माधव नेपाललाई साथ दिनेको संख्या बढ्दैः आजमात्रै तीन प्रभावशाली नेता थपिए

काठमाडौं । एमाले विभाजनका क्रममा यसअघि कतै नखुलेका तीन नेताहरु मंगलबार माधव नेपालको नयाँ पार्टीमा खुलेका छन्। दुई जना केन्द्रीय सदस्य र एक सांसदको नाम निर्वाचन आयोगमा दर्ता गरिएको छ।

केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, प्रदेश १ का सांसद राजन राई र संघीय सांसद शारदा भट्टको नाम मंगलबार आयोगमा थप गरिएको हो। यसअघि उनीहरु माधव नेपालकै क्याम्पमा भए पनि पार्टी दर्ताका लागि निवेदन दिँदासम्म खुलेका थिएनन्।

तीनजना थप गर्न मंगलबार राजेन्द्र पाण्डे र राजन राई निर्वाचन आयोग पुगेर पुनः चन्द्रागिरि फर्किएका छन्। यससँगै माधव नेपालको पक्षमा लाग्ने एमालेका ३२ सांसद र ६० जना केन्द्रीय सदस्य भएका छन्। ती मध्य ४६ जना सोमबार साँझ चन्द्रागिरि पुगेका थिए। केही मंगलबार बिहान गएका छन्।

केन्द्रीय सदस्य प्रदीप नेपाल र खगेन्द्र चुँडाल भने बिरामी भएकाले चन्द्रागिरिको बैठकमा सहभागी भएका छैनन्। उनीहरु बुधबार निर्वाचन आयोगमा सनाखत गर्न भने जाने केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए।

बुधबार आयोगले सनाखतका लागि बोलाएपछि दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) का नेताहरु नियमावली, विधान र घोषणा पत्रबारे छलफलमा जुटेका छन्।

यता एमालेका ९ जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा जाने भएका छन् ।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनर्स्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।

नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा गएनन् । स्थायी कमिटीका ९ जनाले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर १० बुँदे सहमति कार्यान्वयन र नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न माग गरेका थिए ।

सोमबार भएको छलफलमा अध्यक्ष ओली १० बँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् । त्यसअनुसार एमाले स्थायी कमिटीको बैठक अहिले केहीबेरमा बस्दैछ ।

बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनेछन् ।

सनाखतका लागि माधव नेपालका नेतालाई निर्वाचन आयोगले समय तोकेरै बोलायो

निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एकीकृत समाजवादी दल दर्ताका लागि नेताहरुको सनाखत गर्न बुधबार बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म कार्यालयमा उपस्थित हुन समय तोकेको जानकारी दिए ।  एकीकृत समाजवादी पार्टीका नेताहरु अहिले चन्द्रागिरीमा भेलामा छन् । बेलुकासम्म नेताहरु फर्कने तयारीमा छन् ।

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न बुधबारका लागि बोलाएको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए। सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।

आयोगमा कोही उपस्थित सकेन र पत्रमार्फत् सनाखतका लागि आग्रह आएमा के गर्ने भन्ने आयोगले पछि निर्णय गर्ने उनले बताए। पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता छन्। उनी उपचारका लागि भारतमा छन्।

दिल्ली दूतावासबाटै सनाखतको व्यवस्था मिलाउन झलनाथ खनालले पठाए आयोगमा निवेदन- पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एकीकृत समाजवादी)मा रहेको निर्वाचन आयोगमा जानकारी गराएका छन्।

आयोगले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाललगायतलाई बुधबारका लागि सनाखतमा आउन समय दिएको छ। तर खनाल भारतमा छन्। उनी स्वास्थ्य उपचारमा छन्। खनालले आज आयोगमा पत्र पठाएर आफू नेकपा (एकीकृत समाजवादी) मा रहेको र दिल्ली दूतावासमार्फत् सनाखतको व्यवस्था गर्न निवेदन पठाएर माग गरेका छन्।

‘दूतावासमै सनाखत गर्ने व्यवस्था गराई पाऊँ भनेर आयोगमा एउटा निवेदन प्राप्त भएको छ,’ आयोगका सचिव सुरेश अधिकारीले भने, ‘निवेदन आएको छ तर त्यसउपर कुनै कारबाही भएको छैन।’

आयोगले भौतिक उपस्थितिमै सनाखत गराउने कानुनी व्यवस्था रहेको अधिकारीले बताए। ‘यसबारे के गर्ने भन्ने आयोगको बैठकपछि निर्णय होला,’ उनले भने, ‘केही कानुनी अप्ठ्यारा छन्, यो विषय आयोगमा छलफलको क्रममा छ।’

आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।

सेयर गर्नुहोस
  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

प्रतिक्रिया दिनुहोस !