काठमाडौँ ।
नेपाली कांग्रेसले सभामुख पदका लागि महिलालाई उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा महिलालाई सभामुख पदका लागि उम्मेदवार बनाउने विषयमा छलफल गरेको हो ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ । यसबारे औपचारिक निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।
यसका लागि १ बजे पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको उनले रातोपाटीलाई जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने पार्टीले तयारी गरेको जानकारी दिएका थिए । समग्र समझदारी बन्ने अवस्था आए आफ्नो पार्टीले उम्मेदवार नउठाउने भन्दै उनले त्यो अवस्था नआए भूमिकाविहीन भएर कांग्रेस नबस्ने उनको भनाई थियो ।
प्रवक्ता महतले मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि सहमतिबाट कसरी अघि बढ्न सकिन्छ भनेर प्रस्ताव गरेको भन्दै सभामुखको उम्मेदवारी दिने सवालमा अझै केही समय पर्खिने बताएका थिए ।