के दिपक मनाङे माओवादी प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले भेट गरेका छन् ।

प्रचण्डको निवास खुमलटार पुगेका मनाङेले समसामयिक राजनीतिक विषयमा छलफल गरेको उनका सहयोगीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । मनाङेले प्रचण्ड र उनकी छोरी गंगा दाहालसँग सामूहिक तस्वीर खिचाएर सामाजिक सञ्जालमा राखेका छन् ।

दाहालसँगको भेट गरेपछिको तस्बिर सार्वजनिक गर्दै मनाङेले फेसबुकमा लेखेका छन्, ‘प्र​च​ण्डज्यू सँग प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल प​श्चात लिएको त​स्बिर ।’

एमाले नेतृत्वको प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेले मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले विश्वासको मत माग्दा तटस्थ बसेका थिए । पछि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

हाल गण्डकी सरकारमा उनी विना विभागिय मन्त्री रहेका छन् । पछिल्लो समय उनी माओवादी केन्द्रसँग निकट भएको बताइएको छ । कतिपय उनको माओवादीसँगको निकट्ताले उनी माओवादी प्रवेश गर्न लागेको समेत भनेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !