काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले वामपन्थी नेता घनश्याम भुसालले गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’लाई स्वागत गर्दै जवाफी पत्र पठाएको छ ।
सो पार्टीको वाम एकता वार्ता समितिले भुसाललाई बुधवार पठाएको पत्रमा भुसालले राखेका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल गर्दा प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा र सकारात्मक भएको उल्लेख छ ।
भुसाललाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘तपाईँले प्रस्तुत गर्नुभएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन् ।’
भुसाललाई एकीकृत समाजवादीले पठाएको जवाफी पत्रमा छिटोभन्दा छिटो पार्टीमा आबद्ध भएर कम्युनिस्ट पार्टीको पुनर्गठन र रूपान्तरण अभियानमा सरिक हुन अनुरोध गरिएको छ ।
‘….त्यसैले तपाईँ अब छिटोभन्दा छिटो नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएर नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान् अभियानमा सरिक हुन हार्दिक अनुरोध छ’, पत्रमा भनिएको छ ।