विद्यार्थीलाई समयमै किताब दिन सक्दैनौं भने निजीलाई जिम्मा लगाऔं- योगेश भट्टराई

काठमाडौँ

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका संघीय सांसद योगेश भट्टराईले नेपालमा पुस्तक नीति बन्नुपर्नेमा जोड दिएका छन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा तथा १७ औं स्थापना दिवस कार्यक्रमलाई इटहरीमा सम्बोधन गर्दै उनले पुस्तक नीति बनाउन आफूले सदनमा आवाज उठाउने बताए।

नेता प्रदीप नेपाल शिक्षा मन्त्री भएको बेला पुस्तक नीति बनाउने कार्य अघि बढेको थियो। पुस्तक नीतिलाई संसदमा जागृत गराउने काममा आफ्नो साथ समर्थन रहने पनि नेता भट्टराईले बताए।

उनले जनक शिक्षाको व्यवस्थापन कमजोर भएकोमा गुनासो गरे। चालु शैक्षिक सत्रको अन्तिम समयमा आइपुग्दा पनि विद्यार्थीले पुस्तक नपाउनु जनक शिक्षा सामग्री केन्द्रको लापरवाही भएको उनले औंल्याए।

सरकारले समयमै विद्यार्थीहरूमा पुस्तक पुर्याउन र बेलामा छाप्न सक्दैन भने निजी क्षेत्रलाई छपाइको अधिकार दिनुपर्ने नेता भट्टराईको बताए।उनले उद्योगी व्यवसायीलाई राज्यले उत्साहित गराउनुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सञ्जय चौधरीले पुस्तक नीति सरकारले बनाउन नसके देशभरका व्यवसायी पलायन हुने बताए।

सोही कार्यक्रममा महासंघका पूर्वअध्यक्ष हाल ललितपुरका प्रदेशसभा सदस्य रघुनाथ महर्जन र महासंघका सल्लाहकार रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाललाई सम्मान गरियो।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सांगठनिक र आर्थिक प्रतिवेदन साधारणसभाको बन्दसत्रले सर्वसम्मत स्वीकृत गरेको छ। देशभरका ३ सय व्यवसायी सम्मेलनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार