काठमाडौं ।
संसद भवनबाहिर आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको हाल आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचाररत आचार्य बोल्न सक्ने अवस्थामा रहेको एक प्रहरी अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आचार्यले आफू केही गर्न नसक्ने र देशमा भ्रष्टाचार व्याप्त रहेकाले आफूले आत्मदाहको प्रयास गरेको बताएका छन् ।
आज दिउँसो ३ बजेर ५ मिनेटमा आफ्नो शरीरमा ज्वलनशील पदार्थ खन्याएका आचार्यलाई प्रहरीले उद्दार गरी २० मिनेटमै अस्पताल पुर्याएको थियो ।
घटनास्थलबाट चारवटा बोतल फेला परेको र आचार्यले प्रयोग गरेको ज्वलनशील पदार्थ एसीडजस्तो देखिएको पाइएको छ । उनी शान्तिनगरमा एक्लै बस्दै आएका थिए । उनले आत्मदाह प्रयास गरेको भिडिओमा उनी जल्दाजल्दै ढलेको देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या राज्नयमन्त्री डा. तोसिमा कार्कीले कीर्तिपुर अस्पतालमा पुगेर आत्दाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
आचार्यको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा. कार्की कीर्तिपुर अस्पताल पुगेकी हुन् ।
अस्पतालमा आचार्यको उपचारमा संलग्न चिकित्सकहरुले उनको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेकोले र अवस्था चिन्ताजनक रहेको राज्यमन्त्रीलाई जानकारी गराएका थिए ।
आचार्य अहिले होसमा छन् भने राज्यमन्त्री कार्कीले उनको उपचारमा कुनै कसुर नराख्न निर्देशन दिएकी छन् । “जसरी सकिन्छ, बचाउन प्रयास गर्नुस् । आवश्यक सहयोग जे सकिन्छ, हामी गर्छाैँ,” राज्यमन्त्री कार्कीले भनेकी छन् ।