झलनाथ खनालको क्षेत्रमा कतिले गरे नेकपा एसमा प्रवेश ? कस्तो छ अवस्था ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको निर्वाचन क्षेत्रका ५६ जनप्रतिनिधिले एकीकृत समाजवादी पक्षमा सनाखत गरेका छन्।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईसहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।उनीहरूले आज जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर हस्ताक्षर गरेका हुन्।

सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित एक जना वडाध्यक्ष र उपप्रमुख बाहेकका ४३ जनाले समाजवादीमा रहने गरी सनाखत गरेका छन्। देउमाई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू, इलाम नगरपालिका, माङसेबुङ गाउँपालिकाको सदस्यले समेत सनाखत गरेको युवा संघका उपमहासचिव सन्दीप राईले जानकारी दिए।

सनाखत गर्नेहरूको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए। प्रदेश सांसद खिनु लङ्वाले एकीकृत समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छन्।

सुदूरपश्चिममा भीम रावल होइन माधव नेपाल बलिया!

जेठ २५ गते सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेभित्र अन्तरसंघर्ष चुलिएको थियो। केन्द्रको दबाबलाई बेवास्ता गर्दै एमालेका १७ सांसदले माओवादी केन्द्रका भट्टलाई विश्वासको मत दिए।सभामुखसहित २५ जना सांसद रहेको एमालेका बहुसख्यक सांसदले मत दिएकै कारण भट्टको सत्ता टिकेको हो।

५२ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका १३ सांसद छन्। भट्टले विश्वासको मत पाउनुको पछाडि एमाले उपाध्यक्ष भीम रावलको साथ रहेको अनुमान गरिएको थियो। किनकी त्यो समयमा रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर विरोधी थिए। अछामका रावलको सुदूरपश्चिमको एमाले राजनीतिमा बलियो पकड रहेकाले उनैको साथमा प्रदेश सभाका सांसदले अध्यक्ष ओलीको निर्देशन लत्याइदिएको धेरैको अनुमान थियो।

एमालेको अन्तरसंघर्ष चर्किँदै गएर पार्टी विभाजन भएको छ। माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी)पार्टी गठन गरेका छन्। नेपालले पार्टी विभाजन गर्दा रावलले उनलाई साथ दिएनन्। उनी अहिले ओलीसँग निकट छन्। ओलीको पक्षमा रावल लागेसँगै सुदूरपश्चिमको राजनीतिमा पनि फेरबदल आउने अनुमान गरिएको थियो।

तर हिजो रावललाई साथ दिएका भनिएका एमालेका अधिकांश प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। रावलको पक्षमा रहेका भनिएका १७ सांसदमध्ये १४ जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन्। ३ जना सांसदमात्रै रावलझैं एमालेमा बसेका छन्।

जेठ २५ यता रावल बदलिए तर रावललाई साथ दिएका सांसद बदलिएनन्। रावलले ओली रोजे पनि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा पार्टी ठूलो बनेको छ। कुनै बेला संसदमा झन्डै बहुमतमा रहेको एमाले अब सभामुखसहित ११ सांसदमा खुम्चिएको छ।

ओली र नेपालबीच अन्तरसंघर्ष हुँदा सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षको बोलवाला हुनुमा रावलको प्रभाव रहेको मानिएको थियो। रावलकै कारण माधव नेपाल बलियो भएको अनुमान थियो। सुदूरपश्चिममा रावलका कारण माधव नेपाल नभई नेपालका कारण रावल बलियो बनेको घटनाक्रमले पुष्टि गरेको छ। सुदूरपश्चिमलाई हेर्ने काठमाडौंको आँखा गलत भएकाले यस्तो भ्रम भएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य गरिमा शाहको भनाइ छ।

‘सदुरपश्चिममा भीम रावलबाहेक पार्टीमा अरू व्यक्ति छैनन् भन्ने काठमाडौंलाई परेको थियो। पार्टीले एउटै व्यक्तिलाई बलियो र शक्तिशाली बनाउँदा पनि यस्तो भएको हो,’ उनले भनिन्,’पार्टीले एउटै व्यक्तिलाई सोध्ने र त्यसकै आधारमा निर्णय गर्दा धेरै व्यक्ति आजित भएका थिए। एकसेएक क्षमता भएका थिए तर बाहिर एक्स्पोज हुन पाएका थिएनन्। घटनाक्रमले कसको शक्ति कति छ भनेर देखाइदियो।’

पार्टीभित्रको अन्तरसंघर्षमा वैचारिक र सैद्धान्तिक आधारमा लागेको भन्दै उनले कुनै व्यक्ति हेरेर नलागिएको बताइन्। आफूहरू एउटा निश्चित नेताको लागि भन्दा पनि विचार र मुद्दाको लागि लडेको शाहले बताइन्।

‘जब माथिका नेताहरू मुद्दा र विचारभन्दा निहित स्वार्थमा लागे। हामी यो उमेरका भयौं अब कहिले संघर्ष गर्ने भन्न थालेपछि हामीले विद्रोह गरेको हो,’ उनले भनिन्,’यो विद्रोहले सुदूरपश्चिममा पार्टी बनाउने ठूलो पंक्ति छ भन्नेसमेत देखाएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार