दुर्घटनाको कारण पत्ता लगाउन सहयोग पुर्‍याउने ‘ब्ल्याक बक्स’मा के हुन्छ ?

काठमाठौं ।

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

ब्ल्याक बक्सभित्र भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर हुन्छ । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भ्वाइस रेकर्डर, फ्लाइट डाटा रेकर्डर फेला परेको जानकारी दिएका हुन् ।

उनले दुवैै भेटिएको र छानबिन समितिलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

“अहिले भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परेको छ । छानबिन समितिलाई हस्तान्तरण गर्ने तयारीमा छौँ,” उनले भने ।

फ्लाइट डेटा रेकर्डर
फ्लाइट डेटा रेकर्डरले प्राविधिक पक्षको रेकर्ड राख्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले बताए ।

निरौलाका अनुसार त्यसमा विमानका हरेक उपकरणको अवस्था, उचाइ, दिशा, तापक्रम, गति, इन्धनको मात्रा, अटो–पाइलटको अवस्थालगायत विवरणहरूको अभिलेख रहन्छ ।

“कुनै उपकरणले काम गरिरहेको थिएन भने त्यो कुरा यसमा फ्लाइट डाटामा रेकर्ड हुन्छ । जसले गर्दा प्राविधिक कुरा पत्ता लगाउन सजिलो हुन्छ,” उनले भने ।

भ्वाइस रेकर्डर
भ्वाइस रेकर्डरमा पाइलटको, कटपिटको, टावरसँग हुने सञ्चारको र प्यासेन्जर अनाउन्समेन्ट रेकर्ड हुन्छ । “पाइलटले के बोल्यो, के सुन्यो, केही खराबी थियो भने को–पाइलटलाई जानकारी दियो कि दिएन ।

यात्रु र टावरलाई खबर गर्यो कि गरेन त्यो आवाज सुनेपछि धेरै थाहा हुन्छ,” उनले भने ।

यसले दुर्घटना हुनको कारण पत्ता लगाउन सहज हुने निरौला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार