ओली भन्छन काँग्रेसले गर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिए

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् ।

युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियानअन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप लगाए । ‘कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ । ठेक्का कांग्रेसको भागमा पर्‍यो, काम नगरिदने, मान्छे मारिदिने’, ओलीले भने ।

दार्चुलामा तुइनबाट खसेर व्यास गाउँपालिकाका जयसिंह धामी महिना दिनअघिदेखि बेपत्ता छन् । उनी खसेको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागे पनि काम भने अघि बढेको छैन ।

‘अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?’- ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि पदीय नैतिकताको प्रश्न उठाएका छन् । माधव नेपालसहित १४ जना सांसदको कारवाही सिफारिस रोकेको विषयमा अध्यक्ष ओलीले युवा संघको भेलामा सभामुखमाथि आक्रोश पोखेका हुन् ।

उनले कारवाहीको सूचना भित्तामा टाँस्ने कर्तव्य पूरा नगरेर सभामुखले जालझेल र फटाइँ गरेको आरोप लगाए ।’सभामुख हो कि कुनै पार्टीको कार्यकर्ताको हो ? कि गठबन्धनको मतियार हो ? कि एमालेविरुद्ध काम गर्ने मोहरा हो ? के हो तपाईं ?’, ओलीले प्रश्न गरे ।प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रको भागिदार, अंग भएर निष्पक्ष सभामुखको भूमिका निर्वाह नभएको र त्यही भएर सभामुखबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो ।ओलीले फेरि प्रश्न गरे, ‘अग्निप्रसाद सापकोटा सभामुख हो कि एमालेविरुद्धको प्यादा ?’

उनले पुनर्स्थापनापछि संसद सुरु हुँदा यो अधिनायकको पराजय हो भनेर सभामुखबाट राजनीतिक लान्छना लगाएको भन्दै असन्तुष्टि जनाए । ‘कुनै मूल्य, नैतिकता छैन । कस्तो मान्छे सभामुख भएछ ? यत्रो व्यवस्था लडिएर ल्याएछ । हेर्नुस् त कस्ताकस्ता मान्छे छन् टुप्पोमा ? यो परिस्थितिमा परिवर्तन ल्याउन युवाले भूमिका खेल्नुपर्छ’, उनले भने ।

रामकुमारी झाँक्रीलाई प्रश्न : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ? –ओलीले नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीलाई जवाफ फर्काएका छन् । प्रतिनिधिसभा विघटनपछि प्रदर्शनमार्गमा आयोजित तत्कालीन नेकपाको दाहाल-नेपाल समूहको आमसभामा बोल्न पाइन्छ भन्दै फिल्मी शैलीमा स्टिकर फुकालेको प्रसंगमा ओलीले साेमबार झाँक्रीलाई जवाफ फर्काएका हुन् ।झाँक्रीले राष्ट्रपति र प्रधानमन्त्री (ओली) विरुद्ध जथाभावी बोलेको भन्दै तत्कालीन सरकारले गिरफ्तार गर्ने चर्चाकाबीच झाँक्रीले प्रदर्शनीमार्गमा बोल्न पाइन्छ भनेर प्रदर्शन गरेकी थिइन् ।

अहिले उनै झाँक्रीको दल नेकपा (एकीकृत समाजवादी) सम्मिलित सरकारले छिमेकी देशका राष्ट्रप्रमुखविरुद्ध विरोध प्रदर्शन नगर्न र पुत्ला दहन नगर्न आग्रह गरेका बेला ओलीले झाँक्रीलाई प्रश्नसहित जवाफ दिएका हुन् ।‘आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकाेबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ,’ ओलीले भने ।

ओलीले त्यति बेला झाँक्रीले अश्लील, छाडा बोलेको भन्दै आक्रोश पोखे । ‘आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् ? ति दल, ति दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् ? हिजो त जसलाई जे पनि गाली गरेको छ ।

माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ । अहिले कहाँ छन् ?’ ओलीले प्रश्न गरे, ‘हिजो अधिनायकवाद र निरशंकुता भो रे । अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार