संसदभित्रै सभामुखलाई ‘मुर्दावाद’ कसले भन्यो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाविरुद्ध चर्को नाराबाजी भयो। मुर्दावादसम्मको नारा लाग्यो। र, त्यो नारा लगाउने सांसद कुनै आलाकाँचा थिएनन्, उनी थिए– गृहमन्त्रीसमेत भइसकेका व्यक्ति खगराज अधिकारी।

उनी सभामुख अग्नि सापकोटाप्रति कति आक्रोशित रहेछन् भन्ने कुरा संसद् भवनभित्र उनले लगाएको नाराबाट प्रस्ट हुन्थ्यो। सरकारले एमाले र जनता समाजवादी पार्टी विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याएको २३ दिनपछि बुधबार प्रतिनिधि सभाको बैठक बसेको थियो। अपराह्न ४ बजे बसेको बैठक सुरु हुनासाथ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना केही कुरा राखे।

शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति रुष्ट एमालेका सांसदले भट्टराईको सम्बोधनलगत्तै रोस्टम घेर्दै नाराबाजी गर्न थाले। त्यही क्रममा हो– खगराज अधिकारीले सभामुख सापकोटाविरुद्ध चर्का नारा लगाएका। एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै आफूविरुद्ध मुर्दावादको नारा लागेपछि सभामुख सपकोटाले विपक्षी दलले उठाएको विषयमा संसद्‌मा छलफल हुन नसक्ने जानकारी गराउँदै संसदीय मर्यादाभन्दा बाहिर नजान निर्देशन दिए।

एमाले विभाजनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस्तो विषयमा संसदमा छलफल गर्न संविधानले बन्देज लगाएको उनको भनाइ थियो। ‘देशमा संविधान छ, कानुन छ र संसद्‌ छ,’ सभामुख सापकोटाले आक्रोशित हुँदै भने, ‘त्यसको बाहिर नजानु होला।’

सभामुखले संसदको नियमवलीको ख र ग तर्फ आकर्षित हुने बताए। प्रतिनिधि सभा नियमावली २०७२ को नियम २१ को उपनियम ख र ग पालन गर्नुपर्नेमा ध्यानाकर्षण गराए। जसमा प्रतिनिध सभा बैठकमा हुने छलफलका पालना गर्नुपर्ने नियम छ।

उपनियम (ख) मा सभामुखको पदअनुकूल आचारण गरेको छैन भने प्रस्तावको छलफलका क्रममा बाहेक अवस्थामा सभामुखको आचरणको आलोचना गर्न नहुने र (ग) सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने उल्लेख छ।

एमालेको अवरोधले तीनपटक बस्दै रोकिँदै स्थगन भएको प्रतिनिधि सभाको बैठक अब भोलि बिहीबार फेरि बस्नेछ। अधिकारी संसदीय राजनीतिमा निकै खारिएका मानिन्छन्। २०४८ सालदेखि पटकपटक सांसद भएका उनले आज संसदमा देखाएको व्यवहार सम्झिन लायक नभएको नेताहरूले टिप्पणी गरेका छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 261
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    261
    Shares

प्रतिक्रिया दिनुहोस !