‘ओलीले खेलाउन नसकेको मान्छे हुँ, अरु कसले खेलाउला ?’: माधव कुमार नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मंगलबार मध्यान्ह भइसक्दा पनि चन्द्रागिरि पहाडमा घाम देखिएको थिएन । बाक्लो कुहिरोले डाँडालाई ढपक्क ढाकेको थियो । वातावरण धुम्म र शीतल थियो । डाँडाबाट सधैंझै काठमाडौं सहरको सुन्दरता हेर्न सकिने गरी मौसम खुलेको थिएन ।

एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल र उनको पक्षमा रहेका केन्द्रीय सदस्य एवं सांसदहरु सोमबार साँझ नै चन्दागिरि हिल्स रिसोर्टमा भेला भएका थिए । मंगलबार बिहानै केही पत्रकारहरु क्यामेरा लिएर बाहिरपट्टि प्रतिक्षा गरिरहँदा नेकपा एकीकृत (समाजवादी) का नेताहरु रिसोर्टभित्र बैठकमा व्यस्त थिए ।

मध्यान्ह भइसकेपछि रिसोर्टको पटाङ्गिनीसम्म फैलिएको भुइँकुहिरो छिचोल्दै नेता माधवकुमार नेपाल पत्रकारसँग ‘फेस’ गर्न आइपुगे ।करिब पौने घण्टाको पत्रकार सम्मेलनमा नेता नेपालले एमालेबाट विद्रोह गर्नुपर्ने कारणहरु बताए । साथै, उनले पत्रकारका केही प्रश्नहरुको पनि जवाफ दिए ।

काठमाडौं खाल्डोभित्र केपी ओलीसँग मिल्न पुगेका तेस्रो धारका नेताहरु एमाले स्थायी कमिटीको बैठकमा जानै लागेका बेला चन्द्रागिरिको डाँडाबाट माधवकुमार नेपालले के–के भने त ? पत्रकार सम्मेलनमा नेता नेपालले बोलेका कुराहरु यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

चन्द्रागिरिमा किन ?

हिजो र आज हामी प्रस्तावित केन्द्रीय कमिटीका सदस्यहरु, पूर्व २०३ सदस्यीय केन्द्रीय कमिटीका सदस्य, पछि थपिएका २४१ मध्ये केन्द्रीय कमिटीका सदस्य, त्यसपछि हामीले थपेका सदस्य र हाम्रा माननीय सांसदहरु हिजो र आज यहाँ (चन्द्रागिरि हिल्समा) बसेर दस्तावेजहरुमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया र बैठक गर्यौं । उपयुक्त र शान्त वातावरणमा बसेर छलफल गर्ने उद्देश्यका साथ हामी यहाँ आयौं ।

हामीले निर्वाचन आयोगमा दर्ता गरेका डकुमेन्टहरु, यसमध्ये घोषणापत्रका बारेमा छलफल चलाइरहेका छौं । ग्रुप छलफल हुनेछ । दोस्रो, विधान हामीले वितरण गरेका छौं । त्यसमा बिफ्रिङहरु भएका छन् । तेस्रो नियमावलीका बारेमा हामीले छलफल चलाइरहेका छौं । त्यसपछि अर्को डकुमेन्ट, कम्युनिस्ट पार्टीको पुनस्र्थापना गर्नुपर्ने आवश्यकता किन ? भन्ने प्रारम्भिक मस्यौदा छ । त्यसबारेमा पनि रायहरु संकलन गर्दैछौं । पछि यसलाई पनि पूर्णता दिनेछौँ ।

ग्रुप छलफल भइसकेपछि हामी डकुमेन्टलाई एकसरो परिमार्जन गर्नेछौं । पछि पार्टीको वैधानिकताको टुंगो लागिसकेपछि थप छलफल चलाएर पूर्णता दिँदै हामी अगाडि बढ्नेछौँ ।

ओली दक्षिणपन्थी अवसरवादी भासमा भासिनुभयो !

अहिले तपाईहरुलाई थाहा छ कि केपी ओली प्रवृत्तिका विरुद्ध हामी जुध्दै आएका थियौं । र, यो जुधाइ पहिलेदेखि नै हो । नवौं महाधिवेशनमा पनि र त्यसपश्चात पनि हो । केन्द्रीय कमिटीका प्रत्येक बैठकमा, स्थायी कमिटीका बैठकहरुमा हरेकखालका प्रवृत्तिका विरुद्ध हामी जुध्दै आयौं । चाहे विचारसँग जोडिएको विषय होस्, चाहे उहाँका संगठनात्मक तौरतरिकाका कुरामा होस्, चाहे कार्यकर्ताको मूल्यांकनका कुरामा होस् वा कार्यसञ्चालन पर्ने कुरामा होस् । यी सबै कुराहरुमा हामीले धेरै सुझावहरु दियौं । आलोचनाहरु गर्यौं । तर, उहाँले पार्टीलाई राम्रोसँग चलाउन सक्नुभएन ।

यस्तै अवस्थामा निर्वाचन भयो । निर्वाचनका बेलामा नेकपा माओवादी केन्द्रसँग समझदारी कायम भयो । पछि ०७५ सालको जेठ ३ गते हामीले पार्टी एकता गर्यौं । एकतावद्ध भएर अगाडि बढिसकेको पार्टीमा सुरुदेखि उहाँले विधिलाई उल्लंघन गर्न थाल्नुभयो । थपिएका केन्द्रीय कमिटीका सदस्यहरुको नामै फेरबदल गर्नुभयो । निर्णय नै नभएका कुराहरुलाई उहाँले माइन्युटमा गोप्यरुपमा लेखेर सर्कुलर जारी गर्ने काम गर्न थाल्नुभयो । यी सबै विषयमा धेरैचोटि कुराहरु भए । यी कुनै पनि कुराहरुलाई उहाँले गम्भीररुपमा लिनुभएन । र, त्यसपछि उहाँ असहिष्णु हुँदै जानुभयो । यसले गर्दा विस्तारै उहाँका बर–व्यवहारले गर्दाखेरि एकपछि अर्का नेताहरु अलग्गिँदै जान थाल्नुभयो । आलोचना हुन थाल्यो । यो सबै भइसकेपछि राजीनामा प्रशंगहरु पनि उठे । दुबै पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा पनि जोडदार रुपमा उठ्यो ।

यी सबै सिलसिलामा उहाँले नै नेकपाका अध्यक्ष पुष्पकमल दाहालजीसँग अध्यक्ष आलोपालो हुने र प्रधानमन्त्री आधा–आधा कार्यकाल हुने छुट्टै सहमति गर्नुभएको थियो, ती दुईटै कुराको उहाँले पालना गर्नुभएन । पालना नगरिसकेपछि समस्याहरु सिर्जना हुन थाले । उहाँले आपसमा लडाउन र जुधाउनका लागि विभिन्न तौरतरिकाहरु गर्न थाल्नुभयो । कहिले वामदेव कमरेडलाई प्रधानमन्त्रीको अफर गर्ने, कहिले अध्यक्षको अफर लिएर जाने ।

यो सबै अवस्थाभित्र, यहाँहरुलाई थाहा छ, उहाँले नै प्रतिनिधिसभा विघटन गर्नुभयो । उहाँको भनाइ र मान्यता के थियो भन्दाखेरि यो कुर्सीमा मेरो मात्रै हक छ, अरु कसैको छैन । मेरो आफ्नो प्रतापले यो प्राप्त भएको हो ।

पार्टी सरकारका पनि भएको कारणले धेरै आलोचित हुन थाल्यो । सरकारको क्रियाकलापका बारेमा सुझाव सल्लाह उहाँले सुन्दै नसुन्ने । आलोचनालाई ग्रहणै नगर्ने र असहिष्णु हुने प्रवृत्तिले गर्दाखेरि उहाँ सबैतिरबाट एक्लिन थाल्नुभयो । पार्टीभित्रको ठूलो पंक्ति उहाँबाट टाढा भयो । उहाँ बैठकै नबोलाउने । बैठक सञ्चालन नगर्ने । छलफल गर्दै नगर्ने । यस्ता गतिविधिहरु उहाँमा देखिन थाले ।

यो सबै भइसकेपछि जब उहाँले देख्नुभयो कि अब पार्टीमा पनि समस्या रहन्छ अनि सरकारमा पनि समस्या रहन्छ, त्यसपछि उहाँले अनेकखालका दाउपेची प्रस्तावहरु राख्न थाल्नुभयो । उहाँका प्रस्ताव इमान्दार थिएनन् । उहाँले विश्वसनीयता गुमाउनुभयो । उहाँका बोलीवचनहरु विश्वसनीय भएनन् । विश्वनीय नभएको मात्रै होइन, आफूप्रति आलोचनात्मक मान्छेहरुप्रति कटाक्ष गर्ने मात्र होइन, अपमान गर्नेखालका बर–व्यवहारले गर्दाखेरि उहाँले व्यक्तिगत सम्बन्धलाई पनि बिगार्नुभयो । र, विश्वासको सम्बन्ध पनि टुट्यो र राजनीतिकरुपमा पनि उहाँमा विचलन आयो, वैचारिक रुपमा पनि उहाँमा विचलन आयो । त्यसपछि उहाँको व्यवहारको पक्षमा पनि समस्या आयो ।

यी सबै कुराले उहाँको नीति, विधि र आचरणमा समस्या खडा भयो । समस्या खडा भएपछि ‘प्रधानमन्त्रीको कुर्सी ताकेका छन्, यो कुर्सी नै भाँचिदिन्छु’ भन्नुभयो । प्रतिनिधिसभा नै विघटन गरिदिनुभयो । कहीँ सल्लाह गर्नुभएन । यो मेरो अधिकारको कुरा हो भनेर दाबी गर्नुभयो । यो कुनै पनि पार्टीमा मान्य हुँदैन, कम्युनिस्ट पार्टीमा त झन् मान्य हुन सक्दै सक्दैन । यो कसैको एकलौटी होइन, सबैको सामुहिक मेहनतबाट प्राप्त भएको बहुमतको सरकारको हो । झण्डै दुईतिहाई बहुमत पार्टी एकता भएको अवस्थामा यो अवसरलाई राम्ररी सदुपयोग गर्नुपर्ने थियो, उहाँले सदुपयोग गर्न सक्नुभएन ।

सबैका विचार, सबैका ज्ञानहरुलाई जसरी परिचालन गर्न सक्नुपर्थ्यो, त्यसरी परिचालन गर्न सक्नुभएन वा उहाँले चाहनुभएन । आफूलाई सर्वज्ञानी ठान्नुभयो, अरुलाई अत्यन्त अपमानित गर्नुभयो । यो सबै अवस्थाले गर्दा पार्टीमा निकै ठूलो समस्या खडा भएको थियो । आफूले एकलौटीरुपमा काम गर्न सक्ने देखेपछि उहाँले ‘मेरो हातखुट्टा बाँध्ने काम भयो’ भनेर आरोप लगाउनुभयो । त्यो आरोप शतप्रतिशत गलत थियो ।

उहाँको हातखुट्टा बाँधेको होइन, राम्रो काम गर्न दिने, बेठीक काम गर्नबाट नियन्त्रण गर्न खोजेकै हो । गलत काम नहोस्, यसले पार्टी बदनाम हुन्छ, सरकार बदनाम हुन्छ, पार्टी र सरकार विस्थापित हुन्छ भन्ने मान्यताका आधारमा नै नागरिक कमिटीका बैठक, बैठकमा विषयवस्तु, विषयवस्तुमा व्यापक छलफल, बहस र त्यसको निष्कर्षमा पुग्ने निर्णयमा पुग्ने र निर्णयको आधारमा सबै जनपक्षीय कम्युनिस्ट पार्टीमा सामुहिक नेतृत्व बहाली हुन्छ र बहुमतको निर्णय सबैले मान्नुपर्ने हुन्छ भनेका थियौं । यो सबै अवस्थाभित्र नै प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमन भयो, प्रतिगमनका विरुद्ध देशव्यापीरुपमा अभियान सुरु भयो । दलहरु र सिङ्गो समाज आन्दोलित भयो संविधान जोगाउनका लागि ।

उहाँले जुन कदम चाल्नुभएको थियो, त्यो संघीयताको विरुद्धमा जान खोजेको देखियो । धर्मनिरपेक्षताको विरुद्ध जान खोजेको देखियो । राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरा गरियो । परराष्ट्र नीतिमा असर पर्ने कामहरु उहाँले गरिरहनुभयो । आफ्नो सत्ता जोगाउनका लागि उहाँले सबैखालका गलत कदम चाल्नुभयो । पार्टीको नीति, सिद्धान्त विपरीत गएर उहाँले काम गर्नुभयो । उहाँ दक्षिणपन्थी अवसरवादी भासमा भासिनुभयो ।

यस क्रममा दक्षिणपन्थी शक्तिहरुसँग उहाँको साँठगाँठ बढ्न थाल्यो । यसै क्रममा विभिन्नखालका दक्षिणपन्थी तत्वहरु, समूहहरुसँग उहाँको गठबन्धन भयो । यसले गर्दा पार्टीभित्र दुईवटा धार देखिए । एउटा दक्षिणपन्थी धार देखियो भने अर्को क्रान्तिकारी धार देखियो । एउटा लोकतान्त्रिक वामपन्थी शक्तिहरुसँग एकतावद्ध भएर जाने, अर्को भनेको दक्षिणपन्थीसँग सम्झौता गरेर जाने । उहाँ पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पार्ने सोचमा हुनुहुन्थ्यो ।

एकता प्रयास सम्भव भएन

यहीबीचमा सर्वोच्चको फैसलाले गर्दा बेग्लै अवस्था उत्पन्न भयो र दुईवटा पार्टी अलग हुन पुग्यो र उहाँले एकलौटी पार्टी कब्जा गर्न खोज्नुभयो । पार्टीभित्रका असहमत पक्षलाई पूरै माइनस गर्न खोज्नुभयो । फागुन २८ गतेपछि उहाँले चालेका कदमहरु, चैत ७ गते उहाँको बैठकहरु एउटा विचार समूहको रुपमा महाधिवेशनमा उहाँलाई मत नदिएका वा उहाँलाई प्रशंसा नगर्ने, उहाँलाई ‘बा’ नभन्ने, उहाँको पूजक नहुने सबैलाई उहाँले शत्रु, विरोधी ठान्न पुग्नुभयो । पार्टीलाई आफ्नो निजी कम्पनीका रुपमा उहाँले ठान्न पुग्नुभयो । फलस्वरुप पार्टीमा ठूलो समस्या खडा भयो ।

हामीले नेकपा एमाले एकतावद्ध होला, एकतावद्ध भएर जाउँला भनेर आशा गरेर बसेका थियौं । तर, त्यो नभइसकेपछि हामीले २०७७ चैत ४ र ५ गते जुन भेला गरेका थियौं, त्योभेलामा एकतावद्ध भएर हामीले संकल्प ग¥यौं– पार्टीको रक्षा गर्नुपर्नेछ, क्रान्तिकारीकरण गर्नुपर्नेछ । पार्टीमा विद्रोहको बिगुल फुक्नुपर्नेछ । समानान्तर कमिटी बनाउँदै जानुपर्छ ।

यो सबै अभियान हामीले चलायौं । सर्कुलर जारी गर्यौं । त्यही क्रममा कमिटीहरु गठन भए । राष्ट्रिय भेलाहरु भए । यी सबै क्रममा उहाँले पूरै बेवास्ता गर्नुभयो । जब संकटमा पर्नुभयो, अनि वार्ताको नाटक गर्नुभयो । संकटलाई टार्नका लागि, संकटलाई अल्मल्याउनका लागि उहाँले वार्ताको नाटक गर्नुभयो ।

हामीले इमानदारीका साथ वार्ता गरौं, सहमति गरौं भनेर कोशिस गर्यौं । तर, हाम्रो कोशिस सफल भएन । एकपछि अर्को प्रहार उहाँले गरेको ग–यै गर्नुभयो । एकलौटी निर्णय गरेको ग–यै गर्नुभयो । वार्तामा अल्मल्याउँदै जाने, त्यसपछि एकलौटी निर्णय गर्दै जाने । आफ्नो गुटगत गतिविधिलाई रोक्दै नरोक्ने ।

यो अवस्थाभित्र हामीले ‘यो वार्ताको नाटकको कुनै अर्थ छैन, अल्मल्याउँदै लामो समयसम्म रोक्ने काम गर्न पाइँदैन, छिटै यसलाई टुंग्याउनुपर्छ’ भन्यौं । तर, प्रत्येकपटक टुंग्याउन खोज्दा उहाँले अल्मल्याउन खोज्नुभयो । हामी आशावादी बन्न पुग्यौं । धेरै समयसीमा बढ्दै गयो । एक हप्तामा टुंग्याउनुपर्छ भनियो, फेरि दुई हप्तामा टुंग्याउनुपर्छ भनियो । तर, अलमलमा परेकाहरुले केही पनि गर्न सक्दैनन् । भ्रममा परेकाहरुले केही पनि गर्न सक्दैनन् । भ्रम र अलमललाई चिरेर गइयो भने ‘क्लियर कट’ बाटोमा अगाडि बढ्न सकिन्छ ।

कार्यकर्ताहरुमा ब्यापकरुपमा छट्पटी देखियो । कमिटी बनाउने कि नबनाउने, परिचालन गर्ने कि नगर्ने भन्ने कुराहरु उठिरहेका थिए । यसै सिलसिलामा उहाँले विधान महाधिवेशनको मिति तोक्न पुग्नुभयो । आफ्ना गुटका मान्छेलाई पार्टी सदस्यता व्यापकरुपमा वितरण गर्ने । भन्ने बेलामा उहाँले जेठ २ को वरिपरिको गफमात्र हाँक्नुभयो । आफ्ना गुटका मान्छेलाई निर्देशन दिँदै जानुभयो । त्यसपछि देशव्यापीरुपमा कार्यकर्तामा ठूलो छटपटी भयो । त्यसपछि गर्ने के ? हामी पूरै माइनस हुने भयौं । जिल्लाको अधिवेशनमा पनि आउन सक्ने अवस्था भएन । केन्द्रमा पनि आउन सक्ने भएन । केही सुधार हुने लक्षण पनि देखिएन । हामी घर न घाटको हुने स्थिति बन्न थाल्यो भनेर व्यापकरुपमा आवाज उठिसकेपछि अब टुंगो गर्नैपर्छ भनेर हामी निष्कर्षमा पुग्यौं ।

यो निष्कर्षमा पुगिसकेपछि केही साथीहरु सहमत हुनुभयो, केही सहमत हुनुभएन । होइन, अर्को पार्टी बनाउन सकिँदैन भन्ने केहीको मान्यता थियो भने केहीको तुरुन्तै अर्को पार्टी बनाउँ भन्ने सुरुदेखिको आवाज थियो । चैत ४ र ५ गते नै अर्को पार्टीको घोषणा गरौं भन्ने पनि आवाज थियो । अर्को पार्टी खोल्नुपर्छ भनेर बीचबीचमा पनि कुरा भए ।

हाम्रा कतिपय कमरेडहरुले अर्को पार्टी निर्माण गर्नुपर्छ भनेर पार्टीको तयारीमा पनि जुट्नुभयो । पार्टी दर्ता पनि गर्नुभयो । हामीसँग नजिक भएको ‘नेकपा एकीकृत’ नाम गरेको पार्टी निर्माण गर्न पनि हाम्रै कतिपय कमरेडहरुले महत्वपूर्ण भूमिका खेल्नुभयो । नेकपा लोकतान्त्रिक निर्माण गर्ने कुरामा पनि भूमिका खेल्नुभयो, निर्वाचन आयोगमा दर्ता पनि भयो । भनेपछि, अर्को पार्टी खोल्नका लागि भूमिका खेल्ने त हाम्रै कमरेडहरु हुनुहुन्थ्यो ।

आज सुन्छु, विधान अधिवेशन गर्ने रे ! उहाँको एकलौटी महाधिवेशन ! उहाँले आफ्नै तरिकाले यस्ता प्रयत्नहरु गरिरहनुभएकै थियो । पछि गएर बामदेवहरुलाई पनि कुनै महत्व दिइएन । पार्टी आफ्नो एकल अधिकारमा राख्ने नियत देखिसकेपछि वामदेवले त्यहाँ आफ्नो विचार राख्नुभयो । ‘यो केपी ओलीको प्राइभेट कम्पनी बन्ने भयो’ भनेर विरोध गरेर निस्कने स्थितिमा उहाँ पुग्नुभयो ।

भनेपछि, हेराइ, बुझाइ फरक–फरक हुन्छन् । अझै कतिपयलाई जेठ २ गते– जेठ २ गते ..। जेठ २ गते ‘टेक्निकल’ कुरामात्र हो । यो एउटा बहाना पाउने र छिर्ने । बहाना पाएर छिर्ने होइन, पार्टीको क्रान्तिकारीकरण गर्ने, पार्टीको रुपान्तरण गर्ने । केपी ओलीको नेतृत्वमा त्यो सम्भव छैन भनेर हामीले देख्यौँ ।

जसरी दोस्रो महाधिवेशनमा केशरजङ्ग रायमाझी हुँदाहुँदै त्यो पार्टी रुपान्तरण हुन सक्दैनथ्यो, पुष्पलालले पार्टीबाट विद्रोह गर्नुभयो । पुष्पलालले बेग्दै पार्टी निर्माण गर्नुभएपछि हामी पनि सहभागी भएका थियौं । पछि हामीले पनि विद्रोह ग¥यौं । विद्रोह गरेपछि नेकपा कोअर्डिनेसन, नेकपा माले, एमाले बनाउँदै देशको प्रमुख राजनीतिक शक्तिका रुपमा उभ्याउने काम हामीले नै ग¥यौं । नयाँ इतिहास कायम गर्यौं ।

त्यतिखेर रायमाझीबाट विद्रोह गर्दै मोहनविक्रमजीले अर्को समूह बनाउनुभयो । त्यो समूहबाट माओवादी केन्द्रका पुष्पलाल दाहाल ‘प्रचण्ड’ले विद्रोह गर्नुभयो र अर्को समूह बनाउनुभयो । देशव्यापी रुपमा संगठन विस्तार गर्नुभयो । हामीले नेपालको इतिहासमा नयाँ कीर्तिमान कायम ग¥यौं । २०५१ सालको चुनावमा नेपाली काँग्रेसभन्दा ठूलो शक्तिका रुपमा हामीले आफूलाई उभ्यायौं । राम्रो काम गरेर जनतामा लोकप्रियता हासिल गर्यौं ।

२०६२/६३ मा जनक्रान्ति भयो । गणतन्त्रको निम्ति आन्दोलन भयो । यी सबै कुरामा हाम्रो पार्टीले महत्वपूर्ण भूमिका खेल्यो । यी सबै कुराको सन्र्दभमा पार्टीमा मत मतान्तर छँदैथियो, उहाँ (केपी ओली) राजालाई हटाउन सकिँदैन भन्ने, राजतन्त्रलाई फाल्न सकिँदैन भन्ने, राजतन्त्रलाई स्वीकार्नुपर्छ भन्ने । अर्कोतिर फाल्नुपर्छ, नफाली उपाय छैन, फाल्न सकिन्छ भन्ने विश्वासका साथ अगाडि बढ्ने । यसैक्रममा हामीले सफलता हासिल गर्यौं । संविधान बनायौं ।

संविधानले जनताको समाजवादउन्मुख लोकतन्त्र अवलम्बन गर्यो । त्यही नीतिका आधारमा अघि बढ्नुपर्छ भन्ने हामीले सोचाइ बनायौ । तर, संविधानले अवलम्बन गरेको व्यवस्था विपरीत केपी शर्मा ओलीले जव आफ्नो हातमा प्रधानमन्त्री पद परिसकेपछि संसद विघटन गर्नुभयो । इतिहासमा एउटै कार्यकालमा दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेर इतिहासमै रेकर्ड कायम गर्नुभयो ।

एमालेको ढोका हाम्रा लागि बन्द भयो

पहिलोपटकको २०७७ पुस ५ गतेको विघटनलाई सर्वोच्च अदालतको फागुन ११ को फैसलाले अस्वीकार गरेपछि र संसद पुनस्र्थापना भैसकेपछि नयाँ ढंगले अघि बढ्ने अवस्था थियो । त्यहीबेलामा फेरि फागुन २३ गते नेकपालाई दुईतिर बनाएपछि नयाँ परिस्थिति उत्पन्न भएको थियो ।

यो परिस्थितिमा हामीले पार्टी एकताका लागि धेरै समय कुर्दाकुर्दै पनि नभएपछि, दोस्रोपटक विघटन गरिसकेपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र पनि विद्रोहको आवाज बुलन्द गर्याैं । संसदलाई फेरि पुनःस्थापना गर्ने सन्दर्भमा संसदभित्रका सबै दल एकतावद्ध बन्यौँ ।

पार्टीभित्र हामीले त्यो आवाजलाई बुलन्द गरेर केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनैपर्छ भन्ने निष्कर्षमा पुगिसकेपछि काँग्रेस, माओवादी र उपेन्द्र यादवको जसपासँग सहमति गर्ने, हाम्रो पार्टीको तत्कालीन विद्रोही समूहको समानान्तर कमिटीको स्थायी र केन्द्रीय कमिटीको सामुहिक निर्णय थियो ।

त्यसक्रममा जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ भन्ने सबैको साझा निश्कर्ष थियो । त्यही निष्कर्षका आधारमा जब ओलीलाई हटाउन खोजियो, त्यसमा कतिपय कमरेडहरुले आफ्नो बेग्लै मान्यता राख्न खोज्नुभयो । बेग्लै किसिमको सोच रह्यो ।

विचारमा भिन्नता हुने कुरा स्वभाविक हो । भिन्नता भए पनि एउटा निर्णय गरिसकेपछि पछि हट्ने कुरा आउँदैन । निर्णय सोचेर गर्ने हो, निर्णय गरेपछि पालना गर्ने हो । निर्णयप्रति इमान्दार पनि हुने हो । हामी इमान्दार बन्यौँ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई अघि सारेपछि संसदमा बहुमत जुटाउने काममा भूमिका खेल्यौं ।

देउवाको नेतृत्वमा सरकार बनेपछि पनि विभिन्न चरणहरुमा यसलाई असफल पार्ने कोशिसहरु भए । यसअघि कहिले सांसद जुटाउने त कहिले राष्ट्रपतिकोमा हस्ताक्षर जाने कुरामा समस्या खडा गरियो । कहिले सर्वोच्च अदालतमा जाने कुरामा समस्या खडा गरियो । तर पनि एउटा पंक्ति दृढताका साथ उभिइ नै रह्यो, अहिलेसम्म पनि उभिइरहेको छ ।

अहिले एउटा अध्यादेश आयो । अध्यादेशमा पार्टी विभाजनका लागि मापदण्डहरु बनेपछि, केपी ओलीले एकलौटी पार्टी कब्जा गर्ने स्थिति आइसकेपछि, ढोका बन्द भइसकेपछि, त्यसमा पनि १४ जना सांसदहरुलाई कारवाही र निस्कासन गरेपछि त्यो (एमाले) पार्टीको ढोका हाम्रा लागि बन्द भयो ।

पार्टीको ढोका बन्द र निश्कासनपछि हाम्रो सामु अरु कुनै विकल्प बाँकी रहेन । निस्काशित भैसकेपछि कि हामीले घुँडा टेकेर चुप लागेर बस्नुपर्थ्यो, कि अर्को क्रान्तिकारी पार्टी निर्माण गर्नुपथ्र्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा विद्रोहीले नै सफलता हसिल गरेको विगतको इतिहास छ । दक्षिणपन्थीहरुको पराजय हुँदै गएको इतिहासलाई साक्षी राखेर नयाँ कदम चाल्ने काम गरेका छौं र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बनाएका छौं । यस्ता घट्नाक्रमले केपी ओली इमान्दार हुनुहुन्न भन्ने देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने बेलामा उहाँको पक्षमा भोट खसाल्ने वा केपी ओलीको पक्षमा नगएर तटस्थ बस्ने सबै साथीहरुलाई आभार छ । यसक्रममा वार्तामा रहेर भूमिका खेल्ने वा नरहेर भुमिका खेल्ने कमरेडहरु हामी सबै मिलेर एकतावद्ध भएर जाने कोसिसमा छौं ।

अब केपीको कित्ता एकतिर भएको छ, अर्को क्रान्तिकारी कित्ता अर्कोतिर भएर कम्युनिस्ट पार्टी पुनर्गठनको नयाँ अभियान सुरु भएको छ । पुनर्गठित कम्युनिस्ट पार्टीले अब अरु वामपन्थी पार्टीहरुसँग भोलि चुनावी तालमेल पनि गर्नेछ । लोकतन्त्रको रक्षा, संविधान, राष्ट्रियता र संघीयताको रक्षाका लागि, परिवर्तनको संवाहक समाजवादमा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्दै सुशासनको प्रत्याभूति दिनका लागि, जनताका पीरमर्का बुझ्ने काम गर्नेछ ।

हामी जनताको बहुदलीय जनवादको मान्यताका आधारमा अघि बढ्छौँ । बैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढ्ने, समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने सोच र धारणाका साथ हामी आएका छौं ।

त्यतिमात्रै होइन, कम्युनिस्ट पार्टीमा देखा परेका प्रत्येक विकृति र विसंगतिसँग जुध्दै, पार्टीको क्रान्तिकारीकरण गर्दै, समाजमा भएका सबै किसिमका बेथिति र विसंगतिहरुलाई उन्मूलन गर्ने पवित्र भावना बोकेर अघि बढेका छौं । त्यसकारण, यो कुनै पदको लडाईँ होइन । पद र निजी झगडा, अहंको लडाईँ पनि होइन । विचार, सिद्धान्त, मूल्य र मान्यताको लडाइँको भूमिकामा उभिएको र यसमा सफल हुन्छौं भन्ने विश्वास जाहेर गर्न चाहान्छु ।

अब पत्रकारहरुको प्रश्न र माधव नेपालको जवाफ :

विगतमा पार्टीमा अन्तरसंघर्ष हुँदा जो तपाईसँगै थिए । तर, अहिले एमाले अध्यक्ष ओलीसँग गएका छन् । उनीहरुलाई एकीकृत समाजवादीमा ल्याउने प्रयास गर्नुहुन्छ वा उनीहरुसँगको च्याप्टर पनि क्लोज भैसक्यो ?

हामी सिंगो देश र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउँछौं । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भएपछि पार्टीमा विचार मिल्नेहरुको पनि एकता हुन्छ । विचार, सोच र धारणाहरु मनहरु मिलेपछि एकता हुन्छ ।

हामीले एकताको च्याप्टर पनि क्लोज गरेका छैनौं । सिंगै देशलाई एकतावद्ध गराउने, कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउने हो । विचार र सोचहरु मिलिसकेपछि पार्टी पनि एकतावद्ध हुन्छ । यी सबै मिलेपछि न एकता हुने हो । समयक्रममा हामीले एकता गर्दै आएका छौं । यस्ता दर्जनौं समूहलाई एकता गराउँदै आएका छौं । यो क्रम चलिरहन्छ । भोलि पनि कम्युनिष्ट पार्टीलाई एकतावद्ध गराउने हो । स्वयंम् केपी ओलीको पनि विचार र धारणामा परिवर्तन भयो भने ढोका सधैं खुला छ ।

हामीले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति तयार हुन्छौं । तर, यो गठन गर्नै नदिएर हामीलाई अलपत्र पार्ने षड्यन्त्र भइरहेको छ । हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ । न यता जान दिने, न उता जान दिने । न केपी ओलीको गतिविधिलाई रोक्ने । केही पनि नगर्ने । यो मौका समाप्त गरिदिने । अनि, हामीलाई सबैखाले आन्दोलनबाट बञ्चित गराउने षड्यन्त्रलाई हामी चिर्छाैं । कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने हाम्रो यो अभियान जारी रहनेछ ।

अष्टलक्ष्मीको कुरो के हो ?

अष्टलक्ष्मी कमरेडका बारेमा ( बागमतीको मुख्यमन्त्री बन्दा) उहाँले मेरो सल्लाह लिनुभएको हो । सहमति लिनुभएकै हो । तर, उहाँ पनि अप्ठ्यारोमा पर्नुहुन्छ । जब पार्टी अलग बनिसकेपछि एउटा पार्टी रोज्नुपर्ने अवस्था हुन्छ, त्यतिबेला उहाँमा भर पर्ने कुरा हो ।

नयाँ पार्टी बनिसकेपछि २१ दिनभित्र कुन पार्टी रोज्ने भनेर प्रदेशसभाका सदस्यहरुको हकमा र स्थानीय तहका प्रतिनिधिहरुको हकमा पनि २१ दिन हुन्छ । त्यो समयमा उहाँले कता रोज्नुहुन्छ, त्यो आधारमा यो सरकारलाई कसरी हेर्ने भन्ने तय हुनेछ । अहिले मेरो अनुमतिबाटै पनि उहाँ जानुभएको हो ।

वार्ता टोली (कार्यदल) का सदस्यसहित ९ जना केपी ओलीतिरै जाने भन्नुभएको छ । यसमा तपाईको धारणा के छ ? उहाँहरु जसरी नै तपाईहरुको पक्ष छाडेर अरु पनि संस्थापनतिर लाग्नुहुन्छ कि भनेर तपाईहरुले यो आवासीय शिविर चलाइराख्नुभएको छ भन्ने एकथरीको टिप्पणी छ नि ?

कुनै ठाउँमा बस्नु र बैठक बोलाउनु पनि बन्द शिविर हो ? पार्टीको स्थायी कमिटीको बैठक पनि कोठाभित्र, हलभित्रै गर्नुपर्छ । केन्द्रीय कमिटीको बैठक पनि त्यहीँ गर्नुपर्छ होला । राष्ट्रिय भेला पनि हलभित्रै गर्नुपर्छ होला । त्यसो भए राष्ट्रिय कार्यकर्ता भेलामा कार्की ब्याङ्क्वेटमा सबैलाई बन्दी बनाइयो भने भइहाल्यो नि । त्यसैले ठण्डा दिमागले छलफल गर्ने, १० वटा कामहरुमा मानिस अल्मलिने स्थिति नबन्ने भनेर यस्तो शान्त र राम्रो वातावरणमा छलफल गर्ने भनेर यो ठाउँ हामीले चयन ग¥यौं ।

पार्टीमा विद्रोह गरिरहेका तपाईका सहयात्रीहरु (तेस्रोधार) नै उता लाग्नुलाई के भन्नुहुन्छ ?

यसबारेमा साथीहरु पक्कै पनि आउनुहोला भन्ने विश्वास छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), पार्टीको नाम यति जटिल किन राखेको ? अर्को कुरा, बाबुराम भट्टराईले अब कम्युनिष्ट पार्टी चलाउन सम्भव छैन, समाजवादी केन्द्र चलाउने हो भन्नुभएको छ । त्यसैको सुरुवात हो यो ? अर्को, समाजवादी केन्द्र बनाउने र त्यसको अध्यक्ष माधव नेपाललाई बनाउने, त्यही लोभमा माधव नेपालले पार्टी फुटाउँदै हुनुहुन्छ भनिएको छ नि ? भोलि प्रचण्डले खेलाएर माधव नेपाललाई पनि सकिदिन्छन् भन्ने टिप्पणी पनि छ, यसमा के भन्नुहुन्छ ?

दुनियाँको कुरा सुन्न थाल्यो भने त पागल नै भइन्छ । तपाईले सोचेको विचार ठीक छ कि छैन, अंगालेको सिद्धान्त र उद्देश्य ठीक छ कि छैन भन्ने मुख्य हो । तपाईले कम्युनिष्ट पार्टी त्याग्ने कल्पना पनि नगर्नुस् । यदि कम्युनिष्ट पार्टीलाई कसैले त्यागेको छ भने त्यस्तासँग एकता सम्भव छैन, यो स्पष्ट छ । कम्युनिष्ट पार्टी नबनाउँ, अर्को संस्था बनाउँ भनेर ०४६ सालमा यो पार्टीमा विचार आएको थियो । त्यसलाई हामीले अस्वीकार ग¥यौं । कम्युनिष्ट पार्टीको नाम नराखौं भनेर पार्टी खुला हुनेबेलामा कुरा आएको थियो । विभिन्न बेलामा केपी ओलीले नै नाम फेरिदिउँ भन्नुभएको थियो, नमान्ने मै हो । बाबुरामजीको विचारसँग त्यसकारण म सहमत छैन ।

प्रचण्डले खेलाउने भन्ने कुरामा, यो देशको सबैभन्दा ठूलो खेलाडी केपी ओली हो । केपी ओलीले खेलाउन नसकेको भनेपछि अरु कसैले खेलाउनु होला भन्ने लाग्दैन । केपी ओली पनि सुध्रिनुस्, उहाँको सद्बुद्धि पलाओस्, मैले त्योभन्दा बढी केही भन्न चाहिनँ । राम्रो बाटोमा सबै अघि बढुन् । सुसंस्कृत र सभ्य बनुन् । कसैलाई अपमान नगरुन्, कसैलाई बेइज्जत नगरुन्, मुखबाट सभ्य बोलुन् । यतिमात्रै भन्छु ।

नामका विषयमा, हामीले पार्टीको नाम राख्न र निर्वाचन आयोगमा वैधानिकता पाउन धेरै गाह्रो छ । देख्नुभएन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्दा अदालतले हुन्न भनिदियो । हामीले कानूनी पक्ष र सबै पक्ष पनि हेर्नुप¥यो । सबै पक्ष हेर्दा यो नाम ठीक हुन्छ भनेर राखेको हो । के राख्नु त ? वातावरणीय जनवाद, सामाजिक जनवाद राख्नु ? तपाई नै भन्नुस् ।

हाम्रो संविधान पनि समाजवाद उन्मुख छ, हाम्रो उद्देश्य पनि समाजवाद स्थापना नै रहेको छ । यो सबै भएको हुनाले पनि एकीकृत समाजवादी राख्दा अरुसँग मिल्दैन भनेर सोच्यौं ।

अध्यादेशमा नयाँ पार्टी दर्ताका लागि सांसद वा केन्द्रीय समितिको २० प्रतिशत हुनुपर्ने भन्ने छ । सनाखत कताबाट पुर्याउनुहुन्छ​ ? केन्द्रीय समितिबाट कि सांसदबाट ?

हामी दुबैतर्फबाट पुर्याउने हो । हाम्रो त सांसदहरुले पनि संख्या पुग्छ । दुईवटामा एउटा भनेको छ, दुवैतर्फ भएपछि त सुनमा सुगन्ध भयो । साभार: रातोपाटी

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 291
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    291
    Shares

प्रतिक्रिया दिनुहोस !