CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं, भदौ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे ।
तर, सभामुख सापकोटाले जवाफमा भने, ‘आज म सिंहदरबार आउँदिनँ, उतै बैठकमा आउनुहोला, त्यहीँ छलफल गरौँला ।’ त्यसपछि सभामुख सापकोटा र एमाले प्रमुख सचेतक भट्टराईबीच टेलिफोन संवादमा थप कुराकानी भयो । सभामुख सापकोटाले सिंहदरबार नै नआउने जनाएपछि फेरि भट्टराईले थप कुरा प्रस्ट हुन टेलिफोनबाटै सोधे, ‘कतिवटा दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको छ ?’ सभामुख सापकोटाले भने, ‘संसदमा रहेका सबै १० दललाई बैठकमा बोलाएको छु ।’
‘नेकपा एकीकृत समाजवादी पनि बैठकमा आउँछन् ?’ भट्टराईको प्रश्न थियो । ‘उहाँहरूसहित १० दल बैठकमा आउने हो, तपाईहरू पनि आउनुहोला ।’ जवाफमा भट्टराईले भने, ‘जुन पार्टी र सांसदको संवैधानिक मान्यतामा प्रश्न उठाएर हामीले निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छौँ, त्यो बैठकमा एमाले कसरी आउन सक्छ ?
जवाफमा सापकोटाले भने, ‘त्यही समस्या समाधान गर्न बैठकमा आउन अनुरोध गरिएको हो, सबैसँग राय लिन बैठक बोलाइएको हो ।’
भट्टराईले अगाडि भने, ‘जुन पार्टी र उनका सांसदको पदमाथि संवैधानिक प्रश्न उठाएर एमालेले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेको छ, त्यो पार्टी उपस्थित बैठकमा कसरी एमाले आउन सक्छ ? उहाँहरू पनि उपस्थित हुने भए एमाले बैठकमा आउँदैन ।’
भट्टराईले बैठकमा एमालेको उपस्थिति नहुने जनाएपछि सभामुख सापकोटाले फेरि भने, ‘निर्वाचन आयोगले मान्यता दिएको पार्टीलाई बैठकमा त बोलाउनु नै पर्छ, त्यो त मेरो धर्म नै हो ।’
‘निर्वाचन आयोगले मान्यता दिएको होइन, तपाईंले पदीय मर्यादाविपरीत कार्य गरेकाले यो अवस्था आएको हो, त्यसैले एमाले बैठकमा आउनका लागि दुईवटा सर्त छन्- पहिला एमालेले पदमुक्तको सिफारिस गरेको सूचना टाँस गर्नुपर्यो, दोस्रो, पदीय जिम्मेवारीभन्दा बाहिर गएर काम गरेकाले तपाईंले मार्गप्रशस्त गरिदिनुप-यो भन्ने एमाले अडान छ ।’
भट्टराईले सापकोटालाई एमाले धारणा सुनाए पनि उनले भने बैठकमा उपस्थित हुन आग्रह गरिरहे । ‘त्यही सन्देश सुनाउन मैले सिंहदरबारमा भेट गर्न खोजेको थिएँ, तपाई नै सिंहदरबार नआउने भएपछि मैले एमालेको सन्देश यहीँबाट सुनाइदिएँ, अब तपाईं आफै निर्णय गर्नुहोस् ।’ एमालेको टेलिफोन सन्देशपछि सभामुख सापकोटाले कुनै जवाफ दिएनन् र अन्तिममा भने – छलफल गरौंला ।
सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले नेकपा एमाले नआए पनि सर्वदलीय बैठक बस्ने जनाएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई टेलिफोन गरेर एमाले बैठकमा सहभागी नहुने जानकारी गराएका बेला सभामुखको सचिवालयले एमाले नआउँदैमा बैठक नरोकिने स्पष्ट पारेको हो ।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले एमाले उपस्थित नभए पनि बैठक बस्ने जानकारी दिए । ‘उहाँहरु नआए पनि बैठक बस्छ । तर अझै समय छ । कोही आउँछन् होला,’ उनले भने । सभामुखको सचिवालयका एक सदस्यले आफैं सदन सञ्चालन गर्न सभामुखले प्रतिपक्षसँग सम्वाद गरेन भन्ने अनि बोलाएको बैठकमा पनि नआउने भनेर एमालेले जहाँबाट पनि निहुँ खोज्ने काम गरेको गुनासो गरे ।
‘सम्वाद भएन भन्ने सम्वादमा पनि नआउने उल्टो उल्टो कुरा गर्न पाइएन । संसद सञ्चालनका लागि सम्वाद भएन भनेपछि हिजो पनि सम्वाद गरियो । आज सर्वपक्षीय छलफलमा नआउने भनेपछि त्यो भन्दा घोर अप्रजातान्त्रिक केही हुन्छ र ?’ उनले प्रश्न गरे ।
एमालेले निकास नै नचाहेको उनको आरोप छ । ‘उहाँहरुले हिजो पनि त्यहीँ गर्न खोज्नुभयो आज पनि त्यहीँ गर्न खोज्नुभयो भने निकास त दिँदैन । वादविवाद भएपछि सम्वाद गर्नुपर्छ । बैठक बोलाउँदा आउनुहुन्न भने उहाँहरुले निकास चाहनुहुन्न निहुँ खोजिरहनुपर्छ भन्ने देखिन्छ,’ उनले भने ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।