CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै मुख्यमन्त्रीमाथि डण्डा चलाउने संकेत गरेका छन् । उनको संकेतपछि कांग्रेसीहरु उत्साहित बनेका हुन् ।
सत्तारुढ ५ दलीय गठबन्धनमा संघ सरकारदेखि प्रदेशसम्मको भागबण्डामा हेरफेर भइरहेको छ । गठबन्धनमा भएको पछिल्लो सहमतिअनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) ले २÷२ वटा प्रदेशमा मुख्यमन्त्री लिने सहमति भएको छ ।
संघमा मन्त्रीको भागबण्डा सकिएर मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छ । सहमतिबमोजिम दशैंपछि देशका ३ वटा प्रदेशमा नेतृत्व फेरिने भएको छ ।
बागमती र १ नम्बर प्रदेशमा नेकपा एमालेका मुख्यमन्त्री क्रमशः अष्टलक्ष्मी शाक्य र भीम आचार्य पदमुक्त भएर एसको नेतृत्वको सरकार बन्ने देखिएको छ ।
बागमती प्रदेश कांग्रेसले लिएको अवस्थामा एसलाई कुनै अर्को प्रदेशमा मुख्यमन्त्री दिइने भएको स्रोतले जनाएको छ । बागमतीमा कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडमा छन् ।
हाल देशभर माओवादीका ३ मुख्यमन्त्री रहेकाले माओवादीले १ मुख्यमन्त्री छाड्ने सहमति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा गरिसकेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री छन् ।
लुम्बिनीका मुख्यमन्त्री हालै नियुक्त भएकाले राजीनामा दिनुपर्ने छैन तर कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीमध्ये एउटालाई हटाउने तयारी रहेको छ ।
नेकपा एसले बागमती र १ नम्बर प्रदेशको मुख्यमन्त्री लिएमा सुदूरपश्चिम र कर्णाली प्रदेशमध्ये एउटाको नेतृत्व कांग्रेसले पाउने छ । हाल कांग्रेसका मुख्यमन्त्री गण्डकी प्रदेशमा मात्रै रहेका छन् ।
माओवादीको उच्च स्रोतका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनुपर्ने सम्भावना बढी छ । विश्वासको मत लिने बेलामा केही महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति जुटेको चर्चा पनि छ ।
अर्कोतिर सुदूरपश्चिम प्रदेश प्रचण्डकी बुहारी बिना मगरको कायक्षेत्र रहेको प्रदेश हो, जहाँ यतिबेला मुख्यमन्त्री त्रिलोचन भट्ट बुहारी बिना मगरको गुटमा लागेका छन् ।
माओवादी सुदूरपश्चिम प्रदेशभित्र बिना मगरलाई स्थापित गर्न प्रचण्डले सुरुमा खानेपानी मन्त्री र हाल प्रदेश सहइन्चार्ज समेत बनाएका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई हटाउँदा उनी चिढिने र बिना मगरको गुट कमजोर हुने अवस्था भएकाले बिना मगरलाई सुदूरपश्चिममा स्थापित गर्नका लागि मुख्यमन्त्री भट्टको सरकार सुरक्षित रहने स्रोतको दाबी छ ।
बरु कर्णालीका मुख्यमन्त्री शाहीलाई प्रचण्डले सहजै राजीनामा गराउन सक्नेछन् । कर्णालीबाट जनार्दन शर्मालाई अर्थमन्त्री समेत बनाइएकाले जनार्दन शर्माले समेत मुख्यमन्त्री शाहीलाई राजीनामा गराउन सकारात्मक प्रभाव पार्न सक्छन् ।
सुदूरपश्चिमबाट माओवादीले संघीय सरकारमा कसैलाई पनि मन्त्री बनाएको छैन । २ नम्बर प्रदेशमा गठबन्धनआवद्ध दल जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार कायमै रहने सहमति समेत गठबन्धनमा भएको छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।