राँगोलाई लखेटदै नेपाल प्रहरी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ — बिहीबार । रातको १० बज्दै थियो । कालीमाटी प्रहरीका डिएसपी अपिल बोहोराको टोली प्रहरी भ्यान साइरन बजाउँदै टेकुतिर हुइँकिदै थियो । भ्यानको अघिअघि दौडिरहेको थियो एउटा राँगो ।

कालामाटी नजिकैको रामघाटबाट ९ बजेतिर भागेको राँगो सडकमा आएपछि सर्वसाधरणबीच भागदौड चल्यो । राँगोलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो । छोटो डोरी घाँटीमा बेरिएको त्यो राँगो सडकमा कुदिरहेको थियो ।प्रहरीले पैदल यात्रु र बाइकमा सवारलाई माइकबाट सावधान गराइरहेका थिए- ‘किनारा लाग्नुहोस्, मार्ने राँगो आइरहेका छ । जोगिनुहोस् ।’

८ बजेपछि राजधानीमा अहिले सवारी चाप त्यति बाक्लो हुँदैन । तर पनि टेकु, थापाथली र कालिमाटीमा ट्राफिक प्रहरी सवारी जाँच गर्दै थिए । राँगो दौडिएको खबर प्रहरीको सञ्चारसेटबाट फैलिएपछि सिंहदरबार, न्युरोडाको जनसेवा, प्रर्दशनीमार्गको नगरप्रहरी, कालिमाटी प्रहरीको टोलीलाई सघाइरहेका थिए । राँगोलाई नियन्त्रण लिन यी चार स्थानका ४ जना डिएसपी नै सडकमा अन्य प्रहरीसहित कुदिरहेका थिए ।

टेकुबाट दौडिएको राँगो माइतीघरबाटअघि बढ्न खोज्दै थियो । सिंहदरबारतिर डियुटीमा रहेका डिएसपी भरत श्रेष्ठ उक्त राँगोलाई रोक्न माइतीघर आइपुगे । उनी चढेको भ्यानले साइरन बजाउँदै चर्को गाडीको आवाज निकालेपछि राँगो थापाथली क्याम्पसबाट आएकै बाटो फर्कियो ।

थापाथली–त्रिपुरेश्वर सडकको कालमोचन मन्दिर अगाडि सवारी जाँच गरिरहेका महिला ट्राफिक राँगो फर्केर आएपछि डराएर सडक पारी पुगे ‘जोगिएर फटाफट बाटो लाग्नुहोस्’ चेकिङमा रोकिएका सवारीचालकलाई उनीहरुले कागजपत्र नजाचीँ पठाइरहेका थिए ।

राँगो त्रिपुरेश्वरबाट सोझै टेकुतर्फ कुद्‌यो । उस्को सुरुदेखिको रफ्तार एकनासकै थियो । विपरीत दिशाबाट आइरहेका गाडी तथा बाइक राँगो नजिकै पुग्दा छल्दै सडकको अर्कोपट्टी पुग्थे ।

टेकु पुलनिर दुईजना बटुवा झन्डै पुलबाट हामफाल्नु पर्ने अवस्थामा पुगिसकेका थिए । धन्न दौडिएर उम्किए । राँगो कालिमाटी महेन्द्र सालिक पुगेपछि प्रहरी भ्यानले हर्न र साइरन बजाउँदै , होहल्ला गर्दै त्यसलाई टंकेश्वरीतर्फ लखेटे । प्रहरीहरु गाडी र बाइकमा बसेर टाढैबाट राँगो लखेटिरहेका थिए । नजिक पर्न उनीहरु पनि सकिरहेका थिएनन् ।

जनसेवाका डिएसपी डिलबहादुर मल्लका अनुसार राँगो राति करिव ९ बजे रामघाटस्थित सरोज खड्गीको पशु बधशालामा राख्न लाग्दा ट्रकबाट भागेको थियो । त्यो राँगोले क्षेत्रपाटीमा दोलखाका २९ वर्षीय कैलाश घिमिरे र वसन्तपुरमा ज्यामी काम गर्दै आएका नुवाकोटका रमेश क्षत्रीलाई घाइते बनायो । प्रहरी सहायतमा उनलाई राति नै ट्रमा सेन्टरमा लगिएको थियो ।

टंकेश्वरबाट परोपकर, वसन्तपुर, भीमसेनस्थान हुँदै क्षेत्रपाटी पुगेपछि राँगो चोकमा अल्झियो । त्यहाँ प्रहरीको घेरा बलियो भइसकेको थियो । त्यहाँ उस्ले एउटा रिक्सा, बाइक, स्कुटर र कालिमाटी प्रहरीको मोबाइल भ्यानलाई सिङले हानेर क्षति पुर्‍यायो ।

‘थप क्षति नहोस् भनेर हामीले त्यहाँ ४ राउन्ड गोली हान्यौं,’ नगर प्रहरीका डिएसपी कशौल बुढाथोकीले भने, ‘झन्डै मलाई नै हान्न आएपछि मेरो टोलीमा रहेका प्रहरी हवल्दार श्याम कुमार थापासँग एसएलआर थियो । उनले निधारमा ४ राउन्ड गोली हानेपछि राँगो त्यही ढल्यो ।’

जनसेवा प्रहरीले राति ११ बजे रामघाटका बधशालाका सञ्चालक खड्गीलाई बोलाई गोली हानेर मारको राँगो जिम्मा लगाएका थिए । प्रहरीका अनुसार राजधानी बाहिरबाट बधशालामा ल्याएका राँगाो बेलाबेलामा साहुले नियन्त्रण गर्न सकेर मानिसको भीडभाड भएका स्थान तथा सडकमा भाग्ने गर्छन् । पछिल्लोपटक यसरी राँगो भागेर प्रहरीले नियन्त्रण गर्नुपरेको यो तेस्रो घटना हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

प्रतिक्रिया दिनुहोस !