CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) सिकिस्त विरामी परेका छन् । दम बढेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

लामो समयदेखि दमका बिरामी वैद्यलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै एक/दुई दिन अस्पतालमै बस्नुपर्ने अबस्था आएको बताए ।

अस्पताल श्रोतका अनुसार स्वास–प्रस्वासमा समस्या देखिएको छ भने बोल्न सकेका छैनन् । सबै रिर्पोट आइ नसकेकाले बाँकी केही पनि भन्न नसकिने अस्पतालले जनाएको छ ।

सच्चा कम्युनिस्ट नेताको परिचय बनाएका वैद्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत समकालिन नेताहरुका राजनीतिक गुरु पनि हुन् ।

२०५२ सालमा नेकपा माओवादीले जनयुद्ध सुरु गर्दा उनी दोश्रो दर्जाका नेता थिए । नेपालमा शान्ति सम्झौता हुँदा उनी भारतको जेलमा कैदी जीवन विताइरहेका थिए ।

प्रचण्डले नेपालमा भएको ससस्त्र जनयुद्धलाई संसदीय राजनीतिमा लगेर बुझाएको भन्दै असन्तुष्टि राख्दै वैद्य प्रचण्डबाट अलग भएका थिए । २०६९ सालमा पार्टी फुटाएर ड्यास माओवादी बनाएका उनले सोचे जस्तो क्रान्ति गर्न नसकेको भन्दै उनका विश्वास पात्र विप्लवले पनि विद्रोह गरेका थिए ।

पछि मणी थापाको नेकपा (क्रान्तिकारी) लगायतका पार्टीसँग एकता गरेका थिए । एकताको मोसी सुक्न नपाउँदा रामबहादुर थापासहितको ठूलो सिस्सा नेकपा माओवादी केन्द्रमा समाहित भएपछि वैद्यलाई ठूलो झट्का लागेको थियो ।

वैद्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कट्टेलको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी सम्मिलित संयुक्त रणनीति मोर्चा बनाएर नेपालको राजनीतिमा नयाँ आयाम ल्याउने कोसिस गरेका थिए ।

उक्त मोर्चाकै पहलमा प्रतिबन्धीत नेकपा र सरकारबीच तीन बुँदे सहमति भएको थियो । त्यही तीन बुँदे सहमतिको आधारमा विप्लव नेतृत्वको नेकपा खुल्ला रुपमा राजनीतिक गतिविधि अगाडि बढाइरहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।