खगराज दाइले २ वर्ष खान्छ, त्यसपछि मुख्यमन्त्री मेरो पालो: दीपक मनाङे

गण्डकी

गण्डकीमा एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन दिएका सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ले २ वर्षपछि आफू मुख्यमन्त्री बन्ने दाबी गरेका छन्।

‘अहिले म मन्त्री बन्दिनँ, खगराज दाइले २ वर्ष खान्छ, त्यसपछि म खान्छु,’ उनले भने, ‘१८ महिनामै १० वर्षको बजेट हाल्न पाउने रैछ, किन ५ वर्ष खानुपर्‍यो।’

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको सपथ ग्रहण समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद मनाङेले आफू अहिले मन्त्री बन्ने दौडमा नरहेको बताए। मन्त्री हुँदा थाकेको भन्दै ४,५ महिना आराम गर्ने उनले बताए।

‘सरकारमा राप्रपा पनि छ, भोलि राजा ल्याऊँ भन्ला कहाँबाट ल्याउने राजा?,’ उनले भने, ‘त्यसपछि राप्रपा भाग्छ, फेरि सरकार बनाउँदा मेरो पालो आउँछ।’

‘१८ महिना मन्त्री हुँदा थाकेको छ, लोकल भाले र कोदोको रक्सी खाँदाखाँदा यति थाकें,’ उनले भने, ‘भाले र रक्सी खुवाइ खुवाइ खत्तम बनाउन लागिसके।’

गण्डकीमा युवा तथा खेलकुद मन्त्री बनेका मनाङे मनाङबाट प्रदेश सभा सांसदमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका थिए। उनी केही समयअघि मात्र नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए।

एकीकृत समाजवादी पार्टीले सरकार बनाउन नसक्ने भन्दै उनले कम्युनिष्ट सरकार बन्न लागेकाले आफूले मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन दिएको बताए।

एमालेको सरकारलाई समर्थन गर्न तपाईंको पार्टीले अनुमति दिएको छ? भन्ने प्रश्नमा उनले भने, ‘पहिला केपी ओलीले कहाँ हामीलाई सोधेर फुटाएको हो र? उहाँले फुटाउने बेला हामीलाई सोधेन, समर्थन दिने बेला मैले पनि सोधिनँ।’

एकीकृत समाजवादी पार्टीले सरकार बनाउन १० वटा पार्टी मिलाउनुपर्ने भन्दै उनले नेपाल यस्तै देश भएको बताए। कम्युनिष्ट पार्टीको सरकार बन्न लागेकाले आफूले बेवास्ता गर्न नमिल्ने भन्दै उनले आफू कम्युनिष्टमै रहेको बताए।

अहिले सरकार बनाउने बेला एमाले र माओवादी मिलेको प्रसंग निकाल्दै मनाङेले भने, ‘एक महिना पहिल्यै मिल्देको भए दुई तिहाइ आउँथ्यो, नेताहरू नमिल्दा कस्ता कस्ता नेता हो, विचरा देव गुरूङजस्ता नेता हारे।’

अर्को प्रसंगमा उनी फुटबल खेल्न समय निकाल्न पनि अहिले मन्त्री बन्न नलागेको बताए। ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी कमजोर हुँदै गएको प्रसंगमा उनले क्लबले प्रदेशकै खेलाडीलाई अवसर दिएको बताए।

‘हामीले मनाङ मर्स्याङ्दी क्लबमा गण्डकी प्रदेशकै खेलाडी खेलाएका छौं, महँगा खेलाडी ४ जना मात्र किन्ने,’ उनले भने, ‘म चाहिँ भेट्रान टिमबाट खेल्छु, मलाई फुटबल खेलेको तलब दिनुपर्दैन।’

केही दिनअघि मात्र हेटौंडामा फुटबल खेलेर आएको भन्दै मनाङेले आफू सबैतिर डिफेन्स खेल्ने बताए। ‘म फुटबलमा डिफेन्स खेल्छु, मार्शल आर्टमा पनि डिफेन्स,’ उनले भने ‘राजनीतिमा पनि म डिफेन्स खेल्छु।’

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार