नेकपा (एस)बाट मन्त्रि बनेका तीन जनाको मन्त्रि पद चट, उनीहरुको ठाउँमा को-को बन्दैछन् मन्त्री ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुर्खेत – तीन जना मन्त्रीको मन्त्री पद चट हुने भएको छ । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरुको पद चट हुने भएको हो ।

पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पद दुई साता पछि स्वतः खारेज हुने भएको छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री थपिने श्रोतको दावि छ ।

कर्णाली प्रदेशमा एमालेको एकल बहुमत रहेको समयमा सो पार्टीका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकारलाई जोगाइदिएका थिए ।

उनीहरुमध्ये बुढालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री, शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र थापालाई भौतिक मन्त्री बनाइएको छ । पार्टीले कारवाही गरेपछि स्वतन्त्र हैसियतमा मन्त्री बनाइएका उनीहरुको पदवधि आगामी कात्तिक १५ गते सकिँदै छ ।

संवैधानिक व्यवस्थाअनुसार संंसद सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछन् । तीनै जनालाई मुख्यमन्त्री शाहीले पहिलोपटक सांसद हैसियतमा वैशाख ४ गते मन्त्री नियुक्त गरेका थिए ।

तर पार्टीको कारवाहीबाट सांसद पद गुमेपछि वैशाख १५ गते फेरि स्वतन्त्र हैसियतमा मन्त्री बनाएका थिए । यस विषयमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पनि एमालेको कारवाही सदर गर्दै फैसला गरेको थियो ।

हाल एकीकृत समाजवादीमा लागे पनि उनीहरु सो पार्टीको सांसदको हैसियतमा छैनन् । तीनै जनाले मन्त्री गुमाउने भएपछि अब नयाँ मन्त्रीको चर्चा सुरु भएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेसले जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै आए पनि मुख्यमन्त्री शाही भने सत्ता हस्तान्तरणको मुडमा छैनन् । कर्णालीमा स्पष्ट अल्पमतमा रहेको भए पनि विश्वासको मत पाउन सफल मुख्यमन्त्री शाहीले सत्ता नछोड्ने उनीनिकट स्रोत बताउँछ ।

मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीकै निरन्तरता हुने अवस्था देखिएपछि कर्णालीमा कम्तीमा पाँच मन्त्री थपिने भएका छन् । नेकपा समाजवादीमा लागेका सांसदहरु पदम रोकाय, चन्द्रबहादुर शाही मन्त्री पदका प्रमुख दावेदार हुन् भने सामाजिक विकास समितिका अध्यक्ष देवी ओली मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसबाट हाल मन्त्री रहेका दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर बुढाक्षेत्रीमध्ये सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको स्थानमा हिमबहादुर शाहीलाई ल्याउने गरी तयारी भइरहेको छ ।

यसअघि नै मन्त्रीको रुपमा निर्णय भइसकेका माओवादीका सांसद विन्दमान विष्ट भौतिक पूर्वाधार मन्त्री बन्दैछन् भने रातो कामीको मन्त्री बन्ने सम्भावना बढी रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।

‘आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माको निरन्तरता हुने देखिएको छ भने विन्दमान विष्ट मन्त्री बन्ने पक्का भएको छ,’ स्रोत भन्छ, ‘तिहारपछि मात्रै मन्त्रीपरिषद विस्तार हुन सक्छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 152
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    152
    Shares

प्रतिक्रिया दिनुहोस !