ओलीले प्रभु साहको गर्धन समातेर गाडिमा राखेपछि…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी चुनावमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सेखी झार्न चाहन्छन् ।

यही कारण उनले रामबहादुर थापा बादललाई चितवनमा प्रचण्डसँगै चुनाव लडाउने तयारी थालेका छन् भने माधव नेपालको गृहजिल्ला रौतहटमा प्रभु साहलाई उपचुनाव लडाएर जिताउन चाहेका छन् ।

प्रचण्डको सेखी झार्ने रणनीतिअनुसार नै ओलीले अघिल्लो साता झापा जाँदा पूर्वमाओवादी नेता प्रभु साहलाई समेत सँगै लिएर जाने विचार गरेका थिए । तर, लेखराज भट्टसँगै झापा पुगेर फर्केका ओलीले साहलाई आफ्नो गृहजिल्लामा लैजान सकेनन् ।

माओवादी छाडे पनि एमालेसँग असन्तुष्ट रहेका साहले यसबीच नेकपा पुनर्गठन गर्ने तयारी गरे । यसका लागि उनले १५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारिसकेको खबर ओली झापातिरै भएका बेला सुने । यो खबर सुनेपछि ओलीले साहलाई बालकोटमा बोलाएर फकाए ।

एमालेका तेस्रो धारका एक नेता भन्छन्, ‘ओलीजीले प्रभुलाई छाड्नुहुन्न । उहाँलाई आफ्नो स्ट्रेन्थका लागि प्रभु साहजस्तो मधेसमा जनाधार भएको नेता जरुरी परेको छ । तर, साहले विचारका आधारमा ओलीसँग हैन, हामीसँग सहकार्य गर्नुपर्ने हो ।’

जब एमाले अध्यक्ष ओली प्रचण्डको चुनाव क्षेत्र चितवनमा झर्ने योजना बन्यो, त्यसपछि उनले फेरि प्रभु साहलाई फोन गरेर बोलाए । चितवनमा उनले साहलाई आफ्नै गाडीमा हालेर हिँडे । आफू सहभागी कार्यक्रममा भाषण समेत गर्न लगाए । साहले ‘केपी ओलीलाई बाँचुञ्जेल साथ दिन्छु’ भनेर भाषण गरे ।

एमालेमा बस्न नसकिने र बेग्लै नेकपा पुनगर्ठन गर्नुपर्ने भन्दै पूर्वसांसद समेतको नामावली संकलन गरिसकेका साहलाई अन्ततः उनका शुभेच्छुकले सोधे, ‘अब एमालेमा बस्न सकिँदैन, नेकपा पुनर्गठन गरौं भन्दै हुनुहुन्थ्यो, चितवन पुगेर त ओलीलाई बाँचुञ्जेल साथ दिन्छु भन्नुभएछ, यस्तो उतार–चढाव किन ?’ जवाफमा साहले आफू निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘उहाँले आफ्नै गाडीमा चढाएर लानुभयो !’

प्रभु साह रौतहटबाट निर्वाचन माओवादी सांसद थिए । उनी रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीसँगै एमालेमा प्रवेश गरेका हुन् । तथापि साहले पछिल्लो समय ओलीसँग कतिपय सैद्धान्तिक विषयमा विमतिसमेत राख्दै आएका थिए ।

तर, साहको त्यो असन्तुष्टिलाई ‘क्यास’ गर्ने र उनलाई आफ्नो घरमा फर्काउने प्रयास माओवादी केन्द्रका नेताहरुले गरेनन् । माओवादीको यही होस्ल्याङ्गे कमजोरीबाट फाइदा उठाउँदै ओलीले साहलाई पुनः साथ लिन सफल भए ।

प्रभु साहले जितेको रौतहट क्षेत्र नम्बर ३ मा अहिले प्रतिनिधिसभा सदस्यको सिट रिक्त छ । निर्वाचन आयोगले यो सहित प्रतिनिनिधसभाका चार सिट र प्रदेशसभाको १८ सिटमा उपचुनावको मिति तोक्न सरकारलाई आग्रह गरिसकेको छ । सरकारले उपचुनावको घोषणा गरेमा साह नेकपा एकपा एमालेका तर्फबाट रौतहट ३ मा चुनाव लड्ने तयारीमा छन् ।

साहले आफू निकटस्थहरुसँग गुनासो पोख्ने गरेका छन्, ‘मैले ओलीको क्याबिनेटमा मन्त्री भएका बेला माओवादी छाड्न चाहेको थिइनँ । बादलहरुको कुरा बेग्लै भयो, तर म माओवादीमै रहन्छु भनेको थिएँ र पार्टीले सरकारबाट समर्थन फिर्ता लिनासाथ मन्त्रीबाट हट्छु थिएँ ।

तर, सरकारलाई समर्थन जारी नै राखेर प्रचण्डले मलाई समेत कारवाही गर्नुभयो । पछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि भटाभटी कारवाही गरेपछि प्रचण्डसँग मेरो चित्त दुख्यो ।’

यसैबीच, चितवनमा ओलीसँग गाडीमा यात्रा गरेका साह अहिले आफ्नो गृहजिल्ला रौतहटतिर लागेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 121
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    121
    Shares

प्रतिक्रिया दिनुहोस !