गत बैशाख २९ गते प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा गरिएको छ । प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।
प्रथम पुरस्कारको राशी ५० हजार, दोस्रो पुरस्कारको राशी ३० हजार र तेस्रो पुरस्कारको राशी २० हजार रहेको छ । चिठ्ठी लेखन प्रतियोगिताको विजेताहरुलाई सम्पर्क गरी रकम प्रदान गर्ने निर्माण टिमले बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भैसकेका, आफूले निकै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो ।
पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने सर्त राखिएको थियो । र, सोही अनुरुप नेपाल तथा विदेशबाट पत्रहरु प्राप्त भएका थिए । यो प्रतियोगिताको विजेता घोषणा बैशाख २७ गते हुने भनिएता पनि केही प्राविधिक जटिलताका कारण मंगलबार मात्र नतिजा प्रकाशन गरिएको हो । ‘हल्कारा’ले व्यावसायिक सफलता हासिल नगरे पनि समीक्षा उत्कृष्ट पाएको थियो ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी, बिनिता थापा मगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको मुख्य भूमिका छ । यो फिल्मले ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभल २०२२’मा सर्वश्रेष्ठ फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो ।