काठमाडौं ।
आइतबार बिहान यती एयरलाइन्सका पाइलट कमल केसी घरबाट निस्किने तयारीमा थिए । बिहान उनले काठमाडौंबाट पोखरा फ्लाइट गर्नुपर्ने थियो ।
उनी निस्किने बेलामा सधैझैँ श्रीमती शिलाले उनी ‘टिफिन’ तयार गरिदिइन् । टिफिनमा थियो अंगुर । ६० वर्षीय पाइलट केसीलाई श्रीमतीले अंगुर अमिलो छ कि भनेर चाख्न आग्रह गरेकी थिइन् ।
तर उनले अमिलो भए साँझ फिर्ता ल्याउछु भन्ने जवाफ फर्काए ।
केसीका पारिवारिक सदस्यका अनुसार उनले साँझ ४ बजे आफु काठमाडौंको बूढानीलकण्ठ नगरपालिका इटालीटार घरमा आइपुग्ने भन्दै श्रीमतीलाई खाना बनाएर राख्नु भनेका थिए ।
केसी घरबाट निस्किए । उनले सधैं जहाज ‘ल्यान्ड’ गरेपछि श्रीमतीलाई फोन गर्ने गरेका थिए । तर आइतबार श्रीमान्को फोन कुरिरहेकी शिलालाई फोन आएन ।
साँझको खाना खाने बाचा गरेर उडान भर्न निस्किएका केसी आकाशमै हराए । कहिल्यै नफर्किने गरि । एकाएक पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको खबर बाहिरियो । त्यही खबर पर्यो श्रीमतीको कानमा ।
यतिबेला परिवार शोकमा छ । वृद्ध अवस्थामा रहेका आमाबुबा पोखरामा ‘मरेतुल्य’ महसुस गरिरहेका छन् ।
आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ ।
दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना परेका थिए त्यसमध्ये चारजनाबाहेक बाँकी ६८ जनाको शव फेला परेको छ । चार जनाको खोजी जारी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको जहाज बिहान १० बजेर ३२ मिनेटमा उडेको थियो । तर पोखरा विमानस्थलमा अवतरण गर्न पाएन । दुर्घटनाग्रस्त जहाजका पाइलट थिए ६० वर्षीय कमल केसी ।
अवतरणको नजिक पुगेर दुर्घटनामा परेको जहाज पाइलट केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
केसी नेपाली आकाशमा उडान भर्ने अनुभवि पाइलटमध्ये एक थिए ।
अमेरिकाबाट पाइलट अध्ययन गरेर नेपाल आएका केसी ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाउँदै आएको आफन्तहरु बताउँछन् ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका इटालीटार बस्दै आएका केसीका दुई छोरा र श्रीमती छन् । परिवारका सदस्यका अनुसार पाइलट केसी सानो–सानो कुरामा खुसी हुन्थे । सधैं सकारात्मक सोच राख्थे ।
उनी पाइलट पेशाबाट अवकाश लिएर परिवारसँग समय बिताउने योजनामा थिए ।
कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा २०१९ सालमा केसीको जन्म भएको थियो । पाइलट कमल केसीको निधनले कास्कीको रूपा गाउँपालिका शोकमा डुबेको छ ।
उनका आमाबुबा कास्कीमै बस्छन् । पाइलट केसीका आफन्तले भने,“दुर्घटनापछि आमाबुबाको अवस्था हेर्न सकिरहेका छैनौं । निकै मिलनसार हुनुहुन्थ्यो । पाइलट भएपछि परिवारलाई दिने समय कम थियो । अब त सधैंका लागि हराउनुभयो ।”
केसीले हालको रूपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गरेका थिए । कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनति र अनुशासित थिए ।
६ दशक पुगेका केसी अनुभवि पाइलटका रूपमा परिचित थिए ।
पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण केसीले नै गराएका थिए ।