बालकोटमा ओलीले के भने र तेश्रो धारका नेताहरु पग्लिए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन सहमत भएका छन् । सोमबार आफ्नो निवास बालकोटमा पछिल्लो समय तटस्थ बसेका ९ जना स्थायी समिति सदस्यसँगको छलफलमा अध्यक्ष ओलीले पार्टीका सबै तहका संरचना (वडा, जिल्ला, प्रदेश, केन्द्र कमिटी) खारेज गर्ने सहमति जनाएका हुन् ।

ओली सहमत भएसँगै विगतमा माधव नेपाल समूहमा रहेर हाल तटस्थ रहेका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् । आज भएको सहमतिलाई अनुमोदन गर्न अध्यक्ष ओलीले मंगलबार स्थायी समिति बैठक बोलाएका छन् ।

बालकोट बैठकमा उपाध्यक्षद्वय भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहितका नेताहरु सहभागी थिए । संस्थापन पक्षबाट अध्यक्ष ओली, प्रवक्ता प्रदीप ज्ञवाली सहभागी थिए ।

छलफलमा अध्यक्ष ओली पुस ५ गतेपछि आफूले बनाएका सबै पार्टी संरचना खारेज गर्न सहमत भएका थिए । यदि माधव नेपाल नयाँ दल दर्ता गर्नबाट फर्किन्छन् र उनले पुस ५ गतेपछि गठन गरेका सबै संरचना खारेज गर्न सहमत भए १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आफू तयार भएको ओलीले मध्यमार्गी नेताहरूलाई वचन दिएका छन् ।

नेता नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । आयोगले बुधबार केन्द्रीय सदस्यहरूलाई सनाखत गर्न बोलाएको छ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशअनुसार नेता नेपाललाई ४१ केन्द्रीय सदस्य र २४ सांसद भए नयाँ पार्टी दर्ता गर्न पुग्नेछ । त्यसैले पनि माधव नेपाललाई छाडेका मध्यमार्गी नेताहरूले आज ओलीलाई भेटी कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब बढाएका हुन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज भएका अनौपचारिक सहमतिलाई भोलि बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट फिर्ता भए अहिलेसम्मका सबै कारबाही निष्कृय गर्ने बताएका थिए । एमालेको कार्यदलमा सहभागी सदस्यहरुसँग निजी निवास बालकोटमा भएको छलफलपछि अध्यक्ष ओलीले आफू नेपालसँग मिलेर जान तयार रहेको बताए ।

‘कारबाहीका कुरा प्राविधिक मात्रै हुन्, मुख्य कुरा मिल्ने भन्ने हो’, ओलीले कार्यदलका नेताहरुसँग भने, ‘माधव नेपालले नयाँ पार्टीबाट फिर्ता गर्ने निर्णयले अहिलेसम्मका सबै कारबाही फिर्ता हुनेछन्। पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुनेछ ।’बैठकमा सहभागी नेता योगेश भट्टराईका अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन्।

‘हाम्रा पार्टी अध्यक्ष कमरेड १० बुँदे सहमति कार्यान्वयन गर्न तयार हुनु भएको छ। देशभरका एमाले कार्यकर्ता सबैलाई कोही पनि विभाजनको पक्षमा नजाऊँ भन्ने कुरामा हामी सहमत भएका छौँ,’ भट्टराईले भने, ‘अध्यक्ष कमरेड र हामीबीच पुराना जिम्मेवारी कामय हुने गरी सहमति भएको छ। पार्टीमा कसैमाथि पक्षपात हुँदैन। अन्याय हुँदैन भन्ने सुनिश्चितता पार्टीले गर्छ। उत्तेजना र आवेशमा नआउन सबैलाई आग्रह गरेका छौँ।’

अनि अष्टलक्ष्मीको वोली- ‘मूल नेतृत्व तपाईं नै हो, साथ दिन तयार छौं’- हालै बाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफूहरूको मूल नेतृत्व ओली नै भएको बताइन् । आफूहरूको साथ ओलीलाई नै रहने उनको भनाइ थियो ।

‘मूल नेतृत्व तपाईं हो । समस्या समाधान गर्न तपाईं नै लाग्नुपर्छ । त्यसमा साथ दिन तयार नै छौं । साथ दिन तयार नभएको भए त हामी पनि कता कता जान्थ्यौं । आ–आफ्नो ढंगले हिँड्थ्यौ । हामी त गएका छैनौँ नि !’

नेतृत्वले नै पार्टी जोगाउने र बचाउन सक्ने भएकाले अहिले ओलीको भूमिका महत्त्वपूर्ण हुने शाक्यले बताइन् । ‘नेतृत्वले राम्रो पनि गर्न सक्छ, नराम्रो पनि गर्न सक्छ । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजान पनि सक्छ । मूल नेतृत्व भनेको तपाईं हो । हामी पनि हो । हामी सबै हिसाबले साथ दिन्छौं । नेपालको कम्युनिस्ट आन्दोलन एक ढिक्का भएर एमालेले मात्रै बचाउन सक्छ, भन्ने सन्देश दिएर जुर्मुराएर उठौं ।’

बालकोट पुगेका नेताहरूसँग ओलीले भोलि नै बैठक बसेर १० बुँदे कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका थिए । शाक्यले ओलीले बैठक बसेर छलफल अगाडि बढाऔं भनेको कुरा सकरात्मक भएको बताइन् । छलफलमा उनले भनिन्, ‘कमरेडले भोलि नै बैठक बसौं न त भन्नुभयो । मलाई त राम्रो लाग्यो । राम्रो कामका लागि किन ढिला गर्ने ? यसले एमाले एकताबद्ध भयो भन्ने सन्देश जान्छ ।’

विगतमा कसले के गर्‍यो भन्ने कुरा बिर्सेर पार्टी जोगाउनु पर्ने शाक्यको भनाइ थियो । ‘हिजो कहाँ के–के भयो सबै छाड्दिनुहोस् । त्यता जाँदा फेरि पनि घाउ बल्झिन्छ, त्यता नजाँदा नै राम्रो हुन्छ’, उनले भनिन् ।माधव नेपालले नयाँ पार्टी बनाउन हतार गरेको शाक्यले बताइन् ।

‘माधव नेपाल यति छिटो नजानुपर्ने हो । हामी त पर्खेका छौं । युवाहरू पर्खेका छन् । माधव नेपाललाई ल्याउनैपर्छ, एकताबद्ध बनाउनैपर्छ । वामदेव गौतम अस्तिको बैठकमा आउनुभयो भन्ने छ । झलनाथ कमरेड बिरामी हुनुहुन्छ । जो–जो नेताहरू हुनुहुन्छ, सबै एकताबद्ध भएर जुरूक्क उठ्नुपर्छ’, छलफलमा शाक्यले भनिन् ।

पार्टी फुट्दा केही फरक पर्दैन भन्ने सोच नराख्न पनि शाक्यले ओलीलाई आग्रह गरिन् । ‘हामी फुट्यौँ भने केही पनि हुँदैन भन्ने कुरा होइन, मुलुकचाहिँ सिद्धिन्छ । यो टीमले एमाले जोगाउनै पर्छ, बलियो बनाउनै पर्छ । त्यसका लागि मनलाई संकुचित, साँघुरो होइन, फराकिलो बनाउनु पर्छ । मिल्ने भनेपछि अत्यन्तै लचिलो, फराकिलो भएर मिल्ने कुरातिर जाऔं ।’

विभाजन भएर, मन साँघुरो गरेर, पार्टी बेमेल भएर जनतामा जाँदा कस्तो असर हुन्छ भन्ने कुरा बताउन शाक्यले सहाना प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्दाको अनुभव छलफलमा सुनाएकी थिइन् ।

‘२०५४ सालमा साहना प्रधानले पार्टी फुटाइसकेपछि सहाना प्रधानकै क्षेत्रमा उनलाई हराउनुपर्छ भनेर मलाई पठाइएको थियो । त्यसबेला जनताबाट मैले कस्तोसम्म सुन्नपर्‍यो भन्ने अहिले पनि झलझली सम्झन्छु । जनताको घर घर गएर म पार्टी एकता बचाउँछु भन्नुपर्‍यो । फूटलाई जनताले कहिल्यै मन पराउँदैनन्’, शाक्यले सुनाइन् । छलफलमा उनले बागमती प्रदेश सरकारको अनुभव पनि सुनाइएकी थिइन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 542
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    542
    Shares

प्रतिक्रिया दिनुहोस !