को हुन् नेकपा एकीकृत समाजवादीको महासचिव बनेका डा. बेदुराम भुसाल ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । लामो समय एमाले स्कुल विभाग हाँकेका नेता बेदुराम भुसाललाई नवगठित नेकपा एकीकृत समाजवादीले पार्टी महासचिव बनाएको छ ।

संयोग, जनताको बहुदलीय जनवादलाई पार्टीको मार्गदर्शन सिद्धान्तबाट हटाएको एकीकृत समाजवादीले जबजको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका भुसाललाई महासचिव चयन गरेको छ । एमालेको नवौँ महाधिवेशनमा सचिवमा पराजित भुसाल एमाले-माओवादी केन्द्र एकतापछि स्थायी कमिटी सदस्य बनेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका ‘थिङ ट्याङ्क’का रूपमा परिचित भुसाल नयाँ पार्टी गठनलगत्तै राष्ट्रियसभा दलका नेता चयन भएका थिए । १९ वर्षको उमेरमा ८ कक्षा पढ्दै गर्दा जेल परेका भुसालले जेलबाटै २६ वर्षको उमेरमा एसएलसी पास गरे । साढे १२ वर्ष जेल बस्दा उनले एसएलसीदेखि एमएसम्मको पढाइ पूरा गरे । जेलमा पढाइको व्यवस्था थिएन । आफैँ पढेर उनले एमए उत्तीर्ण गरेका हुन् ।

दुई वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममा विद्यावारिधि गरेका छन् । मार्क्सवादको विकास कसरी भयो, प्रयोग कसरी गरिएको छ ? नेपालमा कसरी आइपुग्यो ? जनताको बहुदलीय जनवाद के हो ? नेपाली राजनीतिमा यसको कस्तो प्रभाव छ ? भन्नेमा आफ्नो शोध केन्द्रित रहेको उनी बताउँछन् ।

२०११ साल असार १५ मा अर्घाखाँचीमा जन्मिएका भुसालले १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा लागेका थिए । उनी २०४७ सालमा तत्कालीन मालेको जिल्ला सचिव हुँदै नेतृत्वमा आएका हुन् ।

तत्कालीन माले र मार्क्सवादी एकीकरणपछि बनेको एमालेको केन्द्रीय विभागमा सचिव रहँदै आएका भुसाल नवौँ महाधिवेशनमा सचिवमा पराजित भए पनि पोलिटब्युरो सदस्य चयन भएका थिए ।

२०५८ र २०७६ मा गरी दुई पटक राष्ट्रियसभा सदस्य बनेका उनी २०६३ मा अन्तरिम विधायकसमेत रहेका थिए । मार्क्सवादको अध्येताका रूपमा परिचय बनाएका उनीसँग पाँच वर्ष एमालेको स्कुल विभाग हाँकेको अनुभव छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

प्रतिक्रिया दिनुहोस !