ओलीसँग निर्णायक डिल गर्न तेस्रो धारका नेताहरु बालकोटमा, आइतवार के आएको थियो निष्कर्ष ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न एमालेको एकता पक्षधर दोस्रो पुस्ताका नेताहरु बालकोट पुगेका छन् ।

एमालेको आन्तरिक संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका हुन्।भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

उनीहरुले एमाले एकताका लागि १० बुँदे सहमति पालना नगरे आफूहरुले पनि विद्रोह गर्ने चेतावनी दिएर वक्तव्य जारी गरेका थिए।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको बताइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको पोखरेलले बताए । पोखरेलका अनुसार तत्कालै स्थायी कमिटी बैठक बसेर १० बुँदे कार्यान्वयन र जेठ २ अघिका कमिटीहरु क्रियाशील बनाइनेछ ।

१० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ । १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ ।

एमालेलाई ७५ जेठ २ मा फर्काउनुपर्ने यी नेताहरुको मुख्य माग छ। तर अध्यक्ष ओलीले अब एमाले ७५ जेठ २ मा नफर्कने घोषणा गरिसकेका छन्। उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताउँदै ७५ जेठ २ अब नआउने प्रष्ट पारेका छन्। कतिपय नेताहरुले भने ओलीले १० बुँदै कार्यान्वयन गर्ने संकेत नदेखाएको भन्दै एमालेमा ठूलो विद्रोह हुने चेतावनी समेत दिएका छन् ।

निराश छन् नेताहरु- एकताका लागि प्रयासरत नेताहरुबीच आइतबार बानेश्वरस्थित अर्याल होटलमा छलफलमा भएको थियो। उनीहरुले ओलीले नै पार्टी टुक्र्याउन चाहेकाले आफूहरुको प्रयास खेर गएको निष्कर्ष निकालेका छन्।

‘माधव नेपालसहित १४ नेतामाथिको कारबाही र एकता सँगै हुँदैन,’ छलफलमा सहभागी एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘ओलीजीले माधव नेपालबाहेकको एकता चाहेको बुझियो। त्यो भनेको पार्टी टुक्रियोस् भन्ने हो, १४ नेताको कारबाही फिर्ता नभए एमाले एक रहँदैन।’

सांसद झपट रावलले अध्यक्ष केपी ओलीले सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरेकाले समस्या भड्किएको बताए। ‘अध्यक्ष केपी ओलीले सहमति कार्यान्वयनमा चासो देखाउनुभएको छैन,’ रावलले भने, ‘उहाँ प्रतिशोधपूर्ण रुपमा लाग्नुभयो। त्यसले समस्या समाधान गर्ने भन्दा भड्कायो।’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले इमान्दारी साथ १० बुँदे कार्यान्वयन नहुने हो भने एकता हुनै नसक्ने बताए। अध्यक्ष ओलीले आफूहरुलाई इंगित गरेर ‘पिलोको खिल’ भनेकोमा पनि उनले चित्त दुखाए। ‘उहाँले पिलो निचोरिए पनि खिल बाँकी रहेको भनेर केही नेतासँग भन्नुभएको हामीले सुन्यौँ,’ उनले भने, ‘त्यसको अर्थ खोज्दैछौँ, यदि उहाँलाई हामी खिल नै हो भन्ने परेको भए, त्यो खिल राख्नु भएन, ठण्डा दिमागले सोच्दैछौँ।’

‘यथार्थमा केपी कमरेड माधव नेपालबाट हामीलाई फुटाउने योजनामै हुनुहुन्छ,’ उनले भने। माधव नेपालले भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन्। आयोगले निवेदनको सनाखत गर्न उनीहरुलाई बुधबार बोलाएको छ। आयोग स्रोतका अनुसार त्यही दिन दल दर्ताको प्रमाणपत्र दिने सम्भावना छ।

त्यही भएर ओली र नेपाल दुवै पक्षमा नखुलेका नेताहरुले विभाजन रोक्ने अन्तिम प्रयास भन्दै एकताका लागि बल गरेका थिए। तर, अब आफूहरु नेपाल पक्षमा खुल्ने वातावरण बन्दै गएको उनीहरु बताउँछन्।

‘विभाजन नहोस् भनेर अन्तिम प्रयास भइरहेको छ,’ अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘अध्यक्ष ओलीकै कारण एकताको सम्भावना सकिँदै गएको देखिन्छ। एकता सफल भएन भने एउटा बाटो समात्नै पर्छ। त्यो बाटो भनेको माधव नेपाललाई नै साथ दिने हो।’ चाँडै नै आफूहरु माधव नेपाल पक्षमा खुल्ने उनले बताए।

‘अब धेरै दिन लाग्दैन। ढिलो गर्नु हुँदैन र लामो समय यत्तिकै बस्नु ठिक हुँदैन। पार्टी दर्ता भएपछि विस्तारै खुल्ने क्रम सुरु हुन्छ। सायद घोषणा पनि हुन्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘नयाँ पार्टीमा हाम्रो व्यवस्थापनको चिन्ता छैन।’

ती नेताका अनुसार यस विषयमा एकता जोगाउन लागेका ५७ जना नै सबै प्रष्ट छन्। शुक्रबार महाराजगञ्जमा एकता जोगाउन लागेका नेताहरुको बैठक बसेको थियो। ५७ जनाको समर्थन पाएको सो बैठकमा ३३ जना उपस्थित थिए।

एकता प्रयास चलिरहेका बेला ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीले झन् परिस्थिति बिगारेको उनीहरुको ठहर छ। अध्यक्ष ओलीले मंगलबार नै नेपालसहितका १४ जनालाई पदमुक्त गर्न संसद सचिवालयमा निवेदन दिएका थिए।

तर, एमाले प्रवक्ता प्रदीप ज्ञवालीले १४ नेताको कारबाही फिर्ता हुनुपर्ने सर्त राख्नु नै गलत भएको बताए। ‘उहाँहरुलाई किन कारबाही गरियो भन्ने प्रष्टै छ, त्यो पुनर्विचार हुने कुरै भएन, उहाँहरुकै आग्रहमा देशको सबैभन्दा ठूलो पार्टी विभाजन गर्न अध्यादेश ल्याइयो,’ ज्ञवालीले थपे।

दस बुँदे कार्यान्वयनमा गइसकेको उनी जिकिर गर्छन्। ‘दस बुँदे कार्यान्वयनमा गइसकेको छ। पार्टीका विभिन्न कमिटीले कार्यदलले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेर कार्यान्वयनमा लगिसकेको छ,’ ज्ञवालीले भने।

उपाध्यक्ष युवराज ज्ञवालीले भने त्यसको ठाडै खण्डन गरे। ‘त्यो दस बुँदेभित्र गर्नुपर्ने काम थुप्रै छन्,’ युवराज ज्ञवालीले भने, ‘एमाले जेठ २ को अवस्थामा फर्किएकै छैन। त्यसबाहेक एकलौटी बैठक राखेर केपी ओलीले गर्नुभएका निर्णयलाई कसरी मान्न सकिन्छ?’

यसबारेमा अध्यक्ष ओलीसँग कुरै हुन नसकेको उनले बताए। ‘ओलीजीसँग कुरै भएको छैन। तर, कार्यदलमा रहेका उहाँ निकट नेताहरुसँग कुरा भइरहेको छ,’ उनले थपे, ‘उहाँहरु दस बुँदे कार्यान्वयन भइसकेको छ बैठकमा आउनुस् भन्नुहुन्छ, हामी पहिला कार्यान्वयन गर्नुस् भनिरहेका छौँ। यहीँ कुरा मिल्न सकेको छैन।’

प्रवक्ता ज्ञवालीले दस बुँदेले सरकार र पार्टी दुवैलाई जोगाउन नसकेको टिप्पणी गरे। ‘दस बुँदे सहमति कार्यान्वयन गरेपछि एमाले नेतृत्वको सरकार पनि जोगिएन,’ उनले भने, ‘एमाले विभाजन समेत रोक्न सकेन। दस बुँदे सहमति कार्यान्वयनमा दबाब दिनुभएको साथीहरुले खै त एमाले विभाजन रोक्नुभएको?’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 402
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    402
    Shares

प्रतिक्रिया दिनुहोस !