रंगमञ्चप्रेमीहरुलाई खुसीको खबर-एक दशकपछि ‘गुरुकुल’ पुनः सुरु हुँदै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

वर्षा महर्जन, काठमाडौं–नेपाली रंगमञ्चका पुराना दर्शकका लागि ‘गुरुकुल’ एउटा मिठो सम्झना अनि दोस्रो घर जस्तै हुँदो हो । खुला रंगमञ्च (सडक नाटक)बाट मञ्च, नाटकघरसहित व्यवस्थित तरिकामा नेपाली रंगमञ्चको सुरुवात ‘गुरुकुल’ बाटै भएको हो ।

त्यसैले रंगमञ्चका पुराना अनि नेपाली नाटकको पहिलो पुस्ताका दर्शकका लागि ‘गुरुकुल’ अहिले सम्झनामा मात्रै सीमित छ । तर, गुरुकुलका पुराना दर्शकका लागि गुरुकुलको तर्फबाट खुसीको खबर आएको छ ।

एक दशक अगाडि बन्द भएको गुरुकुल अब पुनः सञ्चालन हुने भएको छ । ‘गुरुकुल’का संस्थापक रंगकर्मी सुनील पोखरेलले नयाँ जोशसहित ‘गुरुकुल’ सुरु हुन लागेको जानकारी दिए ।

“म त निभ्न लागेको बत्ती जस्तै भएको छु । एक राउण्ड पुरानै इन्र्जीसहित कति गर्न सकिन्छ हेरौं । त्यही भएर आफूलाई विहादेखि बेलुकीसम्म व्यस्त राख्न तयार भैसकेको छु । उत्साहित छु,” पोखरेलले सुनाए ।

जग्गाको समस्याबीच बन्द भएको गुरुकुलले आफ्नै जग्गा पायो ? होइन, गुरुकुल आज पनि आफ्नै व्यवस्थित नाटकघरका लागि जग्गाको खोजीमा नै छ । अहिलेका लागि भने काठमाडौंमा नै रहेको एउटा नाटकघरसँग सम्झौता गरेर सुरु हुन लागेको हो ।

गुरुकुलको पुनारागमन पुरानै नाटक ‘डल्स हाउस’ मञ्चन गरेर हुन लागेको हो । गुरुकुलमा मञ्चन भएकामध्ये दर्शकबीच धेरै लोकप्रिय नाटकहरु ‘डल्स हाउस’, ‘तारा बाजी लै लैै’, ‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’लगायत पाँचवटा पुरानो अनि एउटा नयाँ नाटक नयाँ गुरुकुलमा मञ्चन हुँदैछ ।

असारसम्म निरन्तर नाटक मञ्चन हुनेछ । यी नाटकहरुमा एकाध रंगकर्मीहरु बाहेक पुरानै रंगकर्मीलाई खेलाउने प्रयास पोखरेल दम्पतीले गरिहेका छन् । त्यसैले पुराना रंगकर्मीहरुसँग छलफल जारी छ भने केही नयाँसँग पनि कुराकानी भैरहेको पोखरेलले बताए ।

यसका साथै नयाँ गुरुकुलमा महिनामा एकदिन तबलावादक सरीता मिश्रको ‘शास्त्रीय संग्रान्ती’ हुनेछ भने अभिनयको कक्षा पनि सञ्चालन गरिने छ ।

एकदशकपछिको कमब्याक त्यति सजिलो पक्कै छैन । कारण, अहिले निजीस्तरबाटै काठमाडौंलगायत मोफसलमा पनि थुप्रै नाटकघरहरु खुलिसकेका छन् । बिना कुनै प्रतिष्पर्धा अनि एक्लो नाटकघरको रुपमा सुरु गरेको गुरुकुलका लागि अहिले चुनौती थपिएको छ ।

तर, पोखरेल भने आशावादी सुनिए, “काठमाडौंमा थिएटरहरु अझै चाहिन्छ जस्तो मलाई लाग्छ । म आशावादी छु । किनभने पछिल्लो पुस्ताका साथीहरुले गुरुकुलको पुराना नाटकहरु हेर्न पाउनु भएको छैन ।

उहाँहरुको लागि मौका हुन्छ ।” सुनील भन्छन्, “अहिलेका लागि एक वर्षको मात्रै सम्झौता भएको हो । सुरु गर्यौं है भन्नका लागि हो । योजना भने अब निरन्तरता दिने नै हो ।”

एउटा नाटक दुईदेखि तीनहप्ता देखाउने र पाँ दिन ब्रेक गरेर फेरि अर्को नाटक मञ्चन गर्ने योजना छ । दर्शकले यही पुसको मध्यबाट गुरुकुलमा फर्किएर पुराना गुरुकुलका नाटकहरु हेर्न पाउनेछन् । सम्झौता सकिएपछि सन् २०११ मा गुरुकुल नाटक बन्द भएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार