के हस्ताक्षर फिर्ता हुँदैछ ? नेपाल पक्षले दियो यस्तो प्रतिक्रिया

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एकताबद्ध बनाउन नचाहेको पुनर्पुष्टि भएको टिप्पणी गरेको छ। शुक्रबार बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई इंगित गर्दै नेपाल पक्षले यस्तो टिप्पणी गरेको हो।

शुक्रबारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका नेपालसहित २३ जना सांसदलाई तीन दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णय गरेको थियो। हस्ताक्षर फिर्ता नलिए ‘एमालेलाई फुटतर्फ लैजाने प्रयत्न गरेको बुझिने’ चेतावनी ओलीले दिएका थिए।

नेपाल पक्षले आफूहरुलाई तर्साउन खोजिएको भन्दै त्यसको कुनै अर्थ नरहेको बताएको छ। ‘यो पहिलोपटक होइन, पटकपटक भएको छ। यसको केही अर्थ छैन’, नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘बालुवाटारबाट फर्मान जारी गर्दैमा फिर्ता लिनलाई हस्ताक्षर गरिएको होइन।’

उनले आफूहरुले चाहेर मात्र एकता हुँदैन भन्ने पुनर्पुष्टि भएको समेत बताए। ‘वार्ताको वातावरण बनाउन खटिएका साथीहरुले आजै बिहान मात्र पनि बालुवाटार पुगेर बैठक एक/दुई दिन स्थगित गरौं, हामी वातावरण मिलाउँछौं भनेर ओलीलाई आग्रह गर्नुभएको थियो, तर मान्नु भएन’, उनले भने, ‘उहाँहरु यसैगरी अगाडि बढ्न खोजेको हो भने त अब संवादको च्याप्टर पनि क्लोज भयो।’

उनले बैठक बसेर यसबारे औपचारिक धारणा सार्वजनिक गरिने बताए। ओली र नेपाल पक्षलाई संवादमा ल्याउन निरन्तर प्रयत्न गरिरहेका नेपाल पक्षका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने अन्तिसम्म पनि सहमतिको प्रयत्न जारी राखिने बताए। ‘तर, आज जे निर्णय भएको छ, त्यसले सहमतिको वातावरणलाई सघाउ पुर्‍याउँदैन’, विष्टले भने।

केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने बताएकी छन्। शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर मुद्दामा गरेको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। उनले यस्ता अल्टिमेटम धेरै आएको बताइन्।

‘ओली कमरेड रहेको त्यो कमिटीलाई सर्वोच्च अदालतले अवैध भनिसकेको छ। अवैध कमिटीले दिएको अल्टिमेटम मान्न बाध्य छैनौं। तीनदिने अल्टिमेटको कुनै अर्थ छैन,’ झाँक्रीले भनिन्, ‘अस्ति बसेर आयोजक कमिटीको नाम फेरेर केन्द्रीय कमिटी नाम दिनुभएको छ। त्यो अवैध कमिटीले दिएको निर्देशन मान्न बाध्य हुँदैनौ। हामीसहित कमिटी नै एमालेको कमिटी हो।’

माधवकुमार नेपालसहित बसेर गरेको केन्द्रीय कमिटीको निर्णय सहमति/असहमति जे भए पनि मान्न भने बाध्य हुने झाँक्रीले बताइन्। ‘हामीसमेत बसेर निर्णय गरे पो मान्न बाध्य हुने थियौं। बैठकमा असहमति राख्न सकिन्छ, निर्णय भएपछि मान्न बाध्य हुने थियौं,’ झाँक्रीले भनिन्।

सेयर गर्नुहोस
  • 140
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    140
    Shares

प्रतिक्रिया दिनुहोस !