CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । नेकपा एमाले विभाजन भइ गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीमा नेताहरु तथा सांसदहरुले समर्थन जनाउने क्रम बढ्दै गइरहेको छ ।
आइतवार मात्रै नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।
उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, त्यसैले पार्टीको बैठकमा सामेल भएका हौं तर अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्बन्ध रहेन ।’
यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ ।
क्यान्सर उपचारका क्रममा दिल्लीमा रहेका डिल्ली उप्रेतीको पनि आइतबार साँझसम्म सनाखत भइसक्ने जनाइएको छ । दिल्लीस्थित नेपाली दूतावासको रोहवरमा उप्रेतीको सनाखत गरेर निर्वाचन आयोगलाई पत्र पठाउने तयारी भइरहेको बताइएको छ ।
नेकपा (एस)ले नेताहरुलाई तोक्यो जिम्मेवारी, कुन नेतालाई कुन पद दिइयो ?- काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ ।
राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो । नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानी)मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् ।
साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
सुदूरपश्चिमबाहेकका प्रदेश इञ्चार्ज तोकियो
प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने चयन भएका छन् । यसैगरी गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।
उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।
खनालको नेतृत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति
पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिका सदस्यहरुमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमारी झाँक्री र गणेश विक छन् ।
यही समितिलाई निर्वाचन आयोगमा पेस गरिएका दस्तावेजहरु परिमार्जनको जिम्मा पनि दिइएको छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।