बालेनको विरोधमा किन उभिए सुमन सायमि ?

काठमाडौं महानगरपालिकाको चुनावमा अन्तिम मतपरिणाम घोषणा भएको दिन एउटा रोचक दृश्य देखिएको थियो।

नवनिर्वाचित मेयर बालेन शाहलाई बधाई दिन उनकै प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यस दिन बालेन शाहलाई बधाई र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरू विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा सवार भएर हिँडे। विजय यात्रा क्रममा एकैथरि भादगाउँले टोपी पनि पहिरिए।

आँखीझ्याल चिह्न लिएर चुनाव लडेका र १३ हजार ७ सय ७० मत ल्याएका सुमन सायमिले त्यस दिन नयाँ मेयर बालेन शाहसँग मिलेर काम गर्न सक्ने संकेत पनि गरेका थिए। उनको भनाइ थियो, ‘बालेनले मिलेर काम गर्ने हो भनेका छन्। दाजुभाइ मिलेर काठमाडौं बनाउन–बचाउन सकिन्छ भने किन नगर्ने?’

यो २०७९ जेठ १३ को घटना हो। ठ्याक्कै आठ महिनापछि स्थितिले पल्टा खाएको छ।

बालेनलाई मेयर जित्नेबित्तिकै तात्तातै बधाई दिन पुगेका र विजय जुलुसमा सँगसँगै हिँडेका सुमन आज उनको विरोधमा छन् र माघ १५ गते आइतबार ‘काठमाडौं महानगरको ज्यादतीविरूद्ध’ माइतीघरमा प्रदर्शन गर्ने उद्घोष गरेका छन्।

सुमनले ‘महानगरको ज्यादती’ विरूद्ध खबरदारी गर्न उभिनुका पछाडि वडा नम्बर ३१, शंखमूलको एक निजी घरमा डोजर चल्नु मुख्य कारण देखिएको छ।

महानगरले पुस २८ गते सडक फराकिलो पार्ने भन्दै शंखमूलका साहिल सिंहको घरमा बिनासूचना डोजर चलाएको थियो। त्यस दिन सुमन स्वयं त्यहाँ पुगेर डोजर नचलाउन आग्रह गरेका थिए। उनले व्यक्तिगत रूपमा मेयर बालेनसँग कुराकानी पनि गरेका थिए। यसका बाबजुद महानगरका नगर प्रहरीले डोजर चलाएर साहिल सिंहको घरको पर्खाल भत्काइदिए।

सुमनले २०७० सालदेखि नै भूमि स्वामित्वको मुद्दा उठाउँदै आएका छन्। काठमाडौं उपत्यकाभरि जहाँ जहाँ सडक विस्तारले मान्छेको उठिबास हुन्छ, उनी त्यहाँ त्यहाँ पुग्छन्। राज्यले अन्यायमा पारेका स्थानीय नेवाःहरूलाई आफ्नो भावनात्मक र संघर्षको आडभर दिन्छन्। कहीँ उनीहरूसँगै आन्दोलनमा होमिन्छन्, कहीँ उनीहरूलाई संगठित गरेर आन्दोलन गर्न सघाउँछन्। यस क्रममा हरिसिद्धिमा डोजर चल्दा हरिसिद्धि पुग्छन्, खोकनाको मुद्दा उठे खोकनातिरै लम्किन्छन्।

यसपालि भने उनले आह्वान गरेको विरोध प्रदर्शन साहिल सिंहको घटनामा मात्र सीमित छैन।

महानगरले पछिल्लो समय अनधिकृत रूपमा चलाएको डोजर, टुकुचा काण्ड, सडक व्यवसायीहरूमाथि भइरहेको धरपकड, खुलामञ्च भूमिगत पार्किङ लगायत महानगरसँग जोडिएका विभिन्न मुद्दा समेट्दै खबरदारी सभा गर्न लागेको सुमन बताउँछन्।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार