काठमाडौँ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
जानकारी अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका निर्माण भएको हो । यसरी हेर्दा एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने देखिन्छ । एमालेबाट हाल उपप्रधानमन्त्री रहनुभएका विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्नु भएको छ ।
तर अरु मन्त्रालयको भागवण्डा नटुंगिएका कारण ११ पुसमा शपथ लिएका एमालेका तीन मन्त्रीले विभागीय जिम्मेवारी पाउन सक्नु भएको छैन् । सरकारको नेतृत्व गरेको माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।
अरु मन्त्रालयबारे कुनै टुंगो लागेको छैन । अर्कोतिर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ मन्त्रालय पाउने देखिएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । अब रास्वपाले स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीको अपेक्षा गरेको छ ।
यद्यपि खेलकुदमा माओवादीको पनि रुचि रहेको छ । राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जानकारी अनुसार जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एक÷एक मन्त्रालय दिने तयारी भइरहेको छ ।