काठमाडौं :
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको भन्दै धन्यवाद व्यक्त गरे।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले हिनतावोध गर्नु नपर्ने बताए।
आइतबार बसेको मन्त्रपरिषद बैठकले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
उनले भने,’पृथ्वीनारायण शाह थिए त अहिले नेपाल छ। उनको सम्मानमा प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक विदा दिने हिम्मत गर्यो।’
उनले हालको प्रतिनिधिसभाको संरचना नै विशेष प्रकृतिको रहेको बताए। उनले भने,’प्रतिनिधिसभाको संरचना विशेष प्रकृतिको छ। कुनै पनि दलको बहुमत छैन। सबै दलहरु मिलेर जानुपर्छ। कुनै विचार र दललाई निशेध गरिएको छैन।’
प्रतिनिधिसभाको संरचनाको गम्भीर्यतालाई देखेर नै राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताए।