वनमन्त्री रामसहायको जीवन कथा : भैँसी गोठदेखि सिंहदरबारसम्म !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

राजनीतिक अस्थिरता झेल्दै आएको नेपालमा कयौँ नेता मन्त्री भइसकेका छन् । पछिल्लो समय संविधानले नै २५ सदस्यीयभन्दा ठुलो मन्त्रिपरिषद् बनाउन नमिल्ने व्यवस्था गरेको छ ।

त्यसअघि सत्ता भागवण्डाका लागि मन्त्रिपरिषद्को आकार पनि निकै ठुलो बनाइन्थ्यो । यसरी मन्त्री बनाइएकाहरु राजनीतिक तथा गुटगत स्वार्थबाट प्रेरित हुने गर्दथे । उनीहरुमध्ये कतिपय त विवादमा समेत तानिए भने कतिपयलाई मन्त्री बनाइएकोमा विरोधसमेत हुने गर्दथ्यो ।

पछिल्लो समय जनता समाजवादी पार्टी नेपालबाट वन तथा वातावरण मन्त्री बनेका रामसहाय यादव पृथक छविका मानिन्छन् । ​जसपाभित्र कतिपय नेताहरु मन्त्री हुन नपाएको भन्दै असन्तुष्ट देखिएका छन् ।

असन्तुष्ट पक्षका युवाले पार्टी नेतृत्वको निर्णयप्रति औँला उठाएका छन् तर रामसहाय यादवलाई मन्त्री बनाएर पार्टी नेतृत्वले गल्ती गरेको भनेर कसैले पनि भन्न सकेका छैनन् । ​

जसपाबाटै मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, रेणु यादवप्रति असन्तुष्टि देखिए पनि रामसहायको सवालमा भने कसैले विरोध गरेको पाइँदैन । त्यसको कारण हो– रामसहाय यादवको इमानदार कार्यशैली, लगनशीलता र जवाफदेहीता ।

मन्त्री रामसहाय यादवकी पत्नी चम्पादेवी यादवले पार्टीबाट ढिलो भए पनि मूल्याङ्कन गरेर जिम्मेवारी दिएकोमा आफूलाई खुशी नै लागेको बताइन् ।

मन्त्री बनेपछि असोज २८ गते आफ्नो निवास पुगेका पति रामसहाय यादवलाई स्वागत गर्दै चम्पादेवीले भनिन्, ‘खुशी छु तर पार्टीले धेरै नै ढिलो मूल्याङ्कन गरेको छ ।’ रामसहाय यादव मन्त्री भएर घरपुग्दा चम्पादेवीले उनलाई माला र गम्छा लगाएर स्वागत गरिन् । चम्पादेवीले भावुक हुँदै स्वागत गर्दा रामसहाय यादवको आँखा पनि रसाएको थियो ।

गोठको बास

आफूभन्दा धेरै पछाडि राजनीतिमा लागेका नेताहरुको शान सौकतको अगाडि रामसहाय यादवको जीवनशैली धेरै फिक्का छ । उनीपछि राजनीति सुरु गरेका अधिकांश नेताको काठमाडौंलगायत सहरमा आधुनिक घर छ । उनीहरुले करौडोंको सम्पत्ति जोडिसके । तर रामसहाय यादवका परिवारको बास अझै गोठमै छ ।

मधेस आन्दोलनपछि शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा लागेका रामसहाय यादव पहिलो संविधानसभाका सदस्य थिए । अहिले उनी प्रतिनिधिसभा सदस्य छन् ।

पार्टीमा ‘हाइप्रोफाइल’मै रहे पनि उनको सादगीले धेरै नेता छक्क परेका छन् । हालसम्म आफ्नो परिवारलाई राख्नका लागि उनले एउटा गतिलो घर पनि बनाउन सकेका छैनन् । बारा कचोर्वामा रहेको पुर्ख्यौली घरको जमिन बेचेर बाराकै कलैयाको गोरुबजारमा १२ धुर जमिन खरिद गरेर उनले भैंसी पाल्ने गोठ बनाएका थिए ।

सोही गोठको अर्कोपट्टी आफ्नो बास बनाएका रामसहाय यादव आजसम्म त्यही झोपडी तथा गोठबाट निस्कन सकेका छैनन् । पहिलो संविधानसभामा सदस्य भएको बेला उनले घर बनाउने योजना बनाएका थिए । त्यही जमिनमा घर बनाउन उनले जग हाले, पिलर उठाए । तर त्यसभन्दा अघि बढ्न सकेन । जग हालेको ठाउँमा बोट बिरुवा उम्रिसकेको छ तर उनले घरलाई पूर्णता दिन सकेनन् ।

त्यही गोठमा अहिले रामसहाय यादवकी श्रीमती चम्पादेवीले गाई–भैंसी पालेकी छन् । त्यसैको आम्दानीबाट घर खर्च चलेको छ भने रामसहाय यादवले निर्धक्क भएर राजनीति अगाडि बढाएका छन् । छोराछोरीको पढाई पनि जसोतसो भइरहेको छ । चम्पादेवीकै कारण रामसहाय यादव पूर्णकालीन राजनीतिमा लागेका छन् । राजनीतिबाहेक उनको अरु कुनै काम छैन । परिवारको आम्दानीको स्रोत भनेकै चम्पादेवीले पालेका गाई र भैंसी हुन् ।

संविधानसभा सदस्य हुँदा र प्रतिनिधिसभा सदस्य भएपछि रामसहायको अलिअलि आम्दानी हुन्थ्यो । त्यसबाहेक बाँकी समय रामसहाय यादव आफ्नो पकेट खर्चका लागि पनि श्रीमती चम्पादेवीमाथि नै निर्भर हुन्थे ।

उनी भन्छन्, ‘मेरी श्रीमतीले भैंसी पालेर मलाई राजनीति गर्न लगाएकी हुन्, उनले मलाई सहयोग नगरेको भए आज म यो अवस्थामा आउने थिइनँ ।’

रामसहाय राजनीतिमा लागेपछि चम्पादेवीले भैंसी पाल्न सुरु गरेकी थिइन् । त्यसअघि रामसहाय शिक्षक हुँदा घर परिवार चलाउन त्यति गाह्रो थिएन । उनी ट्युसन पढाउँथे ।

जसोतसो परिवार चलिरहेको थियो । जब रामसहाय यादव मधेस आन्दोलनसँगै राजनीतिमा सक्रिय भए, अनि चम्पादेवीलाई घर चलाउन गाह्रो भयो र उनले भैंसी पाल्न सुरु गरिन् ।

काठमाडौँमा दुईवटा कोठा भाडामा लिएर छोराका साथमा बस्दै आएका रामसहाय यादवले आफ्नो पद र प्रतिष्ठामा कहिल्यै घमण्ड गरेनन् । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव जसपाको सिफारिसमा वन मन्त्री भएपछि उनको निर्वाचन क्षेत्रमा मात्र नभई जिल्लामै खुशीयाली छाएको छ ।

राजनीतिक यात्रा

बाराको कलैयामा १४ वर्षसम्म शिक्षण पेसा गरेका रामसहाय यादवले शिक्षकका रुपमा पनि आफ्नो पेसालाई इमान्दारीपूर्वक अगाडि बढाएका थिए । उनलाई ०४६ सालको आन्दोलनपछि जिल्लाका काँग्रेसी नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराउन चाहेका थिए तर तत्कालीन नेपाल सद्भावना पार्टी मधेसको अधिकारका लागि संघर्षरत रहेको बुझेपछि उनले सद्भावना पार्टीलाई नै रोजे ।

तर सो पार्टीभित्रको गुटबन्दी र नेताहरुमा आएको विचलनले गर्दा मधेस आन्दोलन अघि उनी मधेसी जनअधिकार फोरम नेपालमा अवद्ध भए । र मधेस आन्दोलनपछि शिक्षण पेसाबाट राजीनामा दिएर उनी राजनीतिमा लागे ।

दाइको हेरचाहका लागि कलेज छाडे

०४३ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका उनी सन् १९९३ मा भारत विहारको सीतामढी कलेजबाट बीएससी गरेर वीरगंजबाट एकवर्षे बीएड गरेका थिए । सीतामढीमा कोठा भाडामा लिएर पढ्न बसेका रामसहाय यादवले आइएससी सकाएर बीएससीमा अध्ययन गर्न लाग्दा उनका दाजु रामधारी यादव बिरामी परे ।

घर व्यवहार हेर्न उनी सीतामढी छाडेर घरमै बस्न थाले । हुन त उनका दाजु रामधारीले उनलाई पढाइमै निरन्तरता दिन बारम्बार नभनेका होइनन् । तर दाजु बिरामी भएको बेलामा आफू घर छाडेर जान नसक्ने भन्दै उनी घरमै बसेर दाजुको हेरचाह र परिवारको जिम्मेवारी बहन गर्न थाले ।

यद्यपि, उनले वीरगंजको ठाकुरराम कलेजमा बीएडमा नाम लेखाएका थिए । बीच बीचमा उनी कलेज पनि पुग्थे । तर जब परीक्षाको फर्म खुल्यो, फर्म भर्न जाँदा ठाकुरराम कलेजले सीतामढी कलेजको माइग्रेशन सर्टीफिकेट माग ग¥यो ।

रामसहाय यादव माइग्रेसनका लागि सीतामढी पुगे तर त्यो कलेजले भर्ना भइसकेका विद्यार्थीलाई उक्त तहको अध्ययन पूरा नगरी सर्टिफिकेट दिन नमिल्ने बतायो । अब यता न उता हुने भइयो भनेर सीतामढीको कलेजनै रोजेर उनले घरमै अध्ययन गरेर परीक्षाका लागिमात्र उनी सीतामढी गए । घरमै अध्ययन गरे पनि उनले एकै पटकमा बीएससी पास गरे ।

१२ वर्षको अस्थायी जागिर

दाजु रामधारीको हेरचाहका लागि पढाई छाडेर घर बसेका रामसहायलाई उनका गुरु रामेश्वर राय यादवले यसरी घरमा बसिराख्नुभन्दा कुनै विद्यालयमा गएर पढाउन सुझाव दिए । शिक्षकमा काम पाइयो भने घर खर्च पनि निस्किन्छ भन्ने सोचेर उनले २०४८ सालमा कलैयाको पन्नादेवी कन्या माविमा सम्पर्क गरे । त्यहाँ उनले मौका पाए ।

एक साताको क्लास टेस्टपछि अस्थायी नियुक्ति पाएका उनले साइन्स र म्याथ पढाउन थाले । १२ वर्षसम्म अस्थायी रुपमा काम गरेका उनी २०६० सालमा स्थायी भए । उनी कलैयामै घरभाडा लिएर बसेका थिए र बिहान बेलुका ट्युसन पनि पढाउने । त्यहीँबाट बेला बेलामा उनी घरको कामकाज पनि हेर्थे ।

इमानदार शिक्षकको रुपमा चिनिएका उनलाई एक पटक तत्कालीन जिल्ला शिक्षा अधिकारी हसरत अलीले सरुवा गरेर त्यही जिल्लाको बैलहिया निमाविमा पठाएका थिए । तर उनले पढाउँदै आएको विद्यालयले उनलाई रमाना पत्र नै दिएन । जिल्ला शिक्षा कार्यालयबाट बारम्बार ताकेता आउँदा पनि हेडमास्टरले रमाना दिएनन् । कारण थियो– रामसहायको इमानदारीता र विश्वास ।

जिल्ला शिक्षा अधिकारी स्वयं नै विद्यालयमा गएर रामसहायलाई रमाना दिन प्रधानाध्यापकलाई निर्देशन दिएका थिए तर प्रधानाध्यापकले उनलाई रमाना दिन मानेनन् । त्यसपछि जिल्ला शिक्षा अधिकारीले रामसहाय यादवको तलब नै रोक्का गरिदिए । तैपनि विद्यालयले आफ्नै स्रोतबाट उनलाई तलब खुवाउन थाल्यो । पछि त हेडमास्टर, र त्यसपछि पूरै स्कूलकै तलब रोक्का भयो शिक्षा कार्यालयबाट । स्कूल समस्यामा प¥यो । त्यसका बाबजुद स्कूलले रामसहाय यादवलाई रमाना दिएन । शिक्षा अधिकारी र स्कूलबीच विवाद नसुल्झिदै मध्यावधि चुनावको घोषणा भयो । चुनावको आचारसंहिता लागु भएपछि रामसहायको सरुवा रोकियो र समस्या आफै समाधान भयो । त्यसपछि २०६४ सालसम्म निरन्तर उनले मास्टरी गरे । फोरम नेपालबाट समानुपातिकमा उम्मेदवार बनेपछि उनले शिक्षक पदबाट राजीनामा दिएका थिए ।

गजेन्द्रनारायणसँग पहिलो भेट 

जिल्लामा नेपाल सद्भावना पार्टी शिक्षक मञ्चको सदस्य भए पनि रामसहाय यादवले कुनै केन्द्रीय सदस्य तथा पदाधिकारीभन्दा कम काम गर्दैनथे । नागरिकतालगायत अन्य मुद्दालाई लिएर गजेन्द्रनरायण सिंहले भद्रकालीमा अनसन सुरु गरेका थिए । त्यो अनसनमा प्रत्येक जिल्लाबाट प्रतिनिधि सहभागी हुनुपर्ने निर्देशन थियो । तर बारा जिल्लाबाट कोही पनि अनसनमा सहभागी हुन मानेका थिएनन् । रामसहायले जिल्ला समितिमा बारम्बार त्यो कुरा उठाए । जिल्ला अध्यक्ष विश्वनाथ साहले रामसहाय यादवलाई ‘तपाई जाने हो भने जानुस्, हामी जाँदैनौं’ भनेका थिए । जोसिला युवा रामसहाय यादवले ‘हो म जान्छु’ भनेर काठमाडौं जाने तयारी गरे ।

जोशमा काठमाडौं जान्छु भनेर त उनले भनिहाले तर उनीसँग बस भाडासमेत थिएन । शिक्षक मञ्चका कोषाध्यक्ष बाबुलाल साहसँग २५० रुपैयाँ सापटी लिएर उनी हिँडे । उनीसँग काठमाडौं जाने बाक्लो लुगा नभएको कारण आफ्नै स्कूलका एकजना विद्यार्थी प्रदीप सिंहसँग स्विटर र जुत्ता सापटी लिएर रात्रि बस चढेर उनी काठमाडौंका लागि हिँडेका थिए । सरोज यादव (हाल प्रदेश २ प्रदेशसभाका सभामुख) का काका रमानन्द यादव पनि रामसहायको साथ काठमाडौं पुगेका थिए । त्यो दिन २ बजे संविधान जलाउने कुरा थियो । सबैजना अनसनस्थल भद्रकालीमा भेला भएका थिए । २ बजे संविधान जलाउँछन् भनेर सुरक्षाकर्मीहरु पनि बिहानैदेखि तैनाथ थिए । ‘संविधान जलाउनेलाई गोली हान्ने’ शीर्षकको समाचार आएको थियो ।

त्यो शीर्षकको समाचारले रामसहाय यादवलगायतका नेतामा डर त उत्पन्न ग¥यो तर त्योभन्दा बढी हिम्मत नै ल्याइदियो । कमसे कम  हाम्रो आन्दोलनप्रति सरकारको ध्यानाकर्षण त भएको रहेछ भनेर उनीहरु उत्साहित पनि भए । गोली हान्नेसम्म कुरा सरकारले गर्नु भनेको आन्दोलनकारीको लागि उपलब्धि नै हो । संविधान जलाउनका लागि सबैले जिम्मेवारी बाँडफाँट गरे । रामेश्वर राय यादव, हृदयेश त्रिपाठी, जितेन्द्र सोनललगायतका नेताहरु त्यहाँ थिए । जितेन्द्र सोनल र रामसहाय यादव २ बजेको प्रतिक्षामा भद्रकाली मन्दिरमा लुकेर बसे ।

ठिक २ बजे गजेन्द्रनारायण सिंहले अनसनस्थलमा ‘इनकलाव जिन्दावाद’ को नारा लगाउन थाले । जो जो नेता जहाँ जहाँ लुकेर बसेका थिए, सबै जना कुदेर आए र संविधानको प्रतिलिपि जलाए । प्रहरीले हस्तक्षेप पनि ग¥यो । लाठी चार्ज पनि भयो । त्यहाँबाट १८ जनालाई समातेर पुलिस क्लवमा लग्यो । त्यही दिन रामसहाय यादवले गजेन्द्रनारायण सिंहसँग पहिलो पटक भेटेका थिए । त्यसअघि उनले गजेन्द्रनारायण सिंहको नाममात्र सुनेका थिए ।

रामसहाय यादवमा देखिएको जुझारुपनबाट गजेन्द्रनारायण सिंह निकै प्रभावित भएका थिए । प्रहरीसँग झडप भएपछि रामसहाय यादवले नै गजेन्द्रबाबुलाई सुरक्षा दिएका थिए । गजेन्द्रबाबुले रामसहाय यादवको पिठ्यू थपथपाएर, ‘लडके तुम कहाँसे आएको हो, क्या नाम है तुम्हारा’ भनि सोधेका थिए । रामसहाय यादवले आफ्नो परिचय दिएका थिए । घर फर्किनका लागि गाडी भाडा छ कि छैन भनेर पनि उनलाई गजेन्द्रबाबुले सोधेका थिए ।

प्रहरीसँग झडप भएको बेला रामसहायले गजेन्द्रबाबुलाई घेरा हालेको फोटो भारतको स्टेटम्यान पत्रिकामा छापिएको थियो । पछि अरु पत्रिकामा पनि त्यो फोटो छापिएको थियो । पार्टीको कुनै उच्च पदमा नभए पनि रामसहाय यादवको चर्चा निकै भएको थियो त्यसबेला । त्यो आन्दोलनपछि नेपाल सद्भावना पार्टीले मधेसी एकता रथ यात्रा निकालेको थियो । जसमा रामसहाय यादव पनि सहभागी थिए । उनी गजेन्द्रबाबुको साथमा कञ्चनपुरसम्म गएका थिए । त्यही बेला कञ्चनपुरमा राजेन्द्र महतोसँग भेट हुँदा महतोले रामसहाय यादवलाई भनेका थिए–मास्टर साहब ! आप तो सक्रिय हो गए ।

उपेन्द्र यादवसँगको पहिलो भेट

२०५९ सालमा राजविराजमा नेपाल सद्भावना पार्टीको महाधिवेशन भयो । त्यसमा बाँकेबाट महाधिवेशन प्रतिनिधि बनेर रामसहाय गएका थिए । उनी शिक्षक मञ्चमै थिए, तैपनि उनलाई महाधिवेशन प्रतिनिधि बनाइएको थियो । बद्री मण्डल राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनका मन्त्री थिए । त्यस हिसाबले पार्टी आफ्नो कब्जामा लिने रणनीतिमा थिए उनी । त्यसको विरोधमा राजेन्द्र महतो, हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, भरतविमल यादवलगायतका नेता थिए ।

पार्टी फुट्ने अवस्थामा पुगेको थियो । रामसहाय यादव पार्टी नफुटोस् भन्ने पक्षमा थिए । पार्टी नफुटोस् भनेर रामसहाय यादव एक्लै गजेन्द्रनारायण सिंहको आश्रममा अनसन बसेका थिए । अनसनस्थलमै आर.डी आजादसँग उनको भेट भएको थियो । ‘तराई जल रहा है’ भने किताबको लेखक रहेका आजादको नाम रामसहाय यादवले निकै सुनेका थिए । मधेस क्रान्तिमा आजादको भूमिकाको बारेमा पनि उनले सुनेका थिए । आजादले रामसहायलाई शुभकामना र बधाई दिँदै अनसनपछि भेट्न भनेका थिए । आनन्दी देवी (गजेन्द्रनारायण सिंहकी श्रीमती)ले रामसहाय यादवलाई जुस खुवाएर अनसन तोडाएकी थिइन् । अनसन तोड्ने बित्तिकै रामसहाय यादव आर.डी. आजादलाई भेट्न गएका थिए । आजादले रामसहाय यादवललाई भनेका थिए, ‘आज तपाईलाई एकजना मान्छेसँग भेट गराउँदैछु । तपाईमा आन्दोलनको जुन जुनन छ, तपाईले क्रान्ति बुझ्नु भएको छ । तपाईसँग भेटपछि उहाँ धेरै खुशी हुनुहुन्छ ।’

आजादले उनलाई एउटा अपरिचितको घरमा लागेका थिए । त्यो घरमा थिए उपेन्द्र यादव । रामसहाय यादवले त्यो दिन उपेन्द्र यादवसँग पहिलो पटक भेटेका थिए । उपेन्द्र यादवले रामसहाय यादवलाई भनेका थिए, ‘गजेन्द्रबाबु बितेपछि सद्भावना पार्टी छिन्नभिन्न भयो । यसले मधेसको कल्याण गर्न सक्दैन, मधेसको मुक्ति हुँदैन । यिनीहरुको लडाई मधेस मुक्तिका लागि नभएर सत्ता र कुर्सीका लागि भइरहेको छ । तपाईले कोसिस गर्नुभयो, सह्राहनीय कुरा हो तर उनीहरुलाई मधेस मुक्तिसँग मतलब छैन । तपाई हामीसँग जुट्नुस् । तपाईले पार्टी छोड्नु पर्दैन, यो फोरममा रहेर पनि काम गर्न सक्नु हुन्छ ।’

उपेन्द्र यादवले २०६० असारमा महाधिवेशन गर्न लागेको र त्यसमा बाराबाट केही युवालाई लिएर आउन भनेका थिए । आनन्दीदेवीको एउटा समूह र बद्री मण्डलको एउटा समूह बनेर पार्टी विभाजन भयो र नेपाल सद्भावना पार्टीको महाधिवेशन सम्पन्न भएपछि रामसहाय यादव घर फर्केका थिए ।

फोरमको महाधिवेशनमा रामसहाय यादवलाई कसैले सोधखोज गरेनन् । कहाँ हो महाधिवेशन, कति जना कहिले लिएर आउनुपर्छ भनेर कसैले केही भनेनन् । उनी फोरमको त्यो महाधिवेशनमा सहभागी हुन सकेनन् । एक दिन आफ्नै स्कूलमा पढाइरहेको बेला भाग्यनाथ गुप्ता र महानन्द ठाकुर उनलाई भेट्न पुगेका थिए । रामसहायले क्लास सिध्याएर उनीहरुसँग कुरा गरे । उपेन्द्र यादवले तपाईसँग भेट्न खोज्नु भएको छ, रक्सौल जानुपर्छ भनेर उनीहरुले रामसहाय यादवलाई भनेका थिए । उनी उपेन्द्र यादवलाई भेट्न भारतको रक्सौल पुगे । उपेन्द्र यादवसँग संगठनबारे कुराकानी गरेर उनी सदस्यता रसिद र पर्चा, पम्पलेट लिएर बारा फर्केका थिए ।

सद्भावना पार्टीमा हुँदाहुँदै उनी फोरमका लागि संगठन बनाउन थालेका थिए । २०६० फागुन ७ गते रामसहाय यादवको भूमिगत नाम ‘चन्द्रगुप्त’का नामबाट बारामा ९ सदस्यीय फोरम नेपालको जिल्ला समिति गठन भयो । जसमा रामबाबु यादव (क्रान्ति), पप्पु सिंह (भगत सिंह), रामविद्या कुर्मी (साहसिक सिंह) लगायतका युवा थिए । त्यसपछि त्यहाँ चन्द्रगुप्तको नामबाट पर्चा, पम्पलेट तथा विज्ञप्तिहरु आउन थाल्यो । संगठन विस्तारले तीव्रता लियो । तर स्कूलमा पढाउने शिक्षक रामसहाय यादव नै चन्द्रगुप्त हो भनेर पार्टीबाहेक अरु कसैलाई थाहा थिएन ।

०६२–०६३ को जनआन्दोलनमा पनि रामसहाय यादवको सक्रिय उपस्थिति थियो । नेपाल सद्भावना पार्टी र फोरम नेपालको ब्यानर सँगै लिएर हिँड्थे उनी । फोरम नेपाल स्वतन्त्र संस्था भएको हुनाले त्यसबेला सद्भावना पार्टीमा काम गर्न उनलाई असजिलो भएन । जनआन्दोलनमा विभिन्न मोर्चामा काम गरे उनले । आन्दोलन भइरहँदा वीरगंज घण्टाघरमा फोरम नेपालको ब्यानर झुण्ड्याइएको थियो तर राति कसैले त्यो ब्यानर च्यातेर फालेका थिए । त्यसको खोजविन राजनीतिक रुपमा भयो तर कोही फेला परेन । आन्दोलन सफल भएपछि फोरम नेपाले पनि विजय जुलुस निकालेको थियो ।

मधेस आन्दोलन

जनआन्दोलन सकिएलगत्तै तत्कालीन फोरम नेपालले मधेस आन्दोलनको तयारी थाल्यो । आन्दोलनको तयारीस्वरुप जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रम गर्नुको साथै गोष्ठी, अन्तरक्रिया कार्यक्रमहरु पनि आयोजना भयो । ती कार्यक्रममा रामसहाय यादवको सहभागिता हुन्थ्यो । सरकारले अन्तरिम संविधान जारी ग¥यो तर त्यसमा संघीयताको कुरा कहीँ कतै उल्लेख थिएन र फोरमले माघ २ गते संविधान जलाउने घोषणा ग¥यो । अन्तरिम संविधान जलाउने बेला रामसहाय यादव बारामै थिए । उनले बारामै संविधान जलाएका थिए । मधेस आन्दोलनका क्रममा रामसहाय यादव बारा, पर्सा, रौतहटका इन्चार्ज थिए ।

२०६५ साल जेठ ९ गते पार्टी केन्द्रीय समितिको बैठकले रामसहाय यादवलाई तत्कालीन फोरम नेपालको महासचिव बनायो । २०६५ माघ ४–७ गतेसम्म वीरगंजमा भएको महाधिवेशनबाट पनि उनी महासचिवमै चयन भए । त्यसपछि उनी लगातार पार्टीको महासचिव रहे । अहिले उनी जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य हुन् ।

गोठदेखि मन्त्री क्वाटरसम्म

पार्टीले ढिलोचाँडो आफूलाई मूल्यांकन गरेकोमा आफू खुशी रहेको बताउँदै रामसहाय यादवले यसरी मूल्यांकन गरिदिँदा गरिब तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि राजनीतिप्रति आकर्षण बढ्ने बताए । उनले भने, ‘म जुन मन्त्रालयको मन्त्री बनेको छु, त्यस क्षेत्रमा सुधार ल्याउने मेरो लक्ष्य हुनेछ, र जुन इमानदारिता र लगनशीलताका साथ मैले राजनीति गरेँ, त्यही अनुसार मन्त्रालयको काम पनि गर्नेछु र त्यसमा सफल हुनेछु ।’

झोपडी तथा गोठ नै आफ्नो लागि महल भएको उनले बताए । ‘मन्त्री क्वार्टर त क्षणिक हो, त्यो स्थायी होइन । जे स्थायी छ, त्यसैमा रमाउनुपर्छ,’ उनले भने । उनले स्वच्छ मनोभावनाले राजनीति गर्न थालेपछि अरु मनोकांक्षा उत्पन्न नहुने बताए । स्वार्थको राजनीतिमा मात्र अन्य मनोकांक्षा उत्पन्न हुने उनको भनाइ छ । @ratopati

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 268
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    268
    Shares

प्रतिक्रिया दिनुहोस !