प्रधानमन्त्री देउवालाई मोदीले किन बधाई दिएनन ? कारण सहित

काठमाडौँ — सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आएपछि ‘नेभरहुड फर्स्ट पोलिसी’ अर्थात् ‘छिमेक पहिलो नीति’ अंगीकार गरे । यो नीतिअन्तर्गत पर्ने एउटा मुख्य देश नेपाल पनि हो । तर यस पटक नेपालमा नयाँ प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा नियुक्त भएको पाँच दिन भइसक्दासमेत भारतीय प्रधानमन्त्री मोदीले बधाई सन्देश पठाएका छैनन् । शुक्रबार बेलुकीसम्म मोदीले देउवालाई कुनै पनि माध्यमबाट बधाई सन्देश पठाएको सूचना छैन ।

यसअघिका नेपाली प्रधानमन्त्रीहरूलाई मोदीले मन नपरे पनि सबैभन्दा पहिला सोसल मिडिया वा टेलिफोनको माध्यमबाट बधाई दिने गरेका थिए । उदाहरणका लागि दुई पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओली र मोदीबीचको सम्बन्ध चिसै थियो । तैपनि बधाई दिन कुनै ढिलाइ र कन्जुस्याइँ गरेनन् । २०७२ मा नेपालको संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री बनेका ओलीले भारतीय नाकाबन्दीको डटेर सामना गरे । २०७४ सालको चुनावपछि उनी दोस्रो कार्यालयका लागि प्रधानमन्त्री चुनिए । दुवै कार्यकालमा मोदीले तत्काल बधाई दिएका थिए ।

यस पटक देउवालाई मोदीले प्रधानमन्त्री भएको चार दिन बितिसक्दा पनि बधाई सन्देश पठाएनन् । यसले भारतले देउवा सरकारलाई कसरी हेर्छ वा हेरिरहेको छ भन्ने संकेत गर्छ । पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञ भेखबहादुर थापा हरेक मुलुकले आ–आफ्नो हिसाबले प्राथमिकतालाई लेखाजोखा गर्ने र त्यही सुरमा अघि बढ्ने मान्छन् । ‘पहिला सुसूचित गर्ने र कुन प्रकारको सन्देश दिने भन्ने सोचेको पनि हुन सक्छ,’ उनले भने, ‘बधाई आयो कि आएन भनेर उत्सुकता हुनु स्वाभाविक हो, यसैलाई प्राथमिकता दिनु उपयुक्त हुन्न ।’

मोदीको बधाई देउवालाई नआए पनि भारतीय राजदूत विनयमोहन क्वात्रा देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट असार ३० मा देउवा निवासमै पुगेर बधाई दिए । सोही दिन भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले सोसल मिडियामार्फत देउवालाई बधाई दिँदै बीजेपी र नेपाली कांग्रेसबीच नियमित छलफल गर्न दुवै पक्ष सहमत भएको बताएका थिए । कूटनीतिज्ञ थापा राजदूत पुगेर बधाई दिनु आफ्नो ठाउँमा रहेको उल्लेख गर्दै भन्छन्, ‘समकक्षीबाट पो शुभकामना सन्देश हुन्छ ।’

यस्तै, असार ३१ मा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि देउवालाई बधाई दिन बूढानीलकण्ठ पुगे । बेरीले नेपाललाई थप खोप सहयोग गर्ने वाचा गरे । नेपालका लागि चिनियाँ राजदूत होउले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवालाई बधाई दिँदै चीनले थप १६ लाख डोज भेरोसेल खोप सहयोग गर्ने बताइन् । बिहीबार नेपालका लागि इजरायली राजदूत हनान गोडरले पनि देउवालाई भेटेर बधाई दिए ।

भारतले २०७६ कात्तिक २५ मा जम्मु र कश्मीरलाई समेटेर नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । भारतले ओलीसँग सल्लाह गरेरै नक्सा छापेको देउवाले बताएका थिए । उनले भनेका थिए, ‘ओलीको सहमतिबिना नक्सा छाप्नै सक्दैन ।’ उक्त घटनालाई लिएर देउवाले तत्कालीन भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई टेलिफोनमार्फत असन्तुष्टि व्यक्त गरे । त्यसलाई लिएर भारतीय पक्ष देउवासँग पहिलो पटक चिढिएको थियो ।

त्यस घटना नेपालले कूटनीतिक रूपमा समाधान गर्ने भन्दै भारतलाई परराष्ट्रमार्फत कूटनीतिक नोट पठायो । भारतले कोभिड–१९ लाई कारण देखाउँदै तत्काल वार्ता गर्न मानेन । त्यसपछि २०७७ वैशाख २६ मा भारतले नेपालको भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण सुरु गरेपछि ओलीसँगै कडा विरोध गर्नेमा देउवा पनि थिए ।

२०७७ वैशाख ३१ मा भएको सर्वदलीय बैठकमा देउवाले भारतले अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सरकारलाई उच्च राजनीतिक र कूटनीतिक संवाद थाल्न सुझाव दिएका थिए । देउवाको उक्त अभिव्यक्तिप्रति पनि भारत चिढिएको थियो । त्यसपछि जेठ ७ मा नेपालले नयाँ चुच्चे नक्सा जारी गर्‍यो । त्यसका लागि संविधान संशोधन गर्न देउवा र उनको पार्टी कांग्रेसको पनि महत्त्वपूर्ण योगदान रह्यो । पछिल्लो समय देउवालाई लिएर मोदी चिढिनुको कारण हो– जेठ २९ मा देउवासहित पाँच पूर्वप्रधानमन्त्रीहरूले जारी गरेको विज्ञप्ति ।

देउवासहितका पूर्वप्रधानमन्त्रीहरूले विज्ञप्तिमा नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने उल्लेख गर्दै संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि भइरहेका निरंकुश हमलाविरुद्ध ऐक्यबद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूसँग अपिल गरेका थिए । विज्ञप्तिमा भनिएको थियो, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका लागि ध्यान आकर्षित गर्न चाहन्छौं ।’

भारतलाई नेपालको राजनीतिमा हात हालेको भन्ने देउवाको अभिव्यक्तिप्रति पनि मोदी खुसी नभएको हुनसक्ने आकलन गर्न सकिन्छ । परराष्ट्रविज्ञ तथा देउवा अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहँदा परराष्ट्र मामिला सल्लाहकार रहेका दिनेश भट्टराई भने भारतीय प्रधानमन्त्री मोदीले सिधै बधाई नदिए पनि राजदूतले भेटेरै बधाई दिएको बताए । ‘राजदूतले पनि मोदीकै प्रतिनिधित्व गर्ने हुन् तर केचाहिँ हो भने यसअघि मोदीले नेपालका प्रत्येक प्रधानमन्त्रीलाई कुनै न कुनै माध्यमबाट बधाई दिइरहेका थिए,’ उनले भने ।

सेयर गर्नुहोस
  • 945
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    945
    Shares

प्रतिक्रिया दिनुहोस !