प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता, के-के भयो कुराकानी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवाले कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आइपुगेका हुन् ।

उनले आइतबारै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी नै सबैभन्दा उच्चस्तरीय नेता हुन् ।

कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशसरण महतले प्रधानमन्त्री र चौथाइवालेबीच भेटवार्ता भएको पुष्टि गर्दै दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको बताए । ‘उहाँलाई नेपाल भ्रमणको लागि मैले कांग्रेसको तर्फबाट निमन्त्रणा दिएको थिएँ । त्यही सिलसिलामा उहाँ नेपाल आउनुभएको हो ।

उहाँको यो भ्रमण मुख्यतः भाजपा र कांग्रेसको सम्बन्ध विस्तार र नेपाल–भारत सम्बन्धलाई कसरी बलियो पार्ने ? भन्ने सम्बन्धमै केन्द्रित हुन्छ,’ महतले कान्तिपुरसँग भने ।

महतले आइतबारको भेटवार्ताले नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे । देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाईवालेले पनि देउवासँग संवाद गरेका थिए ।

अनौपचारिक भ्रमणका क्रममा चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

प्रतिक्रिया दिनुहोस !