CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ — देश कोरोनाले थलिएको थियो । कोरोनाकै कारण संसद् ठप्प भयो । संसदीय समितिका बैठक र राजनीतिक भेटघाट सबै बन्द भए ।

बन्दाबन्दीले काठमाडौं त सुनसान बन्यो तर महामारीले जनताको मनमा कोलाहल मच्चाएको थियो । तेह्रथुमबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ बन्दाबन्दीकै बीच गाउँ पुगे ।

करिब दुई दशकदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका उनी कृषिलाई नै मुल पेसा मान्छन् । ‘म त गाउँघरको मान्छे । खेती किसान गरिरहेको छु, यसो दिन काट्ने मेलो,’ आफूले जोत्दै गरेको फोटो भाइरल भएपछि खापुङले भनेका थिए, ‘सांसद भएर पनि जोतेको भनेर अनौठो मानियो होला । म त किसान नै परेँ । नौलो कुरा भएन, पहिलेदेखि गरिल्याएकै काम हो ।’

स्वच्छ छवि, असल व्यवहार । कसैलाई नदुखाउने र नबिझाउने स्वभाव, साधारण जीवनशैली । त्यही स्वभाव र लगाबले जागिर छाडेर राजनीतिमा लागेका खापुङलाई ५९ वर्षको उमेरमा सिंहदरबार प्रवेश गराएको छ ।

खापुङ शुक्रबार मन्त्रिपरिषद् विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन् । खापुङले आफ्नो जीवनका ८ वर्ष गाउँकै विद्यालयमा शिक्षण गरे । त्यही कारण उनलाई अहिले पनि गाउँलेले ‘भवानी सर’ भनेर बोलाउँछन् ।

शिक्षण छाडेर ०५६ को स्थानीय चुनावमा मोराहाङ गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएका खापुङ राज्यमन्त्रीका रुपमा सिंहदरबार छिरेका हुन् । ०६४ को संविधानसभा निर्वाचनमा पराजित खापुङ ०७० मा तेह्रथुमबाटै निर्वाचित भएका थिए ।

०७४ मा उनी बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्दै तेह्रथुमवासीको जनप्रतिनिधिको रुपमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पछि पार्दै विजयी भएका थिए । खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका थिए । गुरुङले १९ हजार ३ सय १४ मत पाएकी थिइन् ।

बहुदल स्थापनापछि तेह्रथुमबाट निर्वाचित हुनेमध्येबाट राज्यको कार्यकारी पदमा पुग्ने खापुङ एक्ला व्यक्ति हुन् । काठमाडौंले तेह्रथुमतिर हेरेर भन्छ–तेह्रथुम एमालेको गढ हो । बहुदल स्थापनापछि ६ वटा आमचुनाव भए । तेह्रथुमवासीले एमालेका विजय सुब्बालाई २ पटक, एमालेकै सुरेन्द्र फोम्बो र कांग्रेसका तुलसी सुब्बालाई १–१ पटक र एमालेकै भवानी खापुङलाई २ पटक चुनेर पठाए ।

५ पटक चुनाव जित्दा पनि एमालेले तेह्रथुमलाई कार्यकारी भूमिका दिएन । त्यसो त, तेह्रथुमको प्रतिनिधित्व गरेर दर्जनौं व्यक्ति मन्त्री बने । तेह्रथुममै जन्मिएका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहमन्त्री र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नै बने । तर, ०४८ सालपछि तेह्रथुमकै जनताले जिताएका जनप्रतिनिधिमध्ये मुलुकको कार्यकारी भूमिका पाउने खापुङ नै पहिलो व्यक्ति हुन् । यसअघि कांग्रेसबाट समानुपातिकतर्फ निर्वार्चित सांसद सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।

०४८ मा एमालेबाट विजय सुब्बाले चुनाव जितेका थिए । तर, सुब्बा अहिलेसम्म पनि मन्त्री बन्न सकेका छैनन् । एमालेबाटै ०५१ मा विजयी सुरेन्द्र फोम्बो अहिले नेपाली राजनीतिमै छैनन् । ०५४ पनि तेह्रथुमबाट एमालेले सुब्बालाई नै उठायो ।

उनी निर्वाचित पनि भए, तर राज्यको कार्यकारी भूमिका पाएनन् । सुब्बाले ०६४ र ०७० मा टिकट पाएनन् । त्यसबीचमा उनी अशोक राईले पार्टी फुटाउँदा उनीसँगै गए । पछि एमालेमा फर्किएका सुब्बा अहिले समानुपातिकतर्फ सांसद छन्, तर उनी एकपटक पनि मन्त्री भएका छैनन् ।

सुब्बापछि एमाले महासचिव माधवकुमार नेपालले तेह्रथुममा खापुङलाई अघि बढाए । विद्यार्थीकालबाटै राजनीतिमा आएका खापुङ शिक्षण छाडेर एमालेबाट गाविस अध्यक्ष जितेपछि सक्रिय राजनीतिमा आए । उनी पटक–पटक जिल्ला कमिटी सचिवमा सर्वसम्मत निर्वाचित भएर काम गरे । ०६६ को जिल्ला अधिवेशनबाट उनी एमालेको जिल्ला अध्यक्ष भए ।

०६९ मा केन्द्रीय अनुशासन आयोगको सदस्य भएर काम गरे । एमालेमा माधवकुमार नेपालको पक्षमा खुलेर संगठन गरेका खापुङ अहिले एमाले विभाजित हुँदा पनि नेपालसँगै नेकपा ९एकीकृत समाजवादी०मा लागेका छन् । ५ वटा चुनाव जितेको एमालेले तेह्रथुमबाट निर्वाचित कसैलाई पनि मन्त्री बनाएको छैन । खापुङले पनि मुलुकको कार्यकारी पदमा पुग्न एमाले परित्याग नै गर्नुपरेको छ ।

पूर्वप्रधानमन्त्री ओली तेह्रथुमकै इवामा जन्मिएका हुन् भने पूर्वगृहमन्त्री सिटौला संक्रान्तिबजारमा । तेह्रथुममै जन्मिए पनि अन्यत्रबाट निर्वाचित भएका भानुभक्त ढकाल, शिवमाया तुम्बाहाङ्फेलगायत यसअघि पनि मन्त्री बनेका छन् ।

सत्ता गठबन्धन र पार्टीभित्र लामो रसाकस्सीपछि राज्यमन्त्री खापुङ नेकपा ९एस०बाट मन्त्री बनेकामध्ये सिनियर नेतामा पर्छन् । उनले आफूले स्वाभाविक रुपमा मन्त्रीको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर, परिस्थिति त्यस्तो बन्यो कि ८८ दिनसम्म मन्त्री बन्ने चर्चामा रहेका उनी मन्त्रीको सूचीमा नअटाउने अवस्थासमेत बन्यो । पार्टीले उनका अघिल्तिर अप्सन तेर्स्यायो– अहिले बन्दा राज्यमन्त्री, नभए छ महिनापछि फुल मन्त्री ।

शुक्रबार बिहानसम्म राज्यमन्त्री भए नबन्ने घुर्की देखाएका खापुङले अन्तिम समयमा शर्तसहित राज्यमन्त्री भए पनि अहिल्यै लिने सोचे । र, शर्त अघि सारे–जुनियर मन्त्रीको राज्यमन्त्री नबस्ने । अन्ततः अध्यक्ष माधवकुमार नेपालले उनको शर्त स्वीकारे । एक नेताका अनुसार उनको सर्तका कारण मन्त्रीहरुको मन्त्रालय अन्तिम समयमा हेरफेर भएको थियो ।

तर, राज्यमन्त्री खापुङले समाचारमा आएका ती कुरामा सत्यता नभएको दाबी गरेका छन् । ‘मैले मन्त्री चाहियो भनेकै हुँ । तर, भएन–पुगेन भनेपछि राज्यमन्त्री नै भए पनि स्वीकार गरेँ । मन्त्री सबै उस्तै हो । मैले फलानो हुँदामात्रै म हुने भनेको होइन,’ खापुङले इकान्तिपुरसँग भने ।

एमालेले जिल्लाका ६ स्थानीयमध्ये ५ वटामा नेतृत्व लिएको थियो । त्यसमध्ये ४ वटामा तत्कालीन एमालेमा हुँदा नेपाल–खनाल समूहकै नेता थिए । जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना र प्रदेश सांसद लक्ष्मण तिवारी पनि त्यही समूहमा थिए । तर, पार्टी विभाजन हुँदा आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुमात्रै खापुङको पछि लागेका छन् ।

तिवारी प्रदेश १ मा मन्त्री पाएपछि एमालेमै बसे । जिल्ला समन्वय समितिका प्रमुख पनि एमालेमै बसेका छन् । खापुङकै गृह गाउँपालिका मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङसमेत उनीसँग छैनन् । छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला, फेदाप गाउँपालिकाका अध्यक्ष हरिबहादुर चोङवाङले पनि एमाले नै रोजेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।