सन्तानहरुको कर्तब्य बुझाउने ‘आमा’ (समिक्षा)

देशका धेरै युवायुवतीहरु विदेशमा छन्, केहि देशकै शहरमा आफ्ना सपनाहरु पछ्याईरहेका छन् । बाबुआमा भने गाउँमै उमेर खियाईरहेका छन् शुक्रबारबाट प्रदर्शन भैरहेको फिल्म ‘आमा’ ले यिनै परिबेशका चरित्रहरुको माध्यमबाट आफ्नो कथा बुनेको छ ।

गाउँको घरमा बाबु भर्यांगबाट लडेर घाइते भएपछी आमाले उपचारको लागि काठमाडौँ ल्याउँछिन् । काठमाडौँमा छोरी ज्वाई छन्, छोरा भने अमेरिकामा । डेरामा बस्ने छोरी र ज्वाईको कमाई घर धन्न मात्र पुग्ने छ । डक्टरले बाबुको शल्यक्रिया गर्नुपर्ने भन्छ र शुरु हुन्छ फिल्मको कथा ।

‘आमा’ ले तिन आमाहरुको कथामा दर्शकहरुलाई डोर्याउदै लिएर जान्छ । एउटी आमा (मिथिला शर्मा) जीवन र मृत्युबीचको मसिनो घेरामा लडिरहेको आफ्नो श्रीमानको उपचारको लागि दिनरात अस्पतालमा छटपटाई रहेकीछिन्, अर्की आमा (सरिता गिरि) जन्मिने बित्तिकै भेन्टिलेटरमा राखिएको सन्तान निको होला भनेर एक्लै कुरिरहेकीछिन्, अर्की एक निसन्तान पात्र (सुरक्षा पन्त) आमा बन्नको लागि अनेक उपायहरुको खोजि गरिरहेकी छे र साथसाथै आमाबाबु प्रतिको जिम्मेवारी पनि निभाउने प्रयास गरिरहेकीछिन् ।

फिल्मले पारिवारिक सम्बन्धहरुको चिरफार गर्दै आमाबाबुहरु प्रति छोरा छोरीको कर्तब्य माथि बहस प्रारम्भ गरेको छ । यसको अलावा फिल्ममा चित्रित धर्म प्रचारक देखि बैदेशिक रोजगारीको बिषय तथा अस्पतालहरुको ब्यापारमुखी उपचारको कथा समय सापेक्ष लाग्छ ।

पैसा कमाउने उधेश्य राखेर फिल्मले सस्तो कमेडीको बल्छी थापेको छैन । यहि गुणले पनि ‘आमा’ अन्य फिल्म भन्दा फरक श्रेणीमा छ ।

निर्देशक दिपेन्द्र के. खनालको अब्बल निर्देशकीय कौशलको कारण मसालेदार प्लट ट्वीस्ट  हरु बिना नै पात्रहरुको  भावनात्मक यात्राले दर्शकहरुलाई पुरा फिल्म अवधिभर बाँधेर राख्छ । फिल्मको सबैभन्दा सबल पक्ष नै यहि हो । यस सफलताको मुख्य श्रेय लेखक र छायाँकारको पनि भुमिका निभाएका निर्देशकलाई नै जान्छ ।

४:३ को एस्पेक्ट रेसियो  ले निर्देशकको इच्छा अनुसार दर्शकहरुलाई पात्र र उनीहरुको मनोविज्ञानको नजिक लिएर जान्छ । फिल्मको सम्पादन र संगीत पक्ष पनि उत्तिकै बलियो छ । पटकथा माथि निर्देशकको पकड पनि प्रसंशा योग्य छ । जुन कुरा नेपाली निर्देशकहरुमा बिरलै भेटिन्छ ।

मिथिला शर्मा जीवन्त देखिन्छिन्, सुरक्षाको अभिनयमा पनि पहिलेका फिल्मको तुलनामा परिपक्कता आएको देखिन्छ । यस अघि लगभग सबै जसो फिल्महरुमा उस्तै उस्तै देखिने सरिता गिरि यस पटक फ्रेस  देखिन्छिन् । उनले विश्वसनीय ढंगले आफुलाई चरित्रमा ढालेकी छिन् । हजुरआमाको चरित्रमा अभिनय गरेकी लक्ष्मी भुसालको अभिनयमा भने केहि बनावटीपन देखिन्छ । अन्य कलाकारहरुले आफ्नो भूमिकामा न्याय गरेका छन् ।

फिल्ममा केहि कमजोरी पनि छन् । फिल्मको लम्बाई, अझ बिशेष गरि मध्यान्तर भन्दा पहिलेको लम्बाई लामो लाग्छ । कतिपय जानकारीहरु पटक पटक दोहोरिन्छन् । उल्लेख्य ट्वीस्टहरु नभएकोले दर्शकहरुको एक वर्गलाइ फिल्म पट्यारिलो पनि लाग्न सक्छ । एउटा ट्वीस्ट गलत ठाउँमा गलत तरिकाले आएको जस्तो भान हुन्छ । आमा धेरै पटक पानिमा भिजिरहँदा छाता किन्न नसकेको हो या किन्न नचाहेको हो थाहा हुदैन । त्यसैले पात्रलाई भिजाउने सिनेम्याटिक लोभ ले मात्र त्यसो गरिएको हो कि जस्तो लाग्छ । बाबु मरेको खबर पछी आमा हस्पिटल बाहिर बाटोमा गएको कुरा पनि तार्किक लाग्दैन । त्यतिका दिन आमा हस्पिटलमा बस्दा छोरी ज्वाई भने कुर्न बसेको देखिदैन । तर धेरै बलिया कुराहरुले फिल्मका थोरै कमजोरीहरुलाई ओझेलमा पारेको छ ।

वलिउड र दक्षिण भारतीय मसालेदार फिल्म हेर्ने बानि परेका दर्शकहरुलाई भने फिल्मको धिमा गतिको कथावाचन शैली मन नपर्न पनि सक्छ ।

फिल्म : ‘आमा’
निर्देशक : दिपेन्द्र के. खनाल
निर्माता : शर्मिला पाण्डे
कलाकारहरु : मिथिला शर्मा, सुरक्षा पन्त, मनिष निरौला, सरिता गिरि, देशभक्त खनाल, टिका पहारी, आशान्त शर्मा आदि ।
अवधि : १ घण्टा ५२ मिनेट
विधा : ड्रामा

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !