CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पनि राजीनामा दिने भएका छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनले राजीनामा दिने मनस्थिति बनाएका हुन् ।
गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी रुष्ट थिए ।
नभन्दै उनीसँग नाम जोडिएका हमाल मन्त्री भए । हमाल मन्त्री भएकै दिनदेखि प्रधान्यायाधीश जबराको राजीनामा मागिनेदेखि महाभियोग लगाउनुपर्नेसम्मका माग उठेका थिए ।
तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाईएका हमालले आजै पदबाट राजीनामा दिईसकेका छन् । उनले स्वविवेक प्रयोग गरेर आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।
बरिष्ठ अधिवक्तादेखि पूर्व महान्यायाधिवक्तासम्मले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका थिए । उनीहरुले प्रधान्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको भन्दै अब एक सेकेण्डपनि पदमा बस्ने अधिकार नभएको धारणा राखेका थिए ।
सर्वोच्च अदालतनिकट विश्वस्त सूत्रकाअनुसार प्रधानन्यायाधीश जबराले जुनसुकै बेला पनि राजीनामा दिने मुड बनाएका छन् । न्यायालयमा राजनीति घुसाउने काम दलका नेताहरुले गरेको भन्ने प्रधानन्यायाधीश जबराको गुनासो रहँदै आएको छ ।
खासगरी न्यायाधिश नियुक्ती गरिँदा भागबण्डाको आधारमा गरिएको र राम्राभन्दा पनि आफ्ना मान्छेलाई नियुक्ती गरिँदा अदालतमा एकपछि अर्को गरेर राजनीति हाबी भएको भन्ने उनको बुझाई छ । तर, दलका नेताहरुले भने न्यायलयमा राजनीति भएको भनेर बाहिर टिकाटिप्पणी गर्दा पनि उनलाई चित्त बुझेको छैन् ।
तत्कालिन कानूनमन्त्री अजयशंकर नायकको पालामा उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्तीमा पनि दलहरुले भागबण्डाको आधारमा नियुक्ती गरेका थिए । यसमा पनि उनको सुरुदेखि नै गुनासो रहँदै आएको थियो ।
८० जनाको नियुक्ती संविधानसम्मत नभएको भनेर सबै पक्षबाट विरोध र आलोचना हुँदापनि सरकारमा बस्नेहरुले त्यतिवेला एकलौटी गरेका थिए । हुन त तत्कालिन मन्त्री नायकले न्यायाधीश नियुक्ती समावेशी र समानुपातिक रहेको दाबी गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मन्त्री बनेका गजेन्द्र हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका छन् । हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । तर, उनको नियुक्ती हुनुपुर्व नै सार्वजनिक रुपमा आलोचना भैसकेको थियो ।
खासगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नाम जोडेर उनको आलोचना भएको थियो । नाताले हमाल चोलेन्द्रका जेठान हुन् । प्रधानमन्त्री देउवाले भने हमाल कांग्रेसकै पूरानो नेता र अन्यायमा परेकोले आफूले मन्त्री बनाएको स्पष्ट पारेका थिए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।