देउवाको राजनीतिक जीवन: नेविसंघको पहिलो सभापति देखि ५ औं पटक प्रधानमन्त्रिसम्म

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल भएका छन् । स्थायी ठेगाना गन्यापधुरा गाउँपालिका १, डडेलधुराका देउवाको हालको ठेगाना काठमाडौंको बुढानिलकण्ठ हो ।

२००३ साल जेठ ३१ गते डडेलधुरामा बाबु प्रसादसिंह देउवा र आमा द्रौपदीदेवी देउवाको कोखबाट उनको जन्म भएको थियो । देउवाको परिवारमा श्रीमती आरजु राणा र एक छोरा रहेका छन् ।
देउवाले स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।

प्रधानमन्त्री देउवा २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिमा सक्रिय भएका थिए । २०२८ सालमा उनी नेविसंघको पहिलो सभापति भएका थिए । उनले कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्व सम्हालेका थिए ।

२०५९ सालदेखि नेपाली काँग्रेस विभाजन गरी नेपाली काँग्रेस (प्रजातान्त्रिक) को गठन गरी सभापतिका रूपमा पाँच वर्ष नेतृत्व सम्हालेका थिए । २०६४ सालमा पुन काँग्रेससँग एकीकरणपछि वरिष्ठ नेताको हैसियतमा काम गरेका थिए । २०७२ को १३ औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको सभापतिमा चुनिएका थिए ।

देउवाको संसदीय यात्राको इतिहास हेर्दा २०४८ को संसदीय निर्वाचन, मध्यावधि निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६ मा डडेलधुराबाट १ निर्वाचित भएका थिए । संविधानसभा निर्वाचन २०६४ मा डडेलधुरा १ बाट निर्वाचित भएका थिए भने दोस्रो संविधानसभा २०७० मा डडेलधुरा १ बाट निर्वाचित भएका थिए । यस्तै संविधान निर्माणपछि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डडेलधुराबाट निर्वाचित भएका थिए ।

देउवाले यसअघि २०५२, २०५८, २०६१ र २०७४ मा गरी चार पटक नेपालको प्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनी २०४८ सालमा गृहमन्त्री बनेका थिए । राजनीतिका क्रममा उनले करिब ९ वर्ष जेल जीवन बिताएका छन् ।

उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत र लामो समय जेल जीवन समेत बिताएका छन् । २०५७ सालको दशौं महाधिवेशनबाट नेतृत्वका लागि प्रयास गरेका उनले करिब दुई दशकपछि १३ औं महाधिवेशनमा तेस्रो प्रयासमा कांग्रेस सभापति बनेका थिए ।

देउवा २०४८ सालदेखि निरन्तर रुपमा डडेलधुराबाट प्रतिनिधि सभा सांसदमा निर्वाचित हुँदै आएका छन् ।अबको उनको कार्यकाल जनता माझ कत्तिको लोकप्रिय बन्ने हो त्यो समयले बताउने छ। हाम्रो तर्फबाट पनि नव नियुक्त प्रधानमन्त्रिलाई धेरै-धेरै शुभकामान छ।

सेयर गर्नुहोस
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

प्रतिक्रिया दिनुहोस !