एमालेमा फेरी फुटको संकेत: तेस्रो धारका नेताहरुले ओलीलाई किन दिए बैठक बहिष्कार गर्ने चेतावनी?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति पालना नभएपछि फेरी भाँडभैलो सुरु भएको छ । असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे सहमति पालना गर्ने सहमति अनुरुप एमाले छोडेका माधव कुमार नेपालसँगको सम्बन्ध तोडेका तेस्रो धारका नेताहरुले फेरी बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।एकता प्रस्तावको अक्षरश पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

नेकपा एमालेले शुक्रवार केन्द्रीय समिति बैठक बोलाएको थियो । सो बैठकमा तेस्रो धार भनिएका एमाले नेता झपट रावलले दश बुँदे सहमति किन पालना नभएको भनेर प्रश्न सोधेका थिए ।

शुक्रबारको एमाले बैठकमा तीनवटा दस्तावेजमा समूहगत छलफल गर्न आठवटा समूह बनाइएको छ । तर तेस्रो धारका १० नेता निकटका केन्द्रीय सदस्यहरुले एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट नभएसम्म कुनैपनि बैठकमा सहभागी नहुने बताएका हुन् ।

साथै उनीहरुले तेस्रो धारको नेतृत्व गरेका १० जना नेताहरुलाई पनि बैठकमा सहभागी नहुन दवाव दिइरहेका छन् । झपट रावल, भानुभक्त जोशी लगायतका नेताहरुले यस्तो दवाव दिएपछि तेस्रो धारका नेता घनश्याम भुसालले समेत आफु निकटका नेताहरुले अघि सारेको माग जायज भन्दै त्यसबारे स्पस्ट नभएसम्म बैठकमा सहभागी नहुने आफु निकटका नेताहरुलाई बताएका छन् ।

असन्तुष्ट नेताहरु समूहगत छलफलमा सहभागी नहुने र १० बुँदेको कुरा उठेपछि बैठकस्थल बाहिर उपाध्यक्ष समेत रहेका तेस्रो धारका नेता भीम रावल र ओली निकट मानिएका सचिव प्रदीप ज्ञवालीबीच छलफल भएको छ ।

एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

ओलीले भने– स्थायी कमिटीमा छलफल गरौं: मालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भएको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका जटिलता नेतृत्व तहमा छलफल गरेर टुंग्याइने बताएका छन् ।

शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकमा भीम रावल, झपट रावल लगायत केही सदस्यले १० बुँदे सहमतिअनुसार कतिपय ठाउमा जेठ २ को अवस्थामा फर्केर जिम्मेवारी दिइए पनि कतिपय ठाउँमा अन्याय भएको बताएका थिए । त्यसको जवाफमा ओलीले स्थायी कमिटी बैठकमा छलफल गरेर सहमति कायम गरिने बताएका हुन् ।

‘आवश्यकता अनुसार नेतृत्व तहमा छलफल गरेर कार्यान्वयन सहज गराउने भन्नुभएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । १० बुँदे कार्यान्वयन गरेर जेठ २ कै अवस्थामा फर्केपछि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफूले पाउनु पर्ने भीम रावलको जिकिर छ ।

तर, ओलीले लेखराज भट्ट नै सुदूरपश्चिमको इञ्चार्ज भएको बताएपछि रावलले असन्तुष्टि जनाउँदै आएका छन् । भट्टराईले १० बुँदे सहमति कार्यान्वयन निमेषभरमा नहुने भन्दै कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए ।

‘पार्टी धेरै जटिल मोडबाट एकतामा फर्केको छ, पार्टीमा जटिल विषय थिए भन्ने कुरा लुकाएर लुक्दैन । १० बुँदे सबै ठाउँमा कार्यान्वयन हुँदैछ । पार्टीमा लामो समयदेखि उत्पन्न समस्या एकैपटक समाधान गर्न सकिन्छ भन्ने होइन,’ पत्रकारहरूको एक प्रश्नमा भट्टराईले भने, ‘केही ठाउँमा जटिलता देखिएका छ । तल पार्टीका काम अवरुद्ध भएका छन् । प्रतिनिधित्वका प्रश्न पनि बाँकी छन् । केही असहमति र विमति भए पार्टीभित्र छलफल गरेर निकास खोज्नु पर्छ ।’

असोज १५ देखि शुरू हुने विधान महाधिवेशनको तयारी स्वरूप शुक्रवार शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो १ बजे बस्ने गरी सकिएको भट्टराईले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 340
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    340
    Shares

प्रतिक्रिया दिनुहोस !