घनश्याम भुसालले ओलीमाथि लगाए गम्भीर आरोप, के-के हुन् आरोपहरु ?

काठमाडौं ।

नेकपा एमाले छाडेको तीन महिनापछि केपी शर्मा ओलीको तीव्र आलोचना गर्दै घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले ओलीमाथि निर्मम आरोप लगाए । भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।

ओलीबारे टिप्पणी गर्दै भुसालले भने- ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो ।

सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।

भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।

भुसालले ओलीमाथि संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरु लगाउँदै एमालेमा अब सौराहा काण्डवादीहरुमात्र रहेको बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार