एमालेको गाँठो फुकाउन देउवाले सहयोग गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आज भेटेर सरकारमा आफ्नो पक्षलाई सहभागी गराउन प्रस्ताव गरेका छन् ।

नेपाल निवास कोटेश्वरमै पुगेर देउवाले यस्तो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार देउवाले आवश्यक परेको खण्डमा पार्टी विभाजनका लागि आवश्यक कानूनी तारतम्य मिलाइदिन सक्ने आश्वासन पनि नेपाललाई दिएका थिए ।

देउवाको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म तपाईंको अप्ठेरो फुकाउन तयार छु । तपाईंले मलाई सहयोग गर्नुभएको छ । म पनि तपाईंलाई सहयोग गर्छु । जसरी संसद जोगाउन लागि हामी सँगै अदालत गयौं, भोली पनि संसद जोगाउन सँगै रहनुपर्छ । तपाईं एमालेमा रहन नसक्ने भए दल विभाजन गर्न आवश्यक कानूनी प्रवन्ध मिलाउन पनि तयार छु ।’

देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्। नेता नेपालसँग भेट गर्न बुधबार साँझ नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री देउवाले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।

नेता नेपालले देउवा सरकारले गरेको पहिलो निर्णयको प्रशंसा पनि गरेका थिए। देउवाले मंगलबार कार्यभार सम्हाल्दै चैतभित्र सबैलाई कोरोना खोप लगाउने निर्णय गरेका थिए। नेता नेपालले सरकारले सबैका कुरा सुनेर अगाडि बढ्नुपर्ने पनि बताएका थिए।

सरकारमा सहभागिता र विश्वासको मतबारे पनि केही कुरा भए कि भन्ने प्रश्नमा आज त्यस्तो केही विषयमा छलफल नै नभएको दाबी नेता पूर्णबहादुर खड्काले गरे। नेता नेपालसहित एमालेका २३ जना  सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। ती सांसदले विश्वासको मत नदिए देउवा सरकार अफ्ठेरोमा पर्नेछ।

भेटमा प्रधानमन्त्री देउवाले उच्च स्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा पनि नेता नेपालसँग छलफल गरेका थिए। उक्त भेटमा कांग्रेसका पूर्णबहादुर खड्काका साथै नेपाल खेमामा विरोध खतिवडा, राजेन्द्र पाण्डे लगायतका नेता सहभागी थिए।

सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियक्त गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नेकपा माओवादी केन्द्र, एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थनमा देउवा प्रधानमन्त्री बनेका हुन्।

सेयर गर्नुहोस
  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

प्रतिक्रिया दिनुहोस !