बाजुरा भुकम्प: कम्तीमा ८० घर बस्न नमिल्ने अवस्थामा, पीडितको बास विद्यालयमा

काठमाडौं ।

बाजुरामा मंगलबार गएको भूकम्पबाट करिब ८० घर बस्न नमिल्ने अवस्थामा पुगेका छन् । मंगलबार दिउँसो हिमाली गाउँपालिका गौमुलमा गएको ५.९ म्याग्निच्युडको भूकम्पबाट एकजनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार भूकम्पबाट तीजना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको उनले बताए ।

“नेटवर्कको समस्याले गर्दा फोन सम्पर्क हुन सकेको छैन । अहिलेसम्म ८० वटा घर नराम्ररी बिग्रिएका छन्,” उनले भने ।

उनका अनुसार अहिले गौमुलमा वर्षा भइरहेको छ । भूकम्प प्रभावितहरूलाई स्थानीय धर्मोदय आधारभूत विद्यालयमा राखिएको उनले जानकारी दिए ।

“अहिले मान्छेहरू बाहिर बसिरहेका छन् । लेकतिर हिउँ परेकाले एकदम चिसो छ । अर्कोतिर पानी परिरहेको छ,” उनले बाह्रखरीसँग भने ।

उनका अनुसार भूकम्पपछिको पहिरोमा कम्तीमा ६० भेडा पुरिएका छन् । “पहिरोले पुरिएर ४० वटा भेडाहरू मरेछन् । तीनजना मान्छे घाइते हुनुभएको छ,” उनले भने ।

भूकम्पले पालिकाभर नै असर गरेको छ । तर, वडा नम्बर १ र २ बढी प्रभावित भएको उनले बताए । “पालिकाभरिकै घरहरूमा असर परेको छ । तर, वडा नम्बर १ र वडा नम्बर २ बढी प्रभावित भएका छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार