मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, रामकुमारी सहित यी नेता बन्दैछन मन्त्रि

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना नाघिसकेको छ। तर, सरकारमा अहिलेसम्म प्रधानमन्त्रीबाहेक चारजना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन्। सरकारले पूर्णता नपाउँदा सार्वजनिक रुपमा समेत प्रधानमन्त्री देउवा र गठबन्धनको आलोचना चुलिएको छ।

तर, चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवा र गठन्धनका नेताहरुको भाका कैयौं पटक सरेको सर्‍यै छ। त्यसमा अनेक कारण अगाडि सारिएका छन्। गठबन्धनका घटकहरुभित्र मन्त्री बन्ने आकांक्षीको ठूलो संख्या, मन्त्रालय भागवण्डालगायत कुरा छँदैछन्, राजनीतिक दल सम्बन्धी अध्यादेशबाट खुकुलो पारिएको दल विभाजनसम्बन्धी व्यवस्था पनि यसमा जोडिएको छ। अहिले यो विषय सर्वोच्चमा विचाराधीन छ।

गठबन्धनमा सहभागी दलका नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन्। अध्यादेश संसद्‌मा टेबल भएपनि एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले यसको टुंगो लाग्नसकेको छैन।

अध्यादेश यथावत् रहेको अवस्थामा पार्टी फुट्ने जोखिम कायमै हुने भएकाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पहिले अध्यादेश निष्क्रिय पार्न आग्रह गरिरहेका छन्। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अध्यादेश निष्क्रिय पार्न नहुने पक्षमा रहेको गठबन्धनका एक नेता बताउँछन्। यसले गर्दा मन्त्रीका आकांक्षीहरुको पर्खाइ झन् लम्बिएको छ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका सबै (४९) प्रतिनिधि सभा सदस्यहरु मन्त्रीका आकांक्षी बनेको भन्दै सार्वजनिक कार्यक्रममै कटाक्ष गरेका थिए। पछिल्लो समय गठबन्धनका सबै घटकभित्र मन्त्री बन्नेको नाम मोटामोटी टुंगो लागिसकेको नेताहरु बताउँछन्।

‘मन्त्री बन्नेको मोटामोटी टुंगो लागिसकेको छ, मन्त्रालय भागवण्डामा पनि कुनै समस्या छैन, त्यो केहीबेरमै मिल्छ। मुख्य कुरा मन्त्रिपरिषद् विस्तार कहिले गर्ने भन्ने मात्र समस्या हो’, जसपाका एक शीर्ष नेताले भने।

मन्त्रीका आकांक्षीका रुपमा चर्चामा आइरहेका कतिपयले त अग्रिम बधाई खाएको पनि लामो समय हुन लाग्यो। ‘नाम सार्वजनिक भइसक्यो, अब हामी मन्त्री नबन्दै चलखेल भएर अरु नै मन्त्री बनिदेलान् भन्ने तनाव छ’, मन्त्रीका रुपमा चर्चामा आएका एक सांसदले भने, ‘एक रातमै राजनीति उलटफेर हुन्छ, फेरि पनि चर्चा मात्र हुने हो कि भन्ने चिन्ता छ।’

यी हुन् मन्त्रीको पर्खाइमा रहेकाहरू
देउवा नेतृत्वको मन्त्रिपरिषद्‌मा कांग्रेसले प्रधानमन्त्रीबाहेक ६ वटा मन्त्रालय पाउने टुंगो लागेको छ। देउवाले यसअघि नै आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेका छन्। कांग्रेसभित्र आफ्नो समूहबाट अब पुष्पा भुसाल र मीन विश्वकर्मालाई मन्त्री बनाउनुपर्ने दबाब देउवामाथि छ।

तर, पार्टीभित्रको सन्तुलन मिलाउन देउवालाई निकै कठिन छ। संस्थापनइतर पक्षले संस्थापनबाट तीनजना मन्त्री बनिसकेकाले कोटा पुगेको भन्दै दबाब बढाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट दिलेन्द्रप्रसाद बडु मन्त्री बन्ने निश्चित जस्तै छ।

तर, उनको यो पर्खाई कहिलेसम्म लम्बिने हो टुंगो छैन। पौडेलपक्षबाट तेजुलाल चौधरी र मिनेन्द्र रिजालमध्ये थप एकजना मन्त्री बन्नसक्ने पौडेलनिकट कांग्रेसका एक सांसदले बताए। त्यस्तै, कृष्णप्रसाद सिटौलापक्षबाट उमाकान्त चौधरीको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल मन्त्री हुने निश्चित जस्तै भइसकेको माओवादीका एक नेता बताउँछन्। सिनियर नेता सरकारमा जाने भएमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हरिबोल गजुरेल पनि मन्त्री बन्न सक्ने उनले बताए। माओवादीबाट यसअघि नै अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल देउवा मन्त्रिपरिषद्‌मा छन्। यसबाहेक समानुपातिक समावेशी प्रतिनिधित्वलाई ख्याल गरेर सुदन किराती, सन्तकुमार थारु, महेश्वर गहतराज र अमनलाल मोदी पनि मन्त्री बन्न सक्ने माओवादी स्रोतले बतायो।

एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीमा पनि मन्त्रीका आकांक्षी धेरै रहेपनि लगभग नाम तय भइसकेको एक नेताले बताए। ती नेताका अनुसार अन्तिम घडीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर आएकाहरुलाई प्राथमिकता दिइने भएको छ।

एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, गोपाल बम, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खपुङ, रामकुमारी झाँक्री र निरादेवी जैरुमध्ये मन्त्री बन्ने लगभग टुंगो लागेको बताइन्छ।

जसपाबाट पनि मन्त्री बन्नेहरुको नाम मोटामोटी टुंगो लागेको छ। तर, अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरमारमा जाने वा नजाने भन्ने निर्क्योल भइसकेको छैन। उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएमा यादव आफैं सरकारमा जाने तयारीमा छन्। जसपाबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, अमृता अग्रहरी र प्रमोद साहमध्येबाटै मन्त्री हुने लगभग तय भएको एक नेताले बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 182
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    182
    Shares

प्रतिक्रिया दिनुहोस !