सर्वोच्चमा बहसः राष्ट्रपतिले नाइँ मलाई केपी नै चाहिन्छ भनेजस्तै गर्नुभो

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वाेच्च अदालतमा बहस चलिरहेको छ । यतिबेला काँग्रेस सभापति शेर बहादुर देउवा पक्षका अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर गरेका छन् । उनले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको समेत जिकिर गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदनको पक्षमा संवैधानिक इजलासमा बहस गर्दै बन्दीले भने, ‘मध्यराति विघटनको जुन निर्णय गर्नुभो, त्यसमा नियत खराब देखिन्छ । पार्टीको सहमती वा विमती यो उपधाराले खोजेको छैन। उपधारा १ देखि ५ सम्मको प्रधानमन्त्री केपी शर्मा ओली नै बन्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ ।’

अधिवक्ता बन्दीले राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता देखाएको बताए । उनले चार प्रश्न उठाउँदै भने, पहिलो, ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन ? दोस्रो, विश्वास गुमाइसकेको व्यक्तिले फेरि दाबी गर्न सक्छ कि सक्दैन ?

तेस्रो, ७६(५) मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? चौथो, ७६(५) मा सरकार बनाउँदा पछि के हुन्छ भनेर राष्ट्रपतिले आकलन गर्न कसरी पाउँछ ? प्रधानमन्त्रीमा देउवाको दाबी अस्वीकृत गर्दा राष्ट्रपतिको कार्यालयले दोहोरो हस्ताक्षर पर्यो, नाम दोहोरियो, दलको निर्णय विपरीत हस्ताक्षर गरेको उल्लेख गरेको भन्दै अधिवक्ता बन्दीले भने, ‘बहुमत १३६ हो । १४९ सांसद हस्ताक्षर छ । १४६ त अदालत आउनुभएको छ । यो भन्दा बलियो आधार के चाहियो ?’

राष्ट्रपति संविधानभन्दा बाहिर गएको र राजनीतिमा प्रवेश गरेको उनले बताए । ‘संविधानको धारा ७६(५) मा राजनीतिक दलसम्बन्धी ऐन लाग्छ भनेर कुन कानुनमा लेखेको छ ?’ उनले अघि भने, ‘एमाले केन्द्रीय समितिमा माधवकुमार नेपाल र झलनाथ खनालको बहुमत पुग्दैन भन्ने राष्ट्रपति को ?’

जसरी पनि ७६(५) को प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्छ भन्ने मानसिकता राष्ट्रपतिमा देखिएको उनले बताए । त्यसकै लागि संविधानको म्याण्डेटभन्दा बाहिर गएको भन्दै उनले भने, ‘राष्ट्रपतिले संविधानको रक्षा गरेको हेर्न चाहेका छौं ।’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !