काठमाडौं :
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्षी दल भएन भने त्यो सरकार निरंकुश हुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संसदमा बलियो र शक्तिशाली प्रतिपक्षी भएन भने सरकार निरंकुश हुने र मनलाग्दी गर्ने बताए।
उनले संसदमा प्रतिपक्षी दलहरुले नै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दा धेरै कुरा आएको भन्दै आफू अप्ठ्यारोमा परेको बताए। उनले भने,’प्रतिपक्षीले समर्थन गर्दा धेरै कुरा आयो।
संविधानमा व्यवस्था नभएको कुरा संसद विघटन गर्न पाउनुपर्छ ,यो प्रजातान्त्रिक हकअधिकार हो भनेर यस्तो खालको आवाज सुन्दा म धेरै अप्ठ्यारोमा परेको छु।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लोकप्रिय हुन संसदमा कामको फेहरिस्ता सुनाएको भन्दै आपत्ती जनाए। उनले नयाँ आउने प्रधानमन्त्रीले आफू लोकप्रिय हुन कामको फेहरिस्ता सुनाउने गरेको बताए।
उनले भने,’आज प्रधानमन्त्री प्रचण्डले कामको फेहरिस्ता सुनाउनु भयो। यस्ता खालका फेहरिस्ता कुनै नौला कुरा होइनन्। हरेक प्रधानमन्त्रीका यसखालका फेहरिस्ता सुन्दै आइएका छौं। कार्यान्वयन हुनु ठूलो कुरा हो।’
नेता केसीले भएभरका दलहरुले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्नु आश्चर्य भएको बताए। ‘संसदीय व्यवस्थामा प्रतिपक्षी हुनुपर्छ। भएभरका सबै दल सरकारलाई समर्थन गर्ने। यो मैले बुझ्नै सकिनँ,’उनले भने।
सबै दल सरकारमा सामेल भएर विगतमा भएका कमजोरी ढाक्ने र त्यहीमाथि लडाईँ गरेर फेरि अर्को सरकारमा आउने ताल त यो होइन भन्दै प्रश्न गरे। ‘प्रतिपक्षी नभएको यो कस्तो संसद? यसरी पनि सरकार चल्छ ?उनले भने,’ यो दृष्य डर लाग्दो छ। यसरी पनि सरकार चल्छ?’