रम तथा रोजगार, वन वातावरण तथा भू-सरक्षण मन्त्रालय र पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।
राजेन्द्र राई मुख्यमन्त्री बन्दा सत्ता साझेदार दललाई भाग पुर्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि मन्त्रालय बनाइएको थियो । यस्तै, भौतीक पूर्वाधार मन्त्रालयलाई खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बनाइएको थियो ।