काँग्रेस सभापतिमा दाबी गर्ने नेताहरूको कसको मत कति ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली काँग्रेसको आगामी १४ औँ महाधिवेशनका लागि करिब एक दर्जन नेता सभापतिको दौडमा छन् । सुरुमा सभापतिको दाबी गर्नेहरू धेरै भए पनि मैदानमा उत्रने बेलासम्म यो सङ्ख्या घट्ने अनुमान गरिएको छ । तेह्रौँ महाधिवेशनको उदाहरण हेर्ने हो भने शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासमेत तीनजनाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच प्रतिस्पर्धा हुँदा देउवाले फराकिलो मतान्तरले जितेका थिए ।

आगामी चौधौँ महाधिवेशनमा जति जना सभापतिमा उठे पनि पहिलो चरणमा हारजित नहुने र दोस्रो चरणमा दुईजनाबीच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको नेताहरूको अनुमान छ । तर, अन्तिम प्रतिस्पर्धामा उत्रने दुई उम्मेदवारहरू को–को बन्नेछन् भनेर अहिले नै विश्लेषण गर्न सकिने अवस्था छैन । किनभने, अहिलेसम्म देउवा पक्ष र रामचन्द्र पक्ष कसैले पनि साझा उम्मेदवारहरू तय गर्न नसकेका छैनन् ।

अहिलेसम्म संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले १४ औँ महाधिवेशनमा सभापतिको दाबेदारी प्रस्तुत गरेका छन् । यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला, सुजाता कोइराला, रामशरण महत र कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् ।

तेह्रौँ महाधिवेशनमा सभापतिका तीनजना उम्मेदवारलाई खसेको मत र बदर मत जोड्दा कुल मत ३१४३ खसेको देखिन्छ । चौधौँ महाधिवेशनमा भने मतदाताको सङ्ख्या केही बढ्न सक्ने काँग्रेस नेताहरूले विश्लेषण गरेका छन् । महाधिवेशन प्रतिनिधि अर्थात् मतदाताहरूको सङ्ख्या जति हुन्छ, सभापतिमा विजयी हुन त्यसको ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ ।nअब, चौधौँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका नेताहरूले तेह्रौँ महाधिवेशनमा विभिन्न पदमा चुनाव लड्दा कति मत पाएका थिए भन्नेबारे विश्लेषण गरौँ –

१३ औँ महाधिवेशनमा कसले कति मत पाए ?

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा ३ हजार १ सय ४८ जना प्रतिनिधिले सहभागिता जनाएका थिए । उक्त मत तीन भागमा विभाजित भएको थियो । तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच मुख्य नेतृत्वका लागि चुनावी भिडन्त भएको थियो ।

पहिलो राउण्डमा देउवाले १ हजार ५६४ मत ल्याएका थिए । पौडेलले १ हजार १५४ मत पाएका थिए भने सिटौलाले ३२४ मत पाएका थिए  । १०१ मत बदर भएको थियो ।

त्रिपक्षीय भिडन्तमा कसैको पनि बहुमत (५० प्लस एक) नपुगेपछि दोस्रो चरणमा चुनाव भएको थियो । काँग्रेसको विधानअनुसार सभापति हुन बहुमत (५० प्लस एक) आवश्यक पर्छ । यसअनुसार  सभापति जित्न १ हजार ५७५ मत चाहिन्थ्यो । तर, सबैभन्दा बढी मत प्राप्त गरेका देउवालाई ११ पुगेन । दोस्रो चरणमा सिटौला उम्मेदवारको रिङबाट आउट भए र देउवा भर्सेस पौडेलबीच प्रतिस्पर्धा भयो ।

दोस्रो चरणमा देउवाले १८ सय २२ मत ल्याए भने पौडेलले १२ सय ९६ मत पाए । दोस्रो चरणमा देउवाले २५८ मत बटुल्दा पौडेलले १४२ मत थपेका थिए । देउवाले पौडेललाई ५ सय २६ मतान्तर हराउँदै काँग्रेस सभापतिमा बाजी मारे ।

आगामी महाधिवेशनमा सभापतिको दाबी गर्नेहरू मध्ये १२ औँ महाधिवेशनका निर्वाचित महामन्त्री प्रकाशमान सिंहले १३ औँमा खुला केन्द्रीय सदस्यको तेस्रो नम्बरमा मत प्राप्त गरेका थिए । सिंहले १ हजार ७९५ मत हासिल गरेका थिए ।

१२ औँमा सिंहसँग महामन्त्रीमा पराजित विमलेन्द्र निधिले १३ औँमा खुला केन्द्रीय सदस्यको १० औँ नम्बरमा मत प्राप्त गरेका थिए । निधिले १६ सय ७७ मत पाएका थिए । पूर्व उपसभापति गोपालमान श्रेष्ठले १३ औँमा खुला केन्द्रीय सदस्यमा १ हजार ४९९ मत पाएका थिए ।

१४ औँ महाधिवेशनमा सभापतिका दाबेदार शेखर कोइराला १३ औँमा खुला केन्द्रीय सदस्यमा ९० जना प्रतिस्पर्धीलाई पछि पार्दै एक नम्बरमा विजयी भएका थिए । उनले १३ औँ महाधिवेशनका सबै प्रतिस्पर्धीलाई उछिनेर १८ सय ४८ मत ल्याएका थिए ।

१३ औँमा महामन्त्रीमा उम्मेदारी दिएका शशांक यतिबेला सभापतिको बलियो दाबेदारका रूपमा देखिएका छन् । १३ औँमा महामन्त्रीमा निर्वाचित शशांकले १४ सय १७ मत पाएका थिए । पौडेल समूहबाट उम्मेदवार भएका उनी निर्वाचित हुँदा देउवा प्यानलका अर्नुनरसिंह केसी र सिटौला समूहका गगन थापा पराजित भएका थिए । शशांकबाट केसीले १ हजार १७  र गगन थापाले ५ सय ८४ मत खोसेका थिए ।

सुजाता कोइरालाले भने १३ औँ महाधिवेशनमा १२ औँमा पाएको मतसमेत जोगाउन नसकेको देखिन्थ्यो । १२ औँ खुला केन्द्रीय सदस्यको छैटौँ नम्बर कायम गरेकी उनी १३ औँमा १७ औँ नम्बरमा पुगेकी थिइन् । उनले १ हजार ६१९ मत ल्याएकी थिइन् । यस्तै रामशरण महतले १६११ मत पाएका थिए  ।

सभापतिका अर्का दाबेदार कल्याण गुरुङ भने जनजातिको आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । आदिबासी जनजाति कोटाबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । जसमा गुरुङले तेस्रो मत प्राप्त गरेका थिए ।  चीनकाजी श्रेष्ठले ९४७, बहादुर लामाले ७६७ र गुरुङले ७३४ मत ल्याएका थिए ।

दुवै गुटमा प्रतिस्पर्धी अनिश्चित

१४ औँ महाधिवेशनमा सभापतिमा दोहोरिने घोषणा गरेका वर्तमान सभापति शेरबहादुर देउवालाई आफ्नै समूहका विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले चुनौती दिएको अवस्था छ । निधिले भदौ १० गते १४ औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोलिसकेका छन् । उनले सभापतिको उम्मेदवारबाट ब्याक नहुने सन्देश दिएका छन् । यस्तै श्रेष्ठले पनि बुधबार गृहजिल्ला स्याङ्जाबाट उम्मेदवारी घोषणा गरेका छन् ।

देउवाले निधि र श्रेष्ठको दाबेदारीलाई चुनौतीका रूपमा नलेखिएको देखिन्छ । देउवाले उनीहरूसँग संवादसमेत गर्न रुचि देखाएको पाइँदैन । सभापतिमा दाबेदारी दोहोर्‍याएका सिटौला भने वडा अधिवेशनअघि रिजर्भ बसेको पाइएको छ ।

अर्कोतर्फ, आफ्नो समूहबाट सभापतिमा आकाङ्क्षी देखिएका चार जनालाई दायाँ–बायाँ राखेर पौडेलले साझा उम्मेदवार तय गर्ने घोषणा गरेका छन् । वडा अधिवेशनको पूर्व सन्ध्यामा बिहीबार पौडेल समूहले गुटगत एकता सन्देश दिन खोजेको देखिन्थ्यो ।

पौडेल समूहले एउटै उम्मेदवारी तय नगरे आफू पनि सभापतिमा लड्ने पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र रामशरण महतको रणनीति छ । अहिलेसम्म पौडेल समूहमा विशेष गरी रामचन्द्र, शशांक, प्रकाशमान, शेखर र कल्याणको दाबेदारी छ । गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि पौडेल समूहले सभापतिमा एउटा उम्मेदवार उठाउने बिहीबार घोषणा गरेको छ ।

शुरु भयो महाधिवेशनको प्रक्रिया

शुक्रबारदेखि देशैभरि वडा अधिवेशनहरु सुरु भएसँगै काँग्रेस १४ औँ महाधिवेशनमा औपचारिकरुपमा प्रवेश गरेको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छ । १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडामा १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०/१० जना बढ्दै अधिकतम ७५ प्रतिनिधि चयन हुने व्यवस्था छ ।

यसरी निर्वाचित हुने प्रतिनिधिले त्यसपछि हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । ती महाधिवेशन प्रतिनिधि नै केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । उनीहरूले १३ जना पदाधिकारीसहित १३६ जना केन्द्रीय सदस्य चयन गर्छन् ।

नयाँ विधान अनुसार १६९ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ । केन्द्रीय सदस्य मध्येबाट कोषाध्यक्ष र प्रवक्त पनि पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

काँग्रेसमा क्रियाशील सदस्यतादेखि महाधिवेशन प्रतिनिधिसम्म क्याल्कुलेसन हुने गरेको पाइन्छ । १४ औँ एउटा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना सोझै महाधिवेशन प्रतिनिधि आउने पक्का छ । केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन हुने व्यवस्था छ । यस्तै सङ्घीय सांसद र प्रदेश सांसद तथा उम्मेदवार पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने काँग्रेसको विधानमा उल्लेख छ ।

विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व रहन्छ । यो सबै गर्दा १४ औँ महाधिवेशनमा ५ हजार प्रतिनिधि मतदाताका रूपमा आउने अवस्था देखिन्छ । त्यसमा आफ्नो बलियो उपस्थितिका लागि सभापतिका दाबेदारले रणनीति बुनिरहेको पाइन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 367
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    367
    Shares

प्रतिक्रिया दिनुहोस !