प्रतिनिधि छनोटमा ओलीको एकछत्र

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एकताको सन्देश प्रवाह गर्न भन्दै एमाले नेतृत्वले प्रतिनिधि चयनमा सकेसम्म सर्वसम्मत विधि अपनाउन प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्मै निर्देशन दिएको थियो ।

कात्तिक २८ यता भएको प्रतिनिधि चयनमा भौगोलिक र गैरभौगोलिक दुवैतिर ओली पक्षको वर्चस्व देखिएको हो । ९८ प्रतिशत प्रतिनिधि सर्वसम्मत रूपमा चुनिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

चितवनमा मंसिर १०-१२ मा हुने महाधिवेशनमा निर्वाचित, पदेन र मनोनीत गरी १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । पाँच प्रतिशत अर्थात् करिब एक सय प्रतिनिधि मनोनीत भएर आउनेछन् । उनीहरूको नाम टुंगिन बाँकी छ ।

एमालेले जिल्ला, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी, जनवर्गीय संगठन र प्रवास कमिटी, केन्द्रीय कमिटी र सल्लाहकार कमिटीबाट प्रतिनिधि सहभागी गराउने मापदण्ड बनाएको थियो । मनोनीत १ सयबाहेक २ सय ५२ प्रतिनिधि चयन भएर आउन बाँकी छ ।

केन्द्रीय कार्यालयका अनुसार शुक्रबार साँझसम्म १ हजार ६ सय ४७ प्रतिनिधि चयन भएकामा ११ सयभन्दा धेरै ओली पक्षको रहेको स्रोतको भनाइ छ । एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार अझै ९ वटा भूगोल कमिटीबाट विवरण आउन बाँकी छ । राष्ट्रिय युवा संघ, खेलकुद महासंघका साथै प्रदेश २ को मजदुर प्रतिनिधि ७ र प्रदेश कमिटीबाट ५ जनाको विवरण पनि आउन बाँकी छ ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वमाओवादी पक्षका करिब २ सय प्रतिनिधि चयन भएको बताए । ‘हामीले साढे तीन सयभन्दा बढी समावेश हुन्छन् कि भन्ने सोचेका थियौं,’ उनले भने, ‘साथीहरूले अलि कम गरिदिए । के कारण हो, पत्ता लगाउन खोजिरहेका छौं ।

रायमाझीका अनुसार विधान महाधिवेशन, वडा र पालिकामा पूर्वमाओवादीको सम्मानजनक उपस्थिति रहेको थियो । ‘तर पार्टी एउटै भएकाले त्यसमा असन्तोष हुनुपर्ने कारण छैन,’ उनले भने । एमाले केन्द्रीय कार्यालय सचिव तामाङले भने सबै पक्षलाई मिलाइएको दाबी गरे । ‘निर्वाचन भएको भए बाहिरबाट हेर्दा देखिने पक्षहरू समस्यामा पर्न सक्थे,’ उनले भने, ‘सर्वसम्मत हुँदा सबै पक्ष समेटिएका छन्, समेटिन्छन् ।’

दसबुँदे पक्षधर १० नेतानिकट करिब ३ सय प्रतिनिधि चयन भएको नेताहरूले बताएका छन् । ‘नवौं महाधिवेशनदेखि एउटा समूह थियो । त्यसमा माधव नेपालले धेरै लिएर जानुभयो । हामीनजिक जति साथीहरू हुनुहुन्थ्यो, त्यसमध्ये धेरै कम प्रतिनिधि बन्नुभएको छ,’ दसबुँदे सहमति पक्षधर एक नेताले भने, ‘स्वाभाविक रूपमा केपी कमरेडसँग पहिलादेखि नै जोडिएर आएकाहरूको संख्या धेरै छ ।

दसबुँदे सहमतिका पक्षधर र पूर्वमाओवादी समूहले मनोनीत हुने प्रतिनिधिको सूचीपार्टी अध्यक्ष ओलीलाई बुझाउँदै छन् । यी दुवैसमूहले मनोनीतमा आफ्नोतर्फबाट धेरै समेट्न आग्रह गरेका छन् ।

‘हामी सूची दिन्छौं । नेतृत्वले मनोनीत प्रतिनिधिमाकति समेट्छ, हेर्नुपर्छ,’ पूर्वमाओवादी एक नेताले भने । दसबुँदे सहमतिका पक्षधर एक नेताले प्रतिनिधि चयनमा देखिएको असन्तुष्टि सम्बोधनमा ध्यान दिनपार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको जानकारी दिए । ‘हामीले अध्यक्षलाई भेटेर पार्टीभित्र असन्तुष्टि जन्माउने कारण सम्बोधन गर्न आग्रह गरेका छौं । यसमा उहाँले ध्यान दिएर मनोनीत प्रतिनिधि चयन गर्नुहोला,’ उनले भने ।

वडा र पालिकापछि प्रतिनिधि चयनमा पनि सर्वसम्मतको सूत्र अघि सारेका थिए । ओलीले प्रतिनिधि चयनको दिन भिडियो सन्देशमार्फत समझदारीबाटै प्रतिनिधि चयन गर्न निर्देशन दिएका थिए । ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धामात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो,’ ओलीले सम्बोधनमा भनेका थिए, ‘दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ म सम्पूर्ण पार्टी सदस्यहरूलाई उच्च समझदारीका साथ आसन्न दसौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्दछु ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

प्रतिक्रिया दिनुहोस !