एमाले विवादमा फेरी राष्ट्रपतिको इन्ट्री, किन राष्ट्रपतिलाई उकास्दै छन् एमाले नेता?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं- संघीय संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको बेला पार्टी मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाएकी छन् ।

अध्यक्ष केपी ओलीप्रति असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएपछि राष्ट्रपतिले एकताको निर्णायक पहल थालेकी हुन् ।

नेता नेपालसँग लामो तिक्ततापूर्ण सम्बन्ध र संवादहीन अवस्थालाई तोड्दै भण्डारीले सोमबार शीतल निवासमै बोलाएर नेपालसँग कुराकानी गरेकी छन् ।

यसअघि एमालेकै अर्का असन्तुष्ट नेता भीम रावलसँग भेट गरेपछि राष्ट्रपति भण्डारीले एकताको पहलकदमीलाई तीव्रता दिएकी हुन् ।  तीन घन्टा लामो भेटमा रावलले पार्टीलाई फुटबाट जोगाउन अभिभावकको भूमिका निर्वाह गर्न उक्साएपछि उत्साही भएकी राष्ट्रपतिले महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, योगेश भट्टराईलगायतका नेतामार्फत एकताको दबाब तीव्र पार्दै आएकी छन् ।

दोस्रो तहका नेताहरूसँगको भेटपछि विगतमा माधव नेपाल विचार समूहसँग निकट भएका, तर पार्टी दर्ताका क्रममा तटस्थ बसेका स्थायी कमिटीका नौजना नेताहरूसँग केपी ओलीले आजमात्रै एमालेमै रहनेगरी सहमति गरेका छन् ।

एमालेको संगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा फर्काउने, सर्वोच्च अदालतले नेकपा विघटन गर्ने फैसला गरेपछि ओली र नेपाल समूह दुवै पक्षले बनाएका समानान्तर कमिटी खारेज गर्ने र नेपाल नयाँ पार्टी दर्तावाट पछि हटे यसअघि सांसद पदबाट हटाउने गरी भएका कारबाही फिर्ता लिनेलगायतका सहमति ओली र नेपाल पक्षमा विगतमा रहेका नेताबीच भएको छ ।

यो सहमतिलाई भोलि (मंगलबार) ११ बजे बस्ने स्थायी कमिटी बैठकले अनुमोदन गर्ने र विगतमा बैठकमा सहभागी नभएका नेपाल पक्षधर भनिएका नेताहरू बैठकमा सहभागी हुने गरी भएको सहमतिमा राष्ट्रपति भण्डारीकै दबाबले काम गरेको एमालेका एक नेता बताउँछन् ।

उनका अनुसार राष्ट्रपतिले थालेको दबाब अभियानअन्तर्गत नै नेपालसँग भेट भएको भनिए पनि नेता नेपाल भण्डारीको प्रस्तावमा सहमत भने भइसकेका छैनन् ।  उनले आफ्नो विचार समूहका नेतासँग छलफल गरेर कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने बताएर शीतलनिवासबाट बाहिरिएको राष्ट्रपतिका एकजना सल्लाहकारले बताएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 225
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    225
    Shares

प्रतिक्रिया दिनुहोस !