ओलीले प्रधानमन्त्रीको ट्विटर अकाउण्ट देउवालाई नदिनुमा के भन्छ सम्बन्धित निकाय ?

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट प्रधानमन्त्रीको ट्विटर अकाउन्ट (@PM_Nepal) को पासवर्ड नपाएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सोही ह्यान्डल राखेर नयाँ अकाउन्ट खोलेको छ। प्रयोगमा रहेको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर अकाउण्टलाई अहिले @PM_nepal_KPoli नाममा कायम गरिएको छ।

‘प्रधानमन्त्री फेरिएपछि स्वाभाविकरुपमा हस्तान्तरण गरिनुपर्ने भए पनि हामीले पासवर्ड पाएनौं,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यसैले @PM_Nepal नै राखेर नयाँ अकाउन्ट खोलेका हौं।’ नयाँ अकाउन्ट २०२१ जुलाइमा दर्ता भएको देखिन्छ।

नेपाली प्रधानमन्त्रीको नाममा ट्विटर अकाउन्ट (@PM_Nepal) सुशील कोइरालाको पालामा खोलिएको थियो। त्यसयता सोही अकाउन्ट पछिल्लो प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण हुँदै आएको थियो। प्रधानमन्त्री फेरिएपछि अघिल्लो प्रधानमन्त्रीको पालामा गरिएका ट्विटलाई भने ‘डिलिट’ गर्ने गरिएको थियो। यो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डलका रुपमा प्रयोग हुँदै आएको थियो जसलाई प्रधानमन्त्रीको निजी सचिवालयले चलाउने गरेको थियो।

ह्यान्डल परिवर्तन गर्नुअघि भेरिफाइडसमेत भएको सो अकाउन्ट यसअघि देउवाको सचिवालयबाटै ओलीको सचिवालयलाई हस्तान्तरण भएको थियो। छ लाख ४७ हजार फलोअर्स रहेको ट्विटर अकाउन्टलाई ओलीको सचिवालयले ‘कब्जा’ गरेपछि नयाँ अकाउन्ट खोलिएको हो।

यस्तै खाताको भेरिफिकेसन पनि उडेको छ । यसरी उड्नुमा प्राविधिक त्रुटी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सचिवालयले पासवर्ड नदिएर भेरिफिकेसन उडेको चर्चा चलेका बेला प्रधानमन्त्री कार्यालयले अघिल्ला टवीट अर्काइभ गर्ने क्रममा त्रुटी भएको जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले शेरवहादुर देउवाले प्रधानमन्त्रीको सपथग्रहण गरे लगत्तै आधिकारिक फेसबुक र ट्वीटरको पासवर्ड मुख्यसचिव शंकरदास बैरागीलाई दिइएको बताए ।

उनले भने( हामीले अरु व्यक्ति खोजेर दिने कुरा भएन । सरकारको स्थायी प्रतिनिधि मुख्यसचिव हुन्,मुख्यसचिवलाई पासवर्ड दिएर हिडेका हौं । प्रधानमन्त्री कार्यालयका उपसचिव मनिष भट्टराईले ट्वीट अर्काइभ गर्ने काम भइरहेको बताए । उनले अघिल्ला प्रधानमन्त्रीले गरेका ट्वीटहरुलाई अर्काइभ गर्ने र नयाँ प्रधानमन्त्रीका लागि अकाउन्ट मिलाउन अकाउन्टको नाम अर्काइभ गरेको बताए । भेरिफिकेसन उडेको बारेमा भने आधिकारिक रुपमा कसैले बोलेका छैनन् ।

सेयर गर्नुहोस
  • 514
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    514
    Shares

प्रतिक्रिया दिनुहोस !