बालुवाटार का’ण्ड माधव नेपालको निर्देशनमा भयो : गच्छदारको बयान

काठमाडौँ । असार ३१, बिहीबार, पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारले बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरी व्यक्तिका नाममा गर्ने र प्रधानमन्त्री निवासको जग्गा भूमाफियाको स्वार्थमा सट्टापट्टा गर्ने काम तत्कालीन प्रधानमन्त्री माधव नेपालको निर्देशनमा भएको खुलासा गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको डेढ वर्षपछि अदालतको सम्पर्कमा आएका गच्छदारले विशेष अदालतका तीन न्यायाधीशको इजलासमक्ष बयान दिँदै माधव नेपालविरुद्ध पोल लगाएका हुन् । उनले बयानमा स्पष्टरुपमा लेखाएका छन्, ‘तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरुका सम्बन्धमा मिति २०६५/६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री (माधव नेपाल) को निर्देशनअनुसार मन्त्रिपरिषदमा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो । विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नको लागि मेरो मन्त्रालयको सचिव (दीप बस्न्यात)ले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषदमा लैजानको लागि मैले स्वीकृति दिएको हुँ ।’

गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री छँदा प्रधानमन्त्री माधव नेपाल थिए । नेपालविरुद्ध अख्तियारले मुद्दा चलाएको छैन । जबकी, गच्छदारले अख्तियारको अनुसन्धानको क्रममा पनि यस्तै बयान दिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष जोडबलमा माधव नेपाललाई जोगाएको आरोप छ । तर, तिनै नेपालले अहिले ओलीलाई धोका दिएर बालुवाटारबाट बालकोट जान बाध्य पारेका छन् ।

अहिले तिनै नेपालको सहयोग कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट देउवाका एक मुख्य सारथि गच्छदारले नेपालविरुद्ध बयान दिएका हुन् । गच्छदारले अदालतको बयानमा समेत पोलिसकेकाले अब नेपाललाई अदालतले झिकाउन सक्ने स्रोतहरुको भनाइ छ । अदालतले अख्तियारमार्फत् पनि माधव नेपाललाई झिकाउन सक्छ भने सोझै अदालतमा उपस्थित हुन पत्राचार समेत गर्न सक्छ ।

यो प्रकरण अदालतमा गइसकेकाले अदालतले नै नेपालमाथि अनुसन्धान गरी अभियोजन गर्न निर्देशनात्मक आदेश पनि दिन सक्छ । त्यसैले गच्छदारले आफूभन्दा माथिल्लो ओहोदाका पदाधिकारीको बदमासीलाई अदालतको बयानमा लेखाएर भ्रष्टाचार अनुसन्धानमा सघाएको देखिन्छ । यस प्रकारको अभिव्यक्तिलाई विदेशमा ह्वीसिल ब्लोइङ (भण्डाफोर) भनिन्छ ।गच्छदारले बयानमा स्पष्ट शब्दमा बालुवाटारको जग्गा भ्रष्टाचार काण्डमा माधव नेपालको संलग्नताबारे लेखाइसकेपछि अदालतले यसबारे थप कारवाहीका निम्ति अग्रसरता लिन्छ कि न्यायाधीशहरु खुट्टा कमाउँछन् ? चासोको विषय बनेको छ ।

सेयर गर्नुहोस
  • 102
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    102
    Shares

प्रतिक्रिया दिनुहोस !